OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०७९जाजरकाेट
५२८ पटक

२६ साउन २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रतिफलमा आधारित कामको प्राथमिकीकरण गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाबाट योजना सिफारिस गर्न आज जाजरकोट खलंगामा आयोजित विषयगत कार्यालयहरुको बैठकमा बोल्दै मन्त्री सिंहले प्रतिफलमा आधारित कामका लागि योजना र काममा प्राथमिकीकरण गर्न जिल्लास्थित कार्यालय प्रमुखहरुलाई सुझावात्मक निर्देशन दिनुभयो । चालु आर्थिक वर्ष २०७९÷०८० साउन महिना सकिन लागेको जनाउँदै उहाँले पहिलो चौमासिकमा वित्तिय तथा भौतिक प्रगति देखिने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत कर्णालीका दश जिल्ला गरी ५८४ योजना छन,” मन्त्री सिंहले भन्नुभयो, “यसमा साविक कर्णालीका पाँच जिल्लाका प्रत्येक वडामा रु.२०÷२० लाख र बाँकी पाँच जिल्लाका वडाहरुमा रु.१५÷१५ लाख बजेट विनियोजन गरिएको छ ।” उहाँले असारलाई पेश्की फछ्र्यौटको महिनाका रुपमा स्थापित गर्न र अन्य महिनामा सम्पूर्ण काम गर्ने हिसाबले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार यो महिनाको मसान्तसम्म प्रदेश सरकारको बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनयका गर्न मुख्यमन्त्री र मन्त्री, मन्त्री र सचिव, सचिव र महाशाखा प्रमुख तथा जिल्लास्थित कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिने छ ।

आजको उक्त बैठकबाट मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सिंचाईका योजनाहरु प्रदेश सरकारलाई सिफारिस गरिएको सामाजिक विकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख खेमप्रसाद ढकालले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह, नलगाड नगरपालिकाका प्रमुख डम्बरहादुर रावत, भेरीगंगा नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र बारेकाेट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीलगायत विषयगत कार्यालयका प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्