Skip Add

OnlinePana

आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

एकातिर नानी, अर्कातिर क्यामराको भारी

आमा पत्रकारको पत्रकारिता संघर्ष

कोरपाटी संवाददातापौष ३, २०७५काठमाडौं
२३ पटक

दाङ, पुस ३

पत्रकार महासंघको वार्षिकोत्सवमा शनिबार छोरी बोकेर तस्बिर खिच्दै गरेकी पत्रकार रिता लामा।पत्रकार महासंघको वार्षिकोत्सवमा शनिबार छोरी बोकेर तस्बिर खिच्दै गरेकी पत्रकार रिता लामा।

रिता लामा पत्रकार हुन्। उनको घर प्यूठान नगरपालिकाको मरन्ठानामा पर्छ। दाङ, घोराहीमा डेरा लिएर बस्दै आएकी छन्। नेपाली सेनामा जागिरे उनका श्रीमान कञ्चनपुरमा कार्यरत छन्।

घोराहीस्थित राप्ती शिक्षा क्याम्पसबाट स्वास्थ्यमा स्नातकोत्तर लामालाई पत्रकारिताको यस्तो टक बस्यो, उनी करिब एक दशकदेखि यही पेसामा छिन्।

उनले राप्ती समाचार साप्ताहिकमा २०६५ सालबाट पत्रकारिता सुरु गरेकी हुन्। अहिले राष्ट्रिय समाचार समिति (रासस) को निम्ति दाङबाट रिपोर्टिङ गर्छिन्। दाङबाटै प्रकाशित हुँदै आएको राप्ती समाचार राष्ट्रिय दैनिक र गणतन्त्र अनलाइनमा पनि कार्यरत छिन्।

उनको दुई वर्षकी छोरी छ। घरमा छोरी स्याहार्ने कोही नहुँदा पनि उनले पत्रकारिता छाडिनन्। बरु छोरी बोकेरै स्थलगत रिपोर्टिङ भ्याउँछिन्। समाचार लेख्छिन्। रेडियोमा समाचार वाचन पनि गर्छिन्।

उनलाई एकातिर नानी, अर्कातिर क्यामराको झोला बोकेर रिपोर्टिङमा कुदिरहेको दिनहुँ भेटिन्छ।

‘छोरीलाई मैले कहिल्यै अवरोध ठानिनँ, ऊ मेरो साथी हो,’ उनले सेतोपाटीसँग भनिन्, ‘हामी सँगसँगै काममा निस्कन्छौं, सँगसँगै घर फर्कन्छौं।’

उनलाई स्कुटर भइदिए सजिलो हुन्थ्यो भन्ने त लाग्छ, तर किनेकी छैनन्। कहिलेकाहीँ समाचार लेख्दालेख्दै रातको ८–९ बज्छ। अँध्यारोमा एकातर्फ पिठ्यूमा छोरी र अर्कोतर्फ क्यामरा बोकेर हिँड्दा अप्ठ्यारो लागे पनि दिक्क नलागेको उनी बताउँछिन्।

‘कतिपटक कुकुर लखेट्न आए,’ उनले भनिन्, ‘त्यति बेला भने नानी र क्यामरा कसरी जोगाउँ हुन्छ।’

‘पत्रकारिता मेरो ‘प्यासन’ हो, म यो पेसा छाड्ने कल्पना पनि गर्न सक्दिनँ, जस्तोसुकै संघर्ष गर्नुपरे पनि। बरू अरूभन्दा दोब्बर–तेब्बर मेहनत गर्छु, तर पत्रकारिता छाड्दिनँ,’ उनले दृढता देखाइन्।

रीता मात्र होइन, दाङका थुप्रै महिला पत्रकार पिठ्युँमा नानी बोकेरै पत्रकारितामा क्रियाशील रहँदै आएका छन्।

तुलसीपुरको रेडियो सञ्जिवनीमा कार्यरत जयन्ती चौधरीको दिनचर्या उस्तै छ।

चौधरीको घर तुलसीपुर उपमहानगरपालिका–१४, लुहाडवरामा पर्छ। पत्रकारिताको रनाहाले तुलसीपुर बजारमै कोठा भाडा लिएर बस्दै आएकी छन्। उनका पति श्रीमन चौधरी एम्बुलेन्स चालक हुन्। बिरामी लिएर दौडिरहनुपर्छ। उनको चार वर्षकी छोरी छ। घरमा छोरी हेर्ने कोही छैन। त्यही भएर काममा निस्कँदा छोरीलाई सँगै लैजान्छिन्।

आमाले जयन्तीले समाचार कक्षमा काम गर्दै गर्दा नजिकै मोबाइल हेरेर बसेकी जेसिका।
बाँकेबाट स्नातक गरेकी चौधरीले २०६५ सालमा रेडियो बागेश्वरीबाट पत्रकारिता सुरु गरेकी हुन्।

जिल्लामा क्रियाशील यी महिला पत्रकारहरूको दैनिकी संघर्षपूर्ण छ। लामा र चौधरीकै कुरा गर्ने हो भने, उनीहरूको दिनचर्या बिहान ५ बजेबाटै सुरु हुन्छ। घरको काम, नानीको खुवाइपियाइ, अनि आफ्नो काम। बेलुकी पनि नानीलाई फकाउँदै खाना खुवाएर सुताउँदा अबेर भइसक्छ। त्यसपछि पनि समाचारको चटारो बाँकी नै रहन्छ।

‘कतिपटक आफू रिपोर्टिङमा भुलिरहँदा नानीले पिठ्यूँमा दिसापिसाब गर्छे,’ पत्रकार लामाले भनिन्, ‘सधैं डाइपर किन्न पैसा कहाँ हुन्छ र?’

