OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १७, २०७८सुर्खेत
६९७ पटक

१७ चैत २०७८ बिहीबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सरकारले राजस्व संकलन योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ ।

कर्णाली प्रदेश राजस्व परामर्श समितिको आज बसेको बैठकमा मन्त्री विष्टले राजस्व संकलनलाई प्राथमिकताका साथ व्यवस्थित बनाउनने बताउनुभयो । बैठकमा उहाँले भन्नुभयो, “हालसम्म राजस्व संकलनका क्षेत्र नै पहिचान हुन सकेको छैन । यद्यपि यतिबेला प्रदेश सरकार बजेट निर्माणको तयारीमा छ । राजस्व संकलन तथा व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि लिने योजना छ ।”

नीजि क्षेत्रलाई भार नपर्ने गरी सामान्य नागरिकलाई न्यूनतम करको दायरामा ल्याउने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । वन, यातायातलगायत क्षेत्रको राजश्व व्यवस्थापनको समस्यालाई हल गर्ने गरी मन्त्रालयले गृहकार्य गरिराखेको मन्त्री विष्टको भनाई थियो ।

बैठकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कर उठ्ने क्षेत्र पहिचानमै समस्या रहेको औंल्याउनुभयो । स्थानीयन सरकारले मात्र कर नियन्त्रण गर्न नसक्दै भन्दै प्रमुख सुवेदीले भन्नुभयो, “नीजि क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारको समेत यसमा सहकार्य हुनुपर्छ । जमीन किनेर उद्योग बढ्दैन बरु सस्तो ठाउमा औद्योगिक क्षेत्र स्थापना गर्दा राज्यलाई आर्थिक भार कम पर्छ ।”

सरकारी जग्गाको दररेट बढाउने विषयमा आफु असहमत रहेको प्रतिक्रिया दिँदै उहाँले जग्गाको दररेट बढाउदा स्थानीयले कर तिर्न नसक्ने अवस्था रहेको जनाउनुभयो । कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले नदीजन्य पदार्थ उत्खननको काम स्थानीय सरकारले आफ्नै स्रोत तथा साधनले गर्नुपर्नेमा जोड दिनुभयो ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले आम्दानीका लागी सरकारी तहबाट पूर्वाधार र वातावरण सहज बने निजी क्षेत्र करको दायरामा आउने बताउनुभयