OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

चीनको आकाशमा ‘उसकै चन्द्रमा’

अन्वेषणमा तीब्र गति

कोरपाटी संवाददाताकार्तिक ५, २०७५काठमाडौं
७४१ पटक

एजेन्सी । चन्द्रमाको बारेमा हामी प्रायः चलचित्रको गीतमा सुन्ने गरेका छौँ ।

सबै कवि, लेखक र शायरहरुले चन्द्रमाकै पर्खाइमा आफ्नो रचनाहरु रच्ने गरेका छन् ।

तर, अब चीनको आकाशमा भने हर समय चन्द्रमा देखिने दाबी गरिएको छ ।

चीनको एक कम्पनीले आकाशमा कृत्रिम चन्द्रमा पठाउने योजना बनाइरहेको घोषणा गरेको छ । जसले रातमा चीनको आकाशलाई उज्यालो बनाउने उसको दाबी छ ।

चीनको पत्रिका पिपल्स डेलीका अनुसार छेङ्दुमा अवस्थित एक निजी एरोस्पेस संस्थानका अधिकारीहरुले सन् २०२० सम्म पृथ्वीको कक्षमा एक चम्किलो भूउपग्रह पठाउने बताएका छन् । यो भूउपग्रह पठाएपछि सडकमा बत्तिहरु बाल्नुपर्ने छैन ।

यो खबर बाहिर आएपछि वैज्ञानिकहरु बीच कौतुहलता र सन्देह दुवै देखिएको छ ।

के हुनेछ यो योजनामा ?

अहिलेसम्म यस योजनाको बारेमा धेरै जानकारी सार्वजनिक भएको छैन । तर, जति जानकारी आएका छन्, त्यसमा कयौँ प्रश्न तेर्साइएका छन् ।

सबैभन्दा पहिले गत हप्ता पिपल्स डेलीले यो समाचार प्रकाशित गरेको थियो । जसमा वु चेनफेङको बयान प्रकाशित गरिएको थियो । वु छेङ्दु एयरोस्पेस साइन्स इन्सिटिच्युट माइक्रोइलेक्ट्रोनिकस सिस्टम रिसर्च इन्सिटिच्युटका चेयरम्यान हुन् ।

वुले सन् २०२० सम्ममा भूउपग्रह पठाउने योजना योजना अनुसार कयौँ वर्षदेखि काम भइरहेको र यो अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

चाइना डेलीले वुलाई नै उद्धृत गर्दै सन् २०२२ सम्म चीनले यस्ता थप तीन भूउपग्रह अन्तरिक्षमा पठाउने समाचार प्रकाशित गरेको छ ।

यद्यपि, कुनै पनि रिपोर्टमा यो परियोजनामा सरकारी लगानी छ कि छैन भनेर उल्लेख गरिएको छैन ।

कसरी काम गर्नेछ ‘नक्कली’ चन्द्रमाले ?

चाइना डेलीका अनुसार यो नक्कली चन्द्रमाले एउटा ऐनाले जसरी काम गर्नेछ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरेर पृथ्वीमा पठाउनेछ ।

यो पृथ्वीबाट ५ सय किलोमिटरको दुरीमा रहनेछ । लगभग यही दुरीमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन पनि रहेको छ ।

यसको अनुपातमा पृथ्वीबाट चन्द्रमाको दुरी तीन लाख ८० हजार किलोमिटर रहेको छ ।

रिपोर्टमा सो कृत्रिम चन्द्रमा कस्तो देखिनेछ भनेर पनि स्पष्ट पारिएको छैन । यद्यपि, वुलाई उद्धृत गर्दै उक्त कृत्रिम चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटरसम्म फैलिनेछ र यसले वास्तविक चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश दिने बताइएको छ ।

सडक बत्तिभन्दा सस्तो चन्द्रमा ?

छेङ्दु एरोस्पेसका अधिकारीहरुको कुरामा विश्वास गर्ने हो भने यो नक्कली चन्द्रमाको उद्देश्य भनेको पैसाको वचत गर्नु हो ।

सुन्दा अचम्म लाग्न सक्छ । तर, अधिकारीहरुका अनुसार जति खर्च सडक बत्तिमा लाग्छ, त्यसको तुलनामा यो चन्द्रमा सस्तो हुनेछ ।

चाइना डेलीले वुलाई उद्धृत गर्दै लेखेको छ – नक्कली चन्द्रमाबाट ५० वर्ग किलोमिटर क्षेत्रमा प्रकाश फैलाएपछि हरेक वर्ष विजुलीमा आउने खर्चमा १.२ अर्ब युवान अर्थात् १७.३ करोड डलर बचत हुनेछ ।

यसको अलावा भूकम्प र बाढीजस्ता प्राकृतिक विपद्बाट पनि यसलाई कुनै असर हुनेछैन । त्यस्तो समयमा पनि नक्कली चन्द्रमाले प्रकाश दिइरहनेछ ।

ग्लास्गो विश्वविद्यालयमा स्पेस सिस्टम इन्जिनियरिङका प्रवक्ता डा. म्याटियो सिरिओटीले बिबिसीसँग कुरा गर्दै यो योजनालाई लगानीको रुपमा हेरिरहेको बताए ।

उनले भने, ‘रातको समयमा विजुलीमा अधिक खर्च हुनेगर्छ । यस्तो कसैले १५ वर्षसम्म एकमुष्ट खर्चमा सित्तैमा विजुली दिनथाल्यो भने यो निकै सस्तो हुनेछ ।’

कति गाह्रो छ नक्कली चन्द्रमा बनाउन ?

डा. सिरिओटी मान्छन् वैज्ञानिक रुपमा यो गर्न सम्भव छ ।

तर, यसको समस्या भनेको दुरी हो ।

यो नक्कली चन्द्रमालाई छेङ्दुको आकाशमाथि यस्तो ठाउँमा स्थापित गरिनेछ जसले यसको प्रकाश त्यहीको सानो क्षेत्रमा पुग्नेछ ।

पूरा विश्वको क्षेत्रफलको हिसाबले यो निकै सानो क्षेत्रफल हो ।

यसको अर्थ यसलाई एक स्थिर कक्षको आवश्यक पर्नेछ जुन पृथ्वीबाट ३७ हजार किलोमिटर टाढा छ ।

उनी भन्छन्, ‘एक खास क्षेत्रलाई मात्र उज्यालो बनाउन यो भूउपग्रहलाई निश्चित स्थानमा राख्नुपर्नेछ, यही नै यसको लागि ठूलो समस्या हुनेछ ।’

‘यदी तपाईं १० किलोमिटरसम्म उज्यालो बनाउने चाहनुहुन्छ, तर तपाईंको दिशा एक डिग्रीको १०० औँ हिस्सामा पनि चुक्यो भने नक्कली चन्द्रमा प्रकाश अर्कै क्षेत्रमा पुग्नेछ ।’

प्रकृतिमा असर

हार्बिन इन्सिटिच्युट अफ टेक्नोलोजीका निर्देशक केग विमिनले पिपल्स डेलीसँग कुरा गर्दै यो नक्कली चन्द्रमा मधुरो देखिने र यसले पशुपंक्षीको दैनिक काममा असर नगर्ने बताएका छन् ।

तर, चीनको सामाजिक सञ्जालमा यस चन्द्रमाको बारेमा चर्चा र चिन्ता दुवै छ ।

केहीले चन्द्रमाको कारणले रातको समयमा जाग्ने प्राणीलाई असर गर्ने बताएका छन् । केहीले भने चीनमा प्रकाशसँग जोडिएको प्रदूषणको समस्या रहेको छ र यो चन्द्रमाले त्यसलाई थप बृद्धि गर्नेछ ।

इन्टरनेशनल डार्क स्काई एशोसिएसनमा पब्लिक पोलिसीका निर्देशक जन बैरेनटीनले फोर्ब्ससँग कुरा गर्दै भनेका छन्, ‘यस चन्द्रमाको कारण निश्चित रुपमा रातको समयमा प्रकाश बढ्नेछ । यसको कारण प्रकाशको प्रदूषणबाट जुझिरहेकाहरुले अनावश्यक उज्यालो झेल्नुपर्नेछ ।’

डा. सिरिओटीले पनि नक्कली चन्द्रमाको प्रकाश अत्याधिक भएमा यसको असर प्रकृतिमा पर्नेछ र यसको शिकार पशुपंक्षीहरु हुनेछन् ।

के यो पहिलो प्रयास हो ?

सन् १९९३ मा रुसका वैज्ञानिकले २० मिटर चौढाई भएको एक रिफ्लेक्टर मिर स्पेस स्टेशन तर्फ पठाएको थियो । यो रिफ्लेक्टरको अर्बिट २०० देखि ४२० किलोमिटरको बीचमा थियो ।

नाम्या २ नामक एक स्याटलाइटलाई पृथ्वीबाट ५ किलोमिटरको व्यासमा प्रकाशका लागि पठाइएको थियो तर, त्यो जलेर खत्तम भएको थियो ।

यसपछि ९० को दशकको अन्त्यमा नाम्याको ठूलो मोडल बनाउने प्रयाश भएको थियो तर त्यो पनि विफल भयो ।

प्रतिकृया दिनुहोस्