अलि टाढा रिपोर्टिङमा जानुपर्दा भने डाइपर किनेर लगाइदिने गरेको उनले बताइन्।
राप्ती समाचारको घोराही प्रमुखसमेत रहेकी उनी भन्छिन्, ‘दिनको एउटा समाचार खोज्नैपर्छ। बिहानै अनलाइन र राससका लागि समाचार लेख्नैपर्छ।’

छोरी पेटमा हुँदा पनि उनले आठ महिनासम्म पत्रकारिता छाडिनन्। त्यति बेला ‘इक्वेल एक्सेस’ मा काम गर्थिन्। रेडियो कार्यक्रम उत्पादन गर्थिन्। नानी जन्मेको तीन महिनासम्म विश्राम लिएकी उनी त्यसपछि दूधे बालक च्यापेरै काममा फर्केको बताउँछिन्।

पछिल्लो समय भने उनले दुई वर्षीया छोरी दूरदर्शीलाई आफ्नो कार्यालयनजिकै सनराइज मन्टेश्वरीमा राखेकी छिन्। ‘त्यहाँ पढाउन राखेको हैन, खेलाउन मात्रै हो,’ लामाले भनिन्, ‘अलि टाढा फिल्डमा जानुपर्दा आजकाल त्यहीँ छाडेर जाने गरेकी छु। कहिलेकाहीँ भने नानी छुट्टिनै मान्दिन। त्यस्तो बेला सँगै लग्छु।’

‘आमाको मन न हो, बच्चालाई केही भयो कि भनेर निकै आत्तिन्छ। फिल्डबाट फर्कनासाथ सबभन्दा पहिला दौडिएर नानीलाई हेर्न जान्छु,’ उनले भनिन्।

नानी जन्मिएपछि पत्रकारिता करिअर समाप्त होला भन्ने चिन्ताले उनलाई खुब सताएछ। तै साहसका साथ फर्कन पाएकोमा सन्तुष्ट छिन्।

‘किन दुई–तीनवटा सञ्चार संस्थामा काम गर्नु हुन्छ त?’

हाम्रो प्रश्नमा पत्रकार लामाले भनिन्, ‘यो मेरो रहर हैन, बाध्यता हो। तपाईंलाई थाहा छँदैछ, श्रमजीवी पत्रकार ऐन नारामै सीमित छ। झन् जिल्लाको अवस्था कस्तो छ हैन र।’

उनलाई श्रीमानले यति दुःख गरेर पत्रकारिता नगर्न सल्लाह नदिने होइन। तर, उनको रुचिका अगाडि कसैको चल्दैन।

‘उहाँ (श्रीमान) बेलाबेला सम्झाउनुहुन्छ, तर पत्रकारिता मेरो रुचिको विषय भएकाले छाड्न सक्दिनँ भन्ने जवाफ दिन्छु,’ लामाले भनिन्, ‘त्यसपछि उहाँ केही भन्नुहुन्न।’

चौधरी पनि रेडियोमा बोल्ने चाहना बोकेर नेपालगन्ज क्याम्पस पढ्न गएको स्मरण गर्छिन्। उनको यो चाहना अटुट रह्यो।

बिहेपछि घरपरिवारको करबलमा केही समय रेडियोको जागिर छाडेकी थिइन्। काम नगरी घरै बस्दा उनलाई ‘डिप्रेसन’ ले छोप्यो। छ महिना औषधि नै खाइन्। छोरी जन्मिएपछि भने जयन्तीले आफ्नो रुचि र रहरको पेसालाई फेरि निरन्तरता दिइन्।

‘पहिला केटी मान्छे एक्लै जागिर खान जान हुन्न भन्थे, छोरी जन्मिएपछि मैले त्यो मानिनँ,’ उनले भनिन्, ‘मैले घरपरिवार र श्रीमानका लागि कति सम्झौता गरेँ। बिहेपछि पत्रकारिता गर्न नपाउँदा मेरो करिअर जहाँको त्यहीँ रह्यो। अब मैले अठोट गरिसकेँ, पत्रकारिता कुनै हालतमा छाड्दिनँ।’

उनी बिहान ७ बजेभित्र हिँडेरै रेडियो पुगिसक्छिन्। बिहानको समाचार सकेर कोठामा आउँछिन्। छोरीलाई खुवाएर स्कुल पठाउँछिन् र फेरि काममा जान्छिन्।

‘पत्रकारिताबाट कति कमाइ हुन्छ?’

‘रेडियोको तलबले त चियानास्ता पनि खान पुग्दैन,’ उनले जवाफ दिइन्, ‘कमाइ जतिसुकै होस्, पत्रकारिता मेरो धर्म हो, म धर्म छोड्न सक्दिनँ।’

थारूभाषी भए पनि रेडियो सञ्जिवनीको मुख्य समाचार हेर्दै आएकी चौधरी नेपाली भाषामै समाचार वाचन गर्छिन्।

दाङ जिल्लामा झन्डै तीन दर्जन हाराहारीमा महिला पत्रकार क्रियाशील रहेको गोरक्ष राष्ट्रिय दैनिक पत्रिकाकी प्रकाशक सुलोचना पोखरेलले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्