

११ मंसिर २०८२, बिहीबार
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माणको कार्य थालनी गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्य बुधबार नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेको हो । अन्तरक्रियामा बोल्दै क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष एवं दैलेख–१ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरुप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्न सुझाउनुभयो । शिक्षा क्षेत्रमा उत्पन्न चुनौती र सम्भावनाबारे औंल्याउँदै पूर्वसांसद शर्माले राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्ने शिक्षा प्रणालीको अपरिहार्यतामा जोड दिनुभयो ।
मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा.विष्णुकुमार खड्काले विद्यार्थीहरुलाई आकर्षण गराउने, नवीन गरिखाने सीप सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने बताउनुभयो । उहाँले पुरानो ढर्राबाट क्याम्पस नचल्ने जनाउँदै अस्तित्व रक्षाको लागि डाइनामिक कि डाइनोसर के बन्ने भन्ने चुनौती खडा भएको बताउनुभयो । अन्तरक्रियाबाट प्राप्त सुझावहरु विश्वविद्यालयको आगामी रणनीतिक योजनामा समेटिने कार्यकारी निर्देशक डा.खड्काको भनाई थियो ।
नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्राडा. राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु टेकबहादुर खाँड, खड्कबहादुर सिंजापती, तेजबहादुर चन्द, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमरबहादुर सुनारलगायतले उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाही, सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वय निरक तारामी र दानबहादुर थापा, निजी विद्यालयका विष्णु पोख्रेल, उपप्राध्यापकद्वय डबलबहादुर बुढा र पिताम्बर खड्कासहितका वक्तालगायत सबै सरोकारवालाहरुले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायहरुलाई ध्यानमा राखी योजना ल्याउन सुझाउनुभयो ।
क्याम्पस प्रमुख नरबहादुर शाही तथा पूर्वक्याम्पस प्रमुख सुरेन्द्र अधिकारीले कर्णालीले विश्वबजारमा सहजै पहुँच राख्न सक्ने र मुलुकको सर्वाङ्गीण क्षेत्रको नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्ने गरी विश्वविद्यालयले रणनीतिक योजना निर्माण गर्न सुझाव दिनुभयो । कार्यक्रममा विश्वविद्यालयको रणनीतिक योजना निर्माणका लागि गठित कार्यदलका सदस्यत्रय दबल बुढा, रुपा थापा र निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले प्राप्त सुझावहरुको टिपोट गर्नुभएको थियो ।













