सीएनएन । भिक्टर गाओ सन् १९७० को दशकमा ग्रामीण चीनमा हुर्किएका हुन् । उनी सानो छँदा उनको गाउँका सडकमा फाट्ट फुट्ट मात्र कार र ट्रकहरू देखिन्थ्यो । उनीहरूलाई गाडी देखिँदा रमाइलो लाग्थ्यो, त्यसैले गाडी देखिँदा गाओ र उनका साथीहरू धुलाम्मे सडकमा पनि गाडीको पछिपछि दौडन्थे ।
आज चीन विश्वको सबैभन्दा ठूलो गाडी निर्माता हो । उसको गाडी निर्माण क्षमता दोस्रो स्थानमा रहेको र अमेरिकाको तुलनामा दोब्बरभन्दा बढी छ ।
“एक साधारण चिनियाँ परिवारले गाडी लिन सक्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ । अझ चीन एक प्रमुख गाडी निर्माता राष्ट्र हुन्छ भनेर पनि मैल कहिले सोचेकै थिइनँ,” गाओले सीएनएनलाई भने, “झन् चीनले अमेरिकाले भन्दा बढी सवारी साधन निर्माण गर्छ भनेर त मैले सपनामा पनि सोचेको थिइनँ ।”
डिसेम्बर १८ मा चीनमा आर्थिक सुधार सुरु भएको चार दसक पुग्छ । यो अवधिमा त्यस सुधारले चीनलाई एक गरिब राष्ट्रबाट आर्थिक महाशक्तिमा बदलिदिएको छ ।
यो वृहद परिवर्तनको अवधिलाई ‘सुधार र खुलापन’ भनिन्छ ।
सन् १९७८ सेप्टेम्बरमा तत्कालीन शक्तिशाली राजनीतिज्ञ तथा भावी नेता देङ स्याओपिङले कम्युनिस्ट पार्टीका नेताहरूको भेलालाई दिएको भाषणले चीनमा आर्थिक सुधार सुरु गराएको मानिन्छ । त्योबेला चीनको कुल ग्राहस्थ उत्पादन १५० अर्ब अमेरिकी डलर मात्र थियो ।
४० वर्षपछि यो बढेर १२० खर्ब अमेरिकी डलर पुगेको छ । हाल चीन अमेरिका पछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो ।
तर उक्त भाषणको ४०औँ वार्षिकोत्सवको अवसरमा चीनको आर्थिक चमत्कारको भविष्यलाई निर्णय लिएर एक युद्ध जारी छ ।
अहिले चीन एउटा महत्त्वपूर्ण मोडमा आइपुगेको छ । हाल यो देश दुई खेमाको खिचातानीमा परेको छ । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता नेता छन्, जो दबाब दिएर यसलाई अझ बढी खुला अर्थतन्त्रतर्फ तान्न चाहन्छन् । अर्कोतर्फ चिनियाँ नेता सी जिनपिङ छन्, जो चिनियाँ अर्थतन्त्रसमेत त्यहाँको समाजका सम्पूर्ण पक्षहरूमाथि पुनः नियन्त्रण स्थापित गराउन चाहन्छन् ।
देङको युग
‘सुधार र खुलापन’ले यति ठूल्लो परिवर्तन ल्याएको छ र यति दूरगामी असर गरेको छ कि आधा शताब्दीपछि चीन जाने मान्छेले आफू अर्कै ठाउँमा पुगेको ठान्छ ।
सन् १९७८ मा चीनमा चरम गरिबीले व्याप्त थियो, जुन दशकौँसम्म अङ्गीकार गरिएको ध्वंशात्मक आर्थिक र राजनीतिक कुव्यवस्थापनको परिणाम थियो । ग्रामीण क्षेत्रमा बस्ने करोडौँ मजदुरहरू कुपोषणबाट पीडित थिए । अर्थतन्त्र टाट पल्टिने अवस्थामा थियो ।
आज चीनसँग विश्वव्यापी धनको १० प्रतिशत हिस्सा रहेको छ । पछिल्लो २० वर्षमा मात्रै त्यहाँका नागरिकको प्रतिव्यक्ति धन चार गुणाले बढेको छ । आज चीनको १ प्रतिशतभन्दा कम जनसङ्ख्या मात्र चरम गरिबीबाट पीडित छ ।
चीनमा हाल ६०० जना अर्बपति (डलरमा) छन् । यो विश्वको कुनै एक देशको सबैभन्दा धेरै हो ।
ऐतिहासिक रूपमा चीनको यो अकल्पनीयको उदयको ठूलो जस देङलाई जान्छ । अध्यक्ष माओ जेदुङको मृत्युपछि देशमा छाएको अराजकताबीच शक्ति हातमा लिएका देङलाई साहसी सुधारक मानिन्छ ।
देङले निमार्ण गर्न सघाएको प्रणाली मौलिक, प्रयोगात्मक शैलीको थियो । उनले एक पार्टी शासन प्रणालीलाई कायम राखेर अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रतालाई केही खुकुलो बनाए ।
देङले भनेको भनिने एक चर्चित उद्धरण यस्तो छ, “बिरालोले मुसा मारेसम्म त्यो कालो छ कि सेतो छ, त्यसको मतलब हुँदैन ।”
विस्तारै विस्तारै देश बदलिन सुरु गर्यो । किसानहरू अतिरिक्त उत्पादन बेच्न र त्यसबाट फाइदा कमाउन सक्षम भए । उद्यमीहरूले आफ्नै उद्योग खोले । स्वतन्त्र व्यापारको अनुमति भएको ‘विशेष आर्थिक क्षेत्र’ देशका निर्धारित क्षेत्रमा स्थापना गरिए ।
सन् १९९० मा सम्भवत खुला बजार पुँजीवादको एक मात्र प्रतीकका रूपमा चिनियाँ स्टक बजार औपचारिक रूपमा खोलियो ।
सन् १९८३ देखि १९८८ बीच देङका लागि अनुवादकको काम गरेका गाओ देङको व्यावहारिक शैलीको स्मरण गर्छन् । ‘देङको आधारभूत विचार भनेको यदि तपाईं समाजवाद र पुँजीवादको विवादमा फस्नु भयो भने तपाईंले महत्त्वपूर्ण कुरा छुटाउनु हुन्छ’ भन्ने थियो । महत्त्वपूर्ण कुरा भनेको के कुराले काम गर्छ भन्ने हो । चिनियाँ जनतालाई के कुराले खाना दिन्छ, त्यो महत्त्वपूर्ण हो, गाओले भने । गाओ हाल बेइजिङमा रहेको सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसनका उपाध्यक्ष छन् ।
गाओ देङ र द न्युयोर्क स्टक एक्सचेन्जका अध्यक्ष जोन फेलनबीच भएको सन् १९८६ को भेटको समयमा देङको अनुवादकका रूपमा बसेका थिए । उक्त भेटमा देङले अमेरिकासँग स्टक एक्सचेन्ज खडा गर्नका लागि सहयोग मागेका थिए । त्यो विचार केही वर्षअघिसम्म बर्जित थियो ।
‘भेटमा देङ अत्यन्त भद्र भएको म स्पष्टसँग सम्झन्छु । उनले फेलनलाई ‘तपाईं अमेरिकीहरूलाई कसरी पैसा बनाउने भनेर राम्रोसँग थाहा छ, त्यसैले तपाईंहरू धेरै समृद्ध हुनुहुन्छ । चीनमा हामीहरू निक्कै गरिब छौँ’ भनेका थिए ,” गाओले भने ।
सुधारका लागि युद्ध
चीन अब गरिब देश रहेन । केही देशकमै यो देश चिन्न नसक्ने गरी बदलिएको छ । सन् २०१८ मा उत्सव मान्नलाई चीनसँग धेरै कुरा छ ।
बेइजिङमा यी बदलाबहरूलाई मनाउनका लागि यो वर्षको प्रारम्भमा आकर्षक नयाँ प्रदर्शनी खुलेको थियो । यसले दैनिक हजारौँ भ्रमणकर्ताहरू आकर्षित गर्छ । केही कक्षहरूले चीनको तीव्र गतिको प्राविधिक प्रगतिलाई झल्काउँछ । यसमा उसको अन्तरिक्ष कार्यक्रम पनि समावेश छ । अन्यमा विगत र वर्तमान कम्युनिस्ट नेताहरूको उद्धरणहरू रहेका छन् ।
तर केही भ्रमणकर्ताहरूले प्रदर्शनमा केही फरक देख्न थालेका छन् । पछिल्लो समय सी देङभन्दा बढी प्रधान देखिन थालेका छन् ।
“चीनभरीका सङ्ग्रहालयहरूले देङका फोटा हटाएर सीको पिताको तस्बिर राखिरहेका छन्, जो आफै कम्युनिस्ट पार्टी पदाधिकारीमध्ये पूर्व उच्च पदस्थ नेता हुन् । देङका तस्बिरहरू अन्य ऐतिहासिक चिनियाँ व्यक्तित्वसँगै कतै टाढा राखिन्छ,” हङ्गकङ युनिभसिर्टी अफ साइन्स एन्ड टेक्नोलोजीका एक प्राज्ञिक फ्रान्क चिङले भने ।
आजको दिनमा सीको प्रसंशा हुनु कुनै अनौठो कुरा होइन । सरकारी मिडियाहरूमार्फत उनको एक ‘पसर्नालिटी कल्ट’ निर्माण गरिएको छ ।
यो एतिहासिक संशोधनवादको आरोप त्यो बेला आएको छ, जब सी देङका केही उदार आर्थिक सुधारबाट पछि फर्केका छन् । उनले निजी क्षेत्रमाथि कम्युनिस्ट पार्टीको नियन्त्रण बढाउन खोजेका छन् ।
कम्पनीहरू आफ्ना सङ्गठनहरूमा पार्टीको भूमिका बढाउनुपर्ने दबाब झेलिरहेका छन् । यो सीको देशभरी कम्युनिस्ट पार्टीको नियन्त्रण बढाउने प्रयासअन्तर्गत भइरहेको छ ।
“सी देङको खुलापनको विचारबाट उल्टो लागेका छन्,” चिङले भने ।
यी नयाँ आर्थिक कदम तथा राजनीतिक सन्देशहरूलाई धेरैले नयाँ ‘सी जिनपिङ’ युगको उद्घाटनका लागि अघि बढाइएको कदमका रूपमा हेरिएको छ । यसमा कूटनीतिक उग्रता र कम्युनिस्ट पार्टीको कडा नियन्त्रण जस्ता गुण रहेको छ । यी नयाँ कुराले ‘सुधार र खुल्लापन’का दिनहरूमा रातो घेरो लगाएको मानिन थालिएको छ ।
चाइनिज युनिभर्सिटी अफ हङ्कङ विश्वविद्यालयका प्रध्यापक तथा लामो सयमदेखिका चीन विश्लेषक विल्ली ल्यामले सीएनएनसँग बोल्दै हालका महत्त्वकाङ्क्षी चिनियाँ राष्ट्रपति चीनको इतिहासमा आफ्नो स्थान खोजेमा कुनै शङ्का नभएको बताए ।
“ग्वाङ्दोङको भ्रमणका क्रममा सीले गरेका सबै भाषणहरू मैले पढेँ । सुधारको वार्षिकोत्सवमा गरिएका भाषणमै उनले एक पटक पनि ‘देङ स्याओपिङ’को नाम उल्लेख नगरेबाट म त अचम्मित परेँ,” ल्यामले सीएनएनसँग कुराकानीमा भने ।
सीको सबैभन्दा ठूलो सङ्कट
सी र चीनको उदयको यो उत्सवको माहोलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अप्रत्यासित र ध्वंशात्मक व्यापार युद्ध सुरु गरेका छन् । ट्रम्पको कदमले चीनलाई आफ्नो आर्थिक योजनालाई पुनः सोच्नुपर्ने बाध्य बनाएको छ ।
ट्रम्पले सयौँ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाइदिएका छन् । सीको योजनाविपरीत अमेरिकी प्रशासनले चीनमा बढी विदेशी प्रवेश र प्रमुख उद्योगहरूमा थोरै सरकारी सहयोग नीतिलाई असर गरिरहेको छ ।
“सीले आफ्नो राष्ट्रपति कालकै सबैभन्दा ठूलो सङ्कट बेहोरिरहेका छन् । यो अवस्थामा अमेरिकीहरूसँग जस्तो चिनियाँहरूसँग धेरै विकल्पहरू छैनन्,” ल्यामले भने ।
ट्रम्पको व्यापार युद्धले सीको आर्थिक योजनालाई रोकेको र ‘सुधार र खुलापन’को वार्षिक उत्सवलाई छायाँमा पारेको मात्र होइन, यसले सीको कमजोरीमाथि पनि प्रकाश पारेको छ ।
वर्षौंसम्म पश्चिमा सरकारहरूले चीनको पुँजीवादतर्फको यात्रालाई स्वागत गरे । उनीहरूले अन्य बन्द अर्थतन्त्रमा जस्तै खुलापनले त्यहाँको एक पार्टी शासन अन्त्य हुने विश्वास गरेका थिए ।
तर चिनियाँ कम्युनिस्ट पार्टीले पूर्वानुमानहरूलाई गलत सावित गर्दै सत्तामा आफ्नो पकड कायम राखेको छ ।
देङले संस्थागत गरेको एक प्रमुख राजनीतिक परिवर्तनमा सामूहिक निर्णय प्रक्रिया थियो । यसले माओकालीन एक व्यक्ति शासनको अन्त्य गरेको थियो ।
धेरै अर्थमा सीले देङको मोडललाई परित्याग गरेर माओको एकव्यक्ति शासनलाई पछ्याइरहेका छन् । उनले यही वर्षको प्रारम्भमा राष्ट्रपतिको पदावधिमा रहेको सीमा हटाए । यसले सैद्धान्तिक रूपमा उनलाई जीवनभरी शासन गर्न अवसर प्रदान गरेको छ ।
सीले धेरै शक्ति आफ्नो हातमा लिएकाले व्यापार युद्धले ल्याउने असरहरूको दोषको भागी हुने बाटोतर्फ गएको विज्ञहरूले बताएका छन् ।
चीनका केही उदार प्राज्ञहरूले पर्दा पछाडि ट्रम्पको कदमलाई अझ बढी आर्थिक खुलापन माग गर्नको लागि दबाबको रूपमा प्रयोग गरिरहेका छन् ।
“पार्टीभित्र उनले धेरै अनुहार र शाख गुमाइसकेका छन् । किनकि उनले असफलता प्रदर्शन गरे, उनी डोनाल्ड ट्रम्पको चुनौती सामना गर्न असफल भए,” ल्यामले भने ।
देङको सुधारको असर छिट्टै धमिलिने सम्भावना छैन । देङले सुरु गरेको सुधारले चीन सधैंको लागि बदलिएको छ । अमेरिकासँगको व्यापारिक युद्धले जेसुकै परिणाम ल्याए पनि औसत चिनियाँहरू आजको दिनमा लामो आयु र समृद्ध जीवन जिउने आसा गर्न सक्छन् ।
तर हङ्कङ विश्वविद्यालयका विश्लेषक चिङ भने राजनीतिक रूपमा लहर देङविरुद्ध आएको मान्छन् । सीको शासनकालमा देङको महत्त्वलाई निरन्तर मेट्दै लगेर उनलाई महत्त्वहीन हुने अवस्थासम्म पुर्याइने सम्भावना छ ।
“सुधार सुरु भएको ५०औं वार्षिकोत्सव वा त्यसपछि कुनै ठूलो उत्सव हुन्छ भनेर मलाई त शङ्का लाग्छ ,” चिङले भने ।
एजेन्सी