OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ५, २०७९कालीकाेट
५९२ पटक

५ भदौं २०७९, आइतबार

जिल्ला प्रशासन कार्यालय कालीकोट र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढी नागरिकता त्रुटिपूर्ण भएको पाइएको छ ।

विसं.२०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकहरुको नेपाली नागरिकता एउटै भएपनि अंग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो । तिलागुफा नगरपालिकाले जन्म, बिबाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अंग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो ।

नगरपालिकाले ०७४ बैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अंग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्रही समस्यामा परेका हुन् । तिलागुफा नगरपालिका ३ कालीकोट फोइमहादेव गाउँका दिक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताउनुभयो ।

“राहदानी विभागमा पासपोर्ट बनाउँदा तिलागुफा गाउँपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्र अनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख ग¥यो,” हमालले भन्नुभयो, “यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।” काठमाडौंबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उहाँले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरी कालीकोट पुगेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौंबाट पुनः कालीकोट फर्के । तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौं फर्कनुको विकल्प रहेन ।”

जिल्ला प्रशासन कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताउनुभयो । प्रजिअ शर्माले भन्नुभयो, “तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।” यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको उहाँले बताउनुभयो ।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार विसं. २०७४ बैशाख १ गतेदेखि हालसम्म ‘एफए’ अक्षरबाटै प्रदान गरिएका प्रतिलिपि र नयाँ नागरिकताको संख्या दुई हजार २२० रहेको जानकारी दिनुभयो । विसं.२०७२ माघ यता देखि भने जिल्ला प्रशासनले तिलागुफाका दुई हजार ७३५ जनालाई नागरिकता प्रदान गरेको उहाँले बताउनुभयो ।

हमालका बुबा चित्रबहादुर हमालले यत्रो संख्यामा नागरिकता बनाउँदासमेत ध्यान नदिनु स्थानीय प्रशासन र नगरपालिका दुवैको लापरवाही भएको बताउनुभयो । “आधिकारिक निकायले लामो समयदेखि गरेको त्रुटिले धेरैलाई समस्या भएको छ,” हमालले भन्नुभयो, “यसले गर्दा हामीले भौतिक दुःखका साथै विना कारण दोब्बर पैसा खर्च गर्नुपरेको छ । ती निकायको बेलैमा ध्यान जाओस् ।”

यता तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले पहिलेका पदाधिकारीले त्यसमा ध्यान नदिएकाले यो समस्या आएको बताउनुभयो । नगरप्रमुख उपाध्यायले आज कार्यपालिकाको बैठक बसी ‘एफए’ अंगे्रजी अक्षर हटाएर ‘पिएचए’ कायम हुनुपर्ने निर्णय प्रति संलग्न राखी नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध पत्र पठाउने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्