OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १२, २०७९जुम्ला
४१९ पटक

१२ असोज २०७९, बुधबार

दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । यता तिला गाउँपालिका आफैले स्थापना गरेको आरोग्य सेवा केन्द्रलाई पुनर्जीवन दिइएको छ ।

कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद जुम्लालाई स्वास्थ्य सेवा कार्यालय जुम्लामा गाभेपछि त्यहाँको प्रयोगशालाले अपेक्षितरुपले काम गर्न सकेको थिएन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तरगत जिल्ला तहको स्वास्थ्य शाखामा सीमित गरेपछि यसले हात खुट्टा फैलाउन नसकेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो ।

“यही असोज ११ गतेबाट जिल्लाको आयुर्वेद ल्याव सञ्चालन ल्याईएको छ । अब नागरिकहरुमा भएका समस्याहरु छिट्टै प्रयोगशालाबाट जाँच हुनेछ,” उहाँले भन्नुभयो, “बिगतको जस्तै आयुर्वेदिक चिकित्सा पद्धतिबाट प्रवाह हुने सेवा अब निर्वाध चल्नेछ । यसका लागि हामीले जुम्लाका आठवटै स्थानीय तहसँग समन्वय गरिहेका छौं ।”

जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा गाउँपालिका मंगलबार देखि संघ सरकारबाट र हिमा गाउँपालिकाको कालिकाखेतु स्वास्थ्य केन्द्रमा जिल्लाबाट पठाएको आयुर्वेद चिकित्सकले आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आइरहेको निमित्त कार्यालय प्रमुख न्यौपानेले जनाउनुभयो । उहाँका अनुसार तिला र तातोपानी गाउँपालिकाले भने आफ्नै स्रोतमा आरोग्य सेवा केन्द्र स्थापना र जनशक्ति व्यवस्थापन गरेका थिए ।

तातोपानीमा सामान्यतः सञ्चालनमा आएपनि तिला गाउँपालिकामा सेवा सुचारु हुन नसकेको बताउँदै प्रमुख न्यौपानेले भखरै तिला आरोग्य सेवा केन्द्रमा १६ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि, भौतिक सामग्री र उपचारात्मक उपकरण पुनर्जीवित पारिएको जनाउनुभयो । सबै स्थानीय तहमा आरोग्य सेवा केन्द्र पुर्याउने सरकारी नीतिस्वरुप काम अगाडि बढाईएको उहाँको भनाई थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका पूर्व अध्यक्ष मनोज बुढाथोकी मगरले आयुर्वेद क्षेत्रमा तीनै तहको सरकारले चासो नदिएको टिप्पणी गर्नुभयो । “सरकारले आयुर्वेद क्षेत्रको न महत्व चिन्यो, न त्यसको बढोत्तरीमा महत्व दियो,” उहाँले भन्नुभयो, “सरकारले कुनैपनि लगानी नगर्दा यसको विकास र विस्तार हुन सकेको छैन ।”

प्राकृतिक चिकित्सा विधि अपनाउँदा यसले मान्छेलाई रोग लाग्नबाट बचाउने भन्दै अध्यक्ष बुढाथोकीले आयुर्वेद ज्ञान र उपचार मानव जीवनका लागि निकै महत्वपूर्ण रहेको जनाउनुभयो । उहाँका अनुसार यसलाई स्वास्थ्य सेवा नगाभी स्वायत्त छोड्नुपर्छ र अनुसन्धानमा जोड दिइनुपर्दछ ।

पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धतिसँग मिल्न नसक्ने नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका कर्णाली प्रदेश अध्यक्ष दिपेन्द्र कँडेलले सरकारले आयुर्वेद चिकित्सा पद्धतिलाई मास्ने गरी काम गरेको बताउनुभयो । उहाँका अनुसार आयुर्वेदिक र एलोप्याथिक दुवैको सैद्धान्तिक र व्यवहारिकरुपमै विभिन्न किसिमका विरोधाभास छ ।

आयुर्वेदिक र एलोप्याथिक चिकित्सा पद्धतिलाई एकै टोकरीमा हाल्नु हुँदैन,” अध्यक्ष कँडेलले भन्नुभयो, “आ–आफ्नै चिकित्सा पद्धति ठिक भन्ठान्ने दुवै क्षेत्र अलग राखिनुपर्दछ ।” दुवै क्षेत्रलाई एउटैमा मर्ज (मिलान) गर्दा द्वेष भावना उत्पन्न भई अपेक्षित प्रतिफल प्राप्त नहुने र त्यसले सेवाग्रहीमा प्रत्यक्ष असर सक्ने उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्