OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०८०सुर्खेत
१०९ पटक

११ असार २०८० सोमबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले लागुऔषध दूव्र्यसनी रोक्न घर परिवारदेखि लाग्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा रिकोभरी नेपाल कर्णाली प्रदेशको समन्वयमा सञ्चालित लागुऔषध, मदिरा तथा सूर्तीजन्य पदार्थको सेवनविरुद्ध अन्तरक्रिया कार्यक्रममा मन्त्री जिसीले लागूऔषधको दूव्र्यसनी रोक्न प्रथमतः परिवार नै सचेत हुनुपर्ने बताउनुभएको हो ।

“लागुऔषध दुरुपयोगका विषयमा पहिलो परिवार र दोस्रो विद्यालय सचेत हुनुपर्दछ,” उहाँले भन्नुभयो, “त्यसपछि राज्यका सबै अंग एवं सरोकारवालाहरुको साझा प्रयास अपरिहार्य छ । लागुऔषध सामान्य जस्तो देखिएपनि समाज विकासमा पर्दै गएको असरका सन्दर्भ निकै जटिल बन्दै गएको भन्दै मन्त्री जिसीले आगामी दिनमा समाजमा व्यापक सन्देश प्रवाह हुनेगरी यसविरुद्धको साझा अभियान थाल्ने र प्रदेश सरकारले एउटा संयन्त्र निर्माण गरी रोकथाम तथा नियन्त्रणमा लाग्ने जनाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले लागुऔषधका प्रयोगकर्ताहरु वर्षेपिच्छे बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा आजसम्म कर्णालीमा लागुऔषधका ९३ मुद्दा दर्ता भएका छन् । त्यसमा एक सय ५९ जना पक्राउ परेका छन् ।” उहाँले आर्थिक वर्ष २०७७÷०७८ मा १७ महिला र एक सय छ पुरुष, ०७८÷०७९ मा आठ महिला र एक सय ६४ पुरुष र ०७९÷०८० मा १३ महिला र १५० पुरुष लागुऔषध मुद्दामा पक्राउ परेको जनाउनुभयो ।

अन्तरिक्रया कार्यक्रममा रिकोभरी नेपाल कर्णाली प्रदेशका सल्लाहकार कुमार ढकालले लागुऔषध रणनीति, २०७५ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा त्यसका प्रयोगकर्ताहरु बढ्दै गएको टिप्पणी गर्नुभयो । “लागुऔषध पारिवारिक रोग बनेको छ,” उहाँले भन्नुभयो, “यसबाट समाज, समुदाय हुँदै सिंगो मुलुक नै प्रभावित बनेको छ ।”

उक्त अन्तरक्रियामा कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले लागुऔषधको प्रभाव परिवार, समाज र स्वास्थ्यसँग जोडिएकोले हरेकले यसको रोकथाममा आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यसले पछिल्लो समयमा आत्महत्या, डिप्रेसनको समस्या बढ्दै गएको उहाँको भनाई थियो ।

रिकोभरी नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागुऔषधको राजधानी पनि बनेको त होइन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “लागूऔषध विरुद्धको लडाई सरल छैन यद्यपि यसको नियन्त्रण तथा रोकथाम भन्ने विषय असंभव पनि छैन ।” समाजमा सबैभन्दा ठूलो दुश्मनका रुपमा जरा गाडेको लागुऔषधविरुद्ध जुध्न साझा अभियान आवश्यक रहेको अध्यक्ष भट्टराईले जिकिर गर्नुभयो ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाले कानूनी कारवाहीले लागुऔषधका प्रयोगकर्ताहरु नघट्ने तर्क गर्नुभयो । यसका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रमका सहभागीहरुले घरबाट सही संस्कार, विद्यालयबाट आदर्श शिक्षा र सरकारबाट योग, ध्यानका कार्यक्रम गर्न सके लागुऔषध दुरुपयोगविरुद्धको साझा अभियानले सार्थकता पाउने सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्