OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
शुरबहादुर सिंह / नेत्र शाहीसाउन १०, २०७९सुर्खेत/जुम्ला
२०६१ पटक

१० साउन २०७९, मंगलबार

प्रकृतिको काखमा रहेका धेरै तालहरु आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरुको खोज अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरु गुमनाम जस्तो अवस्थामा छन् ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरु कर्णालीमा धेरै छन् यद्यपि ती स्थलहरुको उजागर हुन सकेको छैन । सिंगो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको मुहान हो भन्नेमा कुनै द्विविधा छैन । पुरातात्विकका साथै प्राकृतिकरुपले पर्यटनको अत्यन्तै संभावनायुक्त ठानिन्छ, जुम्ला ।

जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (बीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठिचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु अध्ययन अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् ।

जुम्ला तातोपानी गाउँपालिकामा अवस्थित गिडी दह जाने पर्यटकीय पदमार्ग आजसम्म बनेको छैन । सो दहको दक्षिणपूर्वी भागमा रहेका पाले दह, शंख दह, पाले दह, जोगिनी दह, नदै डाव पनि ओझेलमा छन् । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाई माथी रहेका यी तालहरुको न प्रचारप्रसार हुन सकेको छ नत त्यहाँ जाने बाटो नै बनेको छ । त्यसले गर्दा ती तालहरु महत्वहिन् अवस्थामा छन् ।

पर्यटकीय स्थल गुठिचौर गाउँपालिकामा रहेका तालहरुको अवस्था पनि त्यस्तै छ । सो गाउँपालिकाको वडा नं. १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), चार हजार ३०० मिटर उचाईको हिउल्सा ताल र चार हजार ६०० मिटर उचाईमा रहेको दुध कुण्डली ताल पर्यटकहरुको पर्खाईमा छन् ।

ती तालहरु भने सात वर्ष अघि चौंरी पालक गोठालाहरुले पत्ता लगाएका थिए । ती तालहरु रहेको क्षेत्रमा भने तीनअघि सोही वडाका वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ । उहाँसँगै त्यहाँका केही स्थानीयहरु पनि तालमा पुगेका थिए । वडाध्यक्ष महताराका अनुसार डाेल्पा नजिक पर्ने उक्त तालमा मणिसाँघु हुँदै घाट ओडार, दुध कुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ । तालकाे उतापट्टि डाेल्पाकाे जगदुल्ला हिमाल पर्छ ।

गोठिचौर गाउँपालिका १ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलो पटक वडाध्यक्ष टोली पुगेर फर्केको हो । “यसअघि चौंरी गोठालाहरु मुस्किलले त्यहाँ पुगेका रहेछन्,”वडाध्यक्ष महताराले भन्नुभयो, त्यो पनि चौंरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।”

ताल पत्ता लगाउन भूमिका खेल्नुभएका सोही वडाका ५० वर्षीय स्थानीय साङ्गबाे गुरुङका अनुसार विसं.२०७२ सालमा चौरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताउनुभयो । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकोले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उहाँले बताउनुभयो । गुरुङका अनुसार तिब्बतीयन भाषमा यसलाई माहुङ्ग नाम्छाे भन्ने गरिन्छ ।

आकाशको जस्तो नीलो रंग भएकोले त्यसलाई आकाशे ताल भनिएको उहाँको भनाई छ । त्यहाँ पुगेको वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दुध कुण्डली प्रकाशमा ल्याएको छ । पर्यटन विकास र प्रवद्र्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उहाँले पर्यटकहरुको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्मको बाटो जोड्ने पहलमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको छ । यो बजेट प्रदेश सरकारबाट प्राप्त गर्ने अपेक्षा गरेका छौं ।”

कान्छो कैलाश पर्वतका रुपले चिनिने यो तालको शिरमा दुध कुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले जनाउनुभयो ।

उहाँका अनुसार ताल पुग्दा निकै जाडो भएपनि त्यहाँ पुग्ने मार्ग विकासले पर्यटकहरुको आकर्षणलाई न्यानो बनाउनेतर्फ जोड दिइने छ । त्यसो हुन सकेमात्र पर्यटनका गतिविधि बढ्ने र यसले आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुग्ने वडापालिकाले जनाएको छ ।

तस्वीर: गुठिचाैर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अर्जुनकुमार महताराकाे सहयाेगबाट । 

प्रतिकृया दिनुहोस्