OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेएस धितालपौष २३, २०८२
७२५ पटक

 

नेपालमा नेता को छैन ?
स्याल दरबारदेखि सिंहदरबारसम्म
सबै ठाउँमा नेता छन्।
भ्रष्टाचारी ,
दलाल, तस्कर, भूमाफिया,
शैक्षिक माफिया—
सबै नेता छन्।
राष्ट्रिय झण्डा ओढेर
देश बेच्ने नेता छन्,
देश जलाएर
जनता गलाउने नेता छन्।
भ्रमको खेती गर्ने,
श्रमको शोषण गर्ने—
सबै नेता छन्।
विचारबाट बिचलित,
नैतिकताबाट स्खलित,
इज्जत गुमाएका
अकुत धन कमाएका
सबै नेता छन्।
भ्रम छर्ने पत्रकार—
पनि नेता छन्।
गुणस्तरीय काम नगर्ने ठेकेदार पेशेवार नेता छन्,
स्कुल छोड्ने विद्यार्थी नेता छन्,
नपढाउने शिक्षक नेता छन्,
भ्रष्टाचारी कर्मचारी नेता छन्।
फर्जी किसान नेता छन्,
वर्ग बिर्सदै पहिचानको खोलमा
भोट खोज्ने नेता छन्,
समस्या होइन
स्वार्थ मात्रै हेर्ने नेता छन्।
कानुन लेख्ने तर कानुन नमान्ने नेता छन्,
न्यायको नाममा
न्याय मार्ने नेता छन्।
देशभक्ति भाषण गर्ने,
तर विदेशमै धन थुपार्ने नेता छन्।
गरिबको नाम बेचेर
धनी बन्ने नेता छन्।
धर्मको नाममा
घृणा फैलाउने नेता छन्,
संविधान बोकेर
राष्ट्घात गर्ने
विनाश गर्ने नेता छन्,
शान्तिको कुरा गर्ने
जनता मार्ने नेता छन्।
लोकतन्त्र भन्दै
लुटतन्त्र चलाउने नेता छन्।
फेसबुकमा सच्चा,
व्यवहारमा कच्चा नेता छन्।
र्‍यापर र झ्यापर,
युटुबे र भ्युटुबे—
काम नगरी
सस्तो लोकप्रियता खोज्ने नेता छन्।
पीडितको आँसु नदेख्ने,
खसीको मासु देख्ने नेता छन्।
मानिसको मृत्युमा पनि
भाषण खोज्ने नेता छन्।
अरूको कमजोरी देखाउने,
आफ्ना अपराध लुकाउने नेता छन्।
आफूलाई गल्ती कहिल्यै नमान्ने,
तर उपदेश बाँड्ने नेता छन्।
चुनाब आउँदा
दाम बाँड्ने नेता छन्,
चुनाब सकिँदा
काम नबाँड्ने नेता छन्।
जनतालाई भोटको लाइनमा राख्ने,
तर उत्पादन र रोजगारको बाटोमा
कहिल्यै नजोड्ने नेता छन्।
देश बनाउने मजदुर होइन,
देश बेच्ने बिचौलिया—
यहीँ धेरै नेता छन्।
अन्त्यमा
देशलाई
जनताको व्यथा बेच्ने होइन,
जनताको व्यथा बोक्ने
सच्चा नेता चाहिन्छ।
समाजको व्याख्या होइन,
समाज बदल्ने
नेता चाहिन्छ।
राजनीतिलाई
पेशा होइन—
सेवा ठान्ने,
सिजनमा होइन,
भिजनमा काम गर्ने,
जनतालाई उत्पादन र रोजगारसँग जोड्ने
नेता चाहिन्छ।

-जेएस धिताल

प्रतिकृया दिनुहोस्