OnlinePana

आज : २०८१ पौष ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०८१सुर्खेत
१९४ पटक

९ असार २०८१, आईतबार

कर्णाली प्रदेशको सबैभन्दा सुगम स्थानीय तहका नामले परिचित वीरेन्द्रनगर नगरपालिका ३ माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीय धेरैको घरमा ईनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जगसमेत समातेर घण्टौं लाइनमा बसेर कुर्नुपर्ने समस्या उनीहरुको दैनिकी जस्तो बन्दै गएको छ ।

गाउँमा एक घर, एक धारा छ तर सहर सुख्खा अवस्थामा छ । ईनार भएकाहरुले पनि सफा पानी खाना पाएका छैनन् । पानीको हाहाकार भइरहेको बेला वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतस्थित माझगाउँ टोलमा बिलिभर्स ईस्टर्न चर्चले बोरिङ निर्माण गरेपछि त्यहाँका स्थानीयले ठूलो राहत पाएका छन् । माझगाउँ टोल विकास समितिले त्यही बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्यो तर आएन ।

चर्चले चालीस मिटर गहिराईको बोरिङ खन्दा चौबिसै घण्टा पानी आउने गरेको छ । पानीको हाहाकार परिरहेको बेला चर्चले दिएको सुविधाले आफूहरुलाई निकै ठूलो सहयोग पुगेको सोही टोलको स्थानीय भगवतीकुमारी थापाले बताउनुभयो । “पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च दाता र सहयोगी बनेको छ,” थापाले भन्नुभयो, “ईनारको कालो र रातो पानी खानुपथ्र्यो । करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौं । खाने, नुहाउने, लुगाधुने, शौचालयमा जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले धेरै सुविधा पुर्याएकाे छ ।”

चर्चको विरुद्ध बोल्ने र बोरिङ कार्य रोक्नुपर्छ भनेर नगरपालिकामा उजुरी गर्न लाग्नेहरु अहिले त्यसलाई धन्यवाद दिईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार त्यहाँको पानी लिन बिहान ४ः०० बजेदेखि राति १२ः०० बजेसम्म स्थानीयको लाईन हुन्छ । त्यसमा पनि महिला बालबालिकाहरु आउँछन् । लाईनमा सबैले दुई÷तीन घण्टा कुर्नुपर्दछ तर आउने सबैले सफा र प्रयाप्त पानी लिएर जान्छन् । चर्चले पानी निःशुल्क दिएपछि जार र बोतलको पानी किन्नु परेको छैन ।

स्थानीय धनबहादुर खत्रीले भान्सादेखि घर निर्माण, धानको बीउ राख्नेसम्म सर्वथा बोरिङ्कै पानीले धानेको बताउनुभयो । “यसअघि मान्छेहरु कसरी बाँच्या थे थाहा छैन । अहिले प्यास मेटाउने मात्र होइन, हामी स्थानीयको सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ । खानेपानीका लागि फिल्टर राख्नु पनि परेको छैन,” उहाँले भन्नुभयो । वडा नं.३ देखि ४ सम्मका एक हजार भन्दा बढी घरधुरीले यसबाट खानेपानीको सुविधा लिएको खत्रीले बताउनुभयो । उहाँका अनुसार राति १२ः०० बजे धेरै टाढाबाट जारका गाडी पानी लिन आउने गरेका छन् ।

कालीकोट शुभकालिका गाउँपालिका २ भर्ता घर भई हाल उक्त टोलमा बस्दै आएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म घरभाडामा बसेर बालबच्चा पढाईरहेको छु । श्रीमान् रोजगारका लागि मलेसिया जानुभएको छ । सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ । खानेपानीको संकट, समान त्यत्तिकै महंगो, विषादीयुक्त तरकारी, हरेक काम पैसाविना हुँदो रहेनछ । गाउँजस्तो तिउन तरकारी साटासाट गरेर खान नपाइने ।”

जार बोतलको पानी किनेर खाँदै, अर्काको ईनार धाउँने समस्या व्यहोरिरहेको बेला चर्चले उच्च मन गरेर चौबिसै घण्टा पानी खान दिँदा आफूहरु त्यसप्रति कृतज्ञ रहेको विश्वकर्माले प्रतिक्रिया दिनुभयो । “यस अघि नजिकैको छिमेकीको कुवामा रु.दुई सय तिरेर पानी खाइरहेका थियौं । पानी फोहोर हुन्थ्यो तर त्यही पनि दिन मान्दैनथे । अहिले धेरै सहज भएको छ । तिर्खा मेटाउनेदेखि आवश्यक हुने ठाउँमा बोरिङको पानीले सहयोग दिएको छ ।”

माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले खानेपानीको समस्या समाधान सरकारले गर्नुपर्नेमा चर्चले उद्धार भावका साथ गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । “पानी, जिन्दगानी हो । राजधानीको नगरपालिका भन्ने मात्र छ । खानेपानी, विद्युत, सडकको समस्या दुर्गमको भन्दा कम छैन,” उहाँले भन्नुभयो, “सुख्खा याममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत ठूलो समस्या छ ।” ती समस्याका विषयमा वडा हुँदै नगरपालिकासम्म राखेपनि त्यसको कुनै सुनुवाई हुन नसकेको उहाँले दुखेसो पोख्नुभयो ।

उहाँका अनुसार बोरिङ्ले पाँच हजार भन्दा बढी नागरिकलाई खानेपानीको सेवा दिएको छ । चर्चका अगुवा पूर्ण वर्देवाले पानीले काकाकुल बनेको बस्तीका नागरिकहरुलाई सेवा पुगोस् भन्ने भावका साथ बोरिङबाट पानी निकालिएको बताउनुभयो । “हाम्रो लागि त ईनार छँदै थियो तर पानीको अभावमा दुःख झेलिरहेका यहाँका स्थानीयको अवस्थालाई मनन् गरी सेवा दिन बोरिङ् निर्माण गरेका हौं,” उहाँले भन्नुभयो, “पानी लिन आउनेहरुको खुसीले हामीलाई अँझ बढी खुसी मिलेको छ ।”

प्रतिकृया दिनुहोस्