OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

अमेरिकी संसदको चुनावमा ट्रम्पलाई धक्का : तल्लो सदनमा बहुमत गुम्यो

माथिल्लो सदनमा बहुमत जोगाएपछि राष्ट्रपतिले भने- यो ट्रम्पको जादु हो !

कोरपाटी संवाददाताकार्तिक २१, २०७५काठमाडौं
४०२ पटक

२०७५ कार्तिक २१ गते १७:५२ मा प्रकाशित

२१ कात्तिक, अमेरिका । संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ ।

अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि अब उनले मनमौजी निर्णयहरु गर्न र खर्चसम्बन्धी बिलहरु स्वीकृत गर्न असहज हुने अवस्था सिर्जना भएको छ ।

अमेरिकी निर्वाचनको परिणामलाई विश्लेषकहरुले राष्ट्रपति ट्रम्पका लागि ‘झड्का’ को संज्ञा दिएका छन् ।

तल्लो सदनमा विपक्षीको बहुमत

मंगलबार अमेरिकामा तीनवटा निकायको चुनाव सम्पन्न भयो । अमेरिकी तल्लो सदनमा रहेका कुल ४३५ सीटमध्ये सबै सीटमा निर्वाचन सम्पन्न भयो । तल्लो सदनमा बहुमत प्राप्त गर्नका लागि २१८ सीट आवश्यक पर्नेमा बुधबार साँझसम्म डेमोक्रेटिक पार्टीले २१९ सीट जितेर बहुमत ल्याएको छ ।

ट्रम्पको दल रिपब्लिकनले १९३ सीट जितेको छ भने यो समाचार लेख्दासम्म २३ सीटको नतिजा आउन बाँकी छ । तर, पूरै परिणाम आई नसक्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेको छ ।

अमेरिकी कांग्रेसको तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीले बहुमत पाउनुले ट्रम्पको दुईवर्षे कार्यकालको अलोकप्रियतालाई संकेत गरेको अमेरिकी विश्लेषकहरुको तर्क छ । अमेरिकामा हुने म्ध्यावधि चुनावलाई राष्ट्रपतिको कार्यकालको सफलता र असफलतासँग दाँजेर हेर्ने गरिन्छ ।

अमेरिकाको तल्लो सदन मुख्य विधायिका हो । त्यहाँ तल्लो सदनका ४३५ र माथिल्लो सदनका १०० गरी ५३५ सदस्यीय संसद रहेको छ । त्यहाँको संसदले राष्ट्रपति र कार्यपालिका (मन्त्री) हरु नचुन्ने भएकाले संसदमा बहुमत गुमाउँदैमा राष्ट्रपतिले पदबाट हात धुनुपर्दैन । तर, संसदमा आफ्नो दलको बहुमत नहुँदा राष्ट्रपतिलाई सरकार सञ्चालन गर्न असहज हुन्छ ।

अमेरिकाको तल्लो सदनका सम्पूर्ण ४३५ जना सदस्यहरुको निर्वाचन प्रत्येक दुई/दुई वर्षमा हुन्छ । यसअघि सन् २०१६ मा राष्ट्रपतिको चुनाव भएकै साल तल्लो सदनको चुनाव भएको थियो । उनीहरु ४३५ जनाकै कार्यकाल सकिएकाले मंगलबार अर्को चुनाव भएको हो । अब तल्लो सदनको अर्को चुनाव सन् २०२० मा ट्रम्पको कार्यकाल सकिएकै वर्ष हुनेछ ।

माथिल्लो सदनमा ट्रम्पकै बहुमत

अमेरिकी माथिल्लो सदन (सिनेट) मा कुल प्रतिनिधि संख्या १०० छ । यो सदन नेपालको राष्ट्रियसभा जस्तै स्थायी सदन हो । सिनेटमा एकपटक छानिएको सिनेटरको कार्यकाल ६ वर्षको हुन्छ । तर, प्रत्येक दुई वर्षमा ३३ प्रतिशत सदस्यहरुको कार्यकाल समाप्त हुन्छ र ‘मिड- टर्म’ निर्वाचन हुन्छ ।

मंगलबार ३३ जना सिनेटरहरुको निर्वाचन सम्पन्न भयो । सन् २०१६ मा ३४ सिनेटरको चुनाव भएको थियो । अब सन् २०२० मा पुनः ३३ जनाको चुनाव हुन्छ ।

मंगलबार सम्पन्न सिनेटका ३३ सदस्यहरुको निर्वाचनबाट भने डोनाल्ड ट्रम्पको पार्टीले माथिल्लो सदनमा बहुमत जोगाएको छ ।

माथिल्लो सदनमा बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पले टि्वट गर्दै भनेका छन्- ‘१०५ वर्षको इतिहासमा यस्तो पहिलोपटक भयो कि जब कोही राष्ट्रपति पदमा रहेर उसले सिनेटमा बहुमत पायो ।’

पूरै मिडिया आफ्नो विरुद्धमा भएका बेला आफूले जादू देखाएको ट्रम्पले बताएका छन् ।

कांग्रेसको माथिल्लो सदन सिनेटमा अहिलेसम्म ट्रम्पको दल रिपब्लिकनको ५१ र डेमोक्रेटको ४५ सीट छ ।
अब ट्रम्पले आफ्ना एजेन्डाहरुलाई विना कुनै अवरोध अगाडि बढाउन सक्दैनन् । यो जीतसँगै डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनको नीति र फैसलाहरुको जाँच सुरु गराउन सक्छ ।

यो वर्ष डेमोक्रेटलाई सिनेटमा धेरै जुध्नपर्‍यो किनभने यहाँ २६ सिटको आवश्यकता थियो भने अर्कोतर्फ रिपब्लिनलाई नौ सिट मात्रै चाहिएको थियो । सिनेटमा रिपब्लिनको जित ट्रम्पका लागि ठूलो राहत हो ।

बीबीसीका एन्टोनी जर्चरको भनाइ छ कि सिनेटमा रिपब्लिन पार्टीलाई बहुमत मिल्नुको मतलब हो ट्रम्पको कार्यकारी र न्यायिक नियुक्तिमा कसैले चुनौति दिन सक्दैनन् ।

३९ राज्यमा प्रदेशस्तरीय चुनाव

मंगलबार अमेरिकामा संसदीय चुनावका साथै प्रदेशस्तरीय निर्वाचन पनि सकिएको छ । संघीय व्यवस्था रहेको अमेरिकामा ५० वटा राज्यहरु छन् । तीमध्ये मंगलबार ३६ वटा राज्य र ३ वटा टेरीटोरीसमेत ३९ वटा प्रान्तीय चुनावहरु सम्पन्न भएका छन् ।

अमेरिकी प्रान्तीय चुनावपछि स्टेटको नयाँ गभर्नर छनोट गरिन्छ । अमेरिकी प्रदेशहरुमा गर्भनर शक्तिशाली हुने भएकाले यो चुनावलाई पनि महत्वका साथ हेर्ने गरिन्छ । जुन स्टेटमा जुन दलका गभर्नरले जित्छन्, उसले भावी राष्ट्रपतिको निर्वाचनलाई प्रभाव पार्ने विश्वास गरिँदै आएको छ ।

अमेरिकाको प्रादेशिक चुनाव सबै ५० वटै प्रान्तहरुमा एकैचोटि हुँदैन । जस्तो- मंगलबार ३९ राज्यको मात्रै चुनाव भयो । गत साल २ वटा राज्यको मात्र चुनाव भयो । सन् २०१६ मा ११ राज्य र २ टेरिटोरीको चुनाव भएको थियो । अब २०१९ मा ३ वटा राज्यको चुनाव हुनेछ भने ट्रम्पको कार्यकाल सकिने वर्ष २०२० मा ११ राज्य र २ वटा टेरिटोरीको चुनाव हुनेछ ।

यसरी अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालको वीचमा हुने सिनेट, हाउस र प्रदेशहरुको चुनावलाई मध्यावधि चुनाव भन्ने गरिन्छ ।

राष्ट्रपतिको कार्यकालको मध्यावधिमा हुने यी चुनावहरुले राष्ट्रपतिको कार्यकाल सफल हुँदैछ कि अलोकपि्रय बन्दैछ भन्ने मापन गर्नका लागि बलियो आधार प्रदान गर्दछ ।
तल्लो सदनमा डेमोक्रेटिक पार्टीको जितले ट्रम्पको नीतिलाई झट्का लाग्ने छ । डेमोक्रेटिक पार्टीले यो जीतको माध्यमले ट्रम्पलाई चुनौती दिन सक्छ र बलियो भएर प्रस्तुत हुन्छ ।

ट्रम्पका लागि झट्का

अमेरिकी चुनावबारे बीबीसीमा प्रकाशित समाचार अनुसार मध्यावधि निर्वाचनमा तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ डेमाक्रेटिक पार्टीको नियन्त्रणमा आउनु राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो झट्का हो ।

मंगलबार मध्यावधि निर्वाचनका लागि भएको मतदानलाई ट्रम्पको दुई वर्षे कार्यकालको जनादेशको रुपमा हेरिएको थियो । यद्यपि यो कुनै राष्ट्रपति छान्ने चुनाव भने होइन ।
पूरै विश्वको ध्यान अमेरिकाको यो मध्यावधि निर्वाचनमा रहेको यो पहिलोपटक हो । विशेषज्ञहरुका अनुसार अमेरिकाको यो मध्यावधि निर्वाचनमा पछिल्लो ५० वर्षमा सबैभन्दा धेरै मतदान भएको छ ।

डेमोक्रेेटिकले ८ वर्षपछि कांग्रेसको तल्लो सदनमा बहुमत प्राप्त गरेको छ । अब ट्रम्पले आफ्ना एजेन्डाहरुलाई विना कुनै अवरोध अगाडि बढाउन सक्दैनन् । यो जीतसँगै डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनको नीति र फैसलाहरुको जाँच सुरु गराउन सक्छ । डेमोक्रेटको यो जीतले रिपब्लिकन पार्टीको नीतिहरुलाई रोक्नको लागि पनि मद्दत मिल्नेछ ।

डेमोक्रेटिक पार्टीकी २९ वर्षीया अलेक्जेन्डि्रया ओकासियो कोर्टेज न्यूयोर्कबाट अमेरिकी कांग्रेसको लागि चुनिएकी छिन् । कोर्टेज अब अमेरिकी कांग्रेसमा सबैभन्दा कम उमेरकी प्रतिनिधि हुनेछिन् ।

डेमोक्रेटिकका हाउस नेता नेन्सी पेलोसीले वासिङ्टनमा जीतपछि आफ्नो भाषणमा मतदाताहरुलाई धन्यवाद दिँदै भनेकी छन्, ‘अबदेखि एक नयाँ अमेरिका हुन्छ ।’

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्