
१३ साउन २०८३, बुधबार
सुर्खेतः कर्णाली प्रदेशको पाँच मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाही प्रदेशको अति विकट मध्येको मुगु जिल्लाको साविक जिमा गाविस ९ सोरुकोट र हाल सोरु गाउँपालिका ६ स्थायी निवासी हुनुहुन्छ । विसं.२०२५ भदौ १६ गते आमा बिजुरा र पिता बिक्रमबहादुर शाहीका पाँच भाई र दुई बहिनीहरुमा जेठा सुपुत्रका रुपमा जन्मनुभएका मुख्यमन्त्री शाही बाल्यकालमा कक्षा १–३ सम्म सोरुकोट प्राथमिक विद्यालय, कक्षा ३–७ जनज्योति निमावि नाथरपुर मुगु, ८ कक्षा मावि श्रीनगर हुम्ला, कक्षा ९ र १० जुम्ला अध्ययन गर्नुभएको थियो ।
विसं.२०४४ सालमा चन्दननाथ मावि जुम्लाबाट एसएलसी गरेपश्चात् उहाँ नेपाल ल क्याम्पस काठमाडौंमा भर्ना हुनुभयो । क्याम्पसमा अध्ययन गर्ने क्रममा विसं.२०४५ सालमा उहाँले अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएको थियो । नेकपा मालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट राजनीति सुरु गर्नुभएका उहाँले ल क्याम्पसबाट विसं.२०४७ सालमा कानुनमा प्रवणीता प्रमाण पत्र तह उत्तीर्ण गर्नुभयो ।

विसं.२०४५ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएका शाही २०५४ सालमा नेकपा एमालेको एरिया कमिटि सचिव हुनुभयो । विसं.२०५६ सालको आम निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर शाहीलाई जिताउने अभियानमा लाग्दा नेपाली काँग्रेससँग झडप भयो । झडप हुँदा ज्यान मार्ने उद्योगको अभियोग लगाउँदा ९ दिन उहाँले हिरासतमा बस्नुपर्यो ।
अस्थायी र स्थायी शिक्षकका रुपमा काम गर्नुभएका शाहीले १३ वर्षमा १६ विद्यालयमा अध्यापन गर्नुभयो । उहाँले क्रान्तिकारी स्वभाव प्रदर्शन गरेका कारण तत्कालीन् सरकारले दुःख दिनलाई १३ वर्षको अवधिमा १६ विद्यालयमा सरुवा गराएको थियो ।
शिक्षण पेशाकै क्रममा विसं.२०५७ सालमा नेकपा माओवादीको नेता जुम्ला राँका गाउँ निवासी परानबहादुर धरालासँग तत्कालीन् व्यवस्थाबाट जनताको अवस्था माथि उठ्न नसक्ने विषयमा लामो समय छलफल भयो । उहाँसँगको सम्पर्क, प्रेरणा र सल्लाहबाट विसं.२०५८ सालमा तत्कालीन् नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पूर्णकालीन हुनुभयो ।

विसं.२०५९ सालमा डोल्पाको माझफालमा भएको भिडन्त, मुगुबाट २०० जनाको नेतृत्व गरेको जुम्ला आक्रमणमा सहयोद्धा राजकर्ण शाही गुमाएको दिन र २०६० सालमा बाँकेको नरैनापुरमा घेरामा परेर पनि बाँचेको घटना उहाँका जीवनका सबैभन्दा जटिल मोडहरु थिए । २०५९–२०६४ को अवधिमा शाही जिल्ला कमिति सदस्य हुँदै पार्टी सचिवका रुपमा काम गर्नुभयो ।
विसं.२०६५ पछि उहाँले पार्टीको जिल्ला ईञ्चार्जको रुपमा काम गर्नुभयो । विसं.२०६९ सालमा तत्कालीन नेकपा माओवादी विभक्त भएपछि किरण वैद्य लाईनमा लाग्नुभएका उहाँले विसं.२०७० सालको संविधानसभा निर्वाचन बहिष्कारमा उत्रेपछि १८ दिन जेल जानुपरेको थियो । विसं.२०७१ सालमा प्रचण्ड नेतृत्वको पार्टीमा एकता भएयता नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
उहाँ विसं.२०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित हुनुभयो । उहाँले यस अगाडि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाली सक्नुभएको छ । विसं.२०८२ सालमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेताका रुपमा चयन हुनुभएको थियो ।
नेकपा एमालेको समर्थनमा मंगलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदमा दावी पेस गर्नुभएका शाहीलाई प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । आज दिउसो ३ः०० बजे उहाँको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
नवनियुक्त मुख्यमन्त्री शाहीले सुशासन, उत्पादन र रोजगारी दिने र यहाँको गरिबी हटाएर कर्णालीको समृद्धिको यात्रालाई गन्तव्य पुर्याउन प्रमुख लक्ष्य तथा उद्देश्य रहेको बताउनुभएको छ । मुख्यमन्त्री शाहीका हाल पत्नी नारायणदेवी शाहीसहित दुई छोरा र चार छोरी छन् ।








