OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीजेठ ५, २०७७सुर्खेत
५५८ पटक

सुर्खेत, ५ जेठ (रासस) : “रसुवा जिल्लाबाट हिडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौं । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौं,” डुंगेश्वर गाउँपालिका ३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढा मगरले दुखेसो पोख्नुभयो ।

हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहिन भएको हर्कबहादुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिड्न बाध्य भयौं । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौं ।”

अर्का मजदुर कर्णबहादुर बुढा मगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदल यात्रा गरेको बताउनुभयो । बुढा मगरले भन्नुभयो, “बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।” यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उहाँको भनाई थियो ।

उहाँले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताउनुभयो । यता डुंगेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्याएपछि मात्र आफूहरुले बुझ्ने जानकारी दिनुभयो । “हामीलाई बबई नाकाबाट आफैले ल्याउने अनुमति छैन,” अध्यक्ष मल्लले भन्नुभयो, “यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भईरहेको छ ।”

दालभात कस्तो हुन्छ भन्ने भैसक्यो

पोखराबाट हिडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमा नाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गर्नुभयो ।

मजदुरीका लागि पोखरा गएका उहाँले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताउनुभयो । “कमाइएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिडे,” रावतले भन्नुभयो । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुंगेश्वर गाउँपालिका दैलेखका साथीहरुसँग भेट हुँदा यात्रा अलि सहज भएको उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “यो सात दिनको १४ छाक चाउ र चिउरा खाएरै पैदल हिडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भैसक्यो । बाटोमा खानाबास कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।” थुप्रै कर्णाली प्रदेशको बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको उहाँले दुःख व्यक्त गर्नुभयो । गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पुर्याईदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीबासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा जिल्ला पठाईने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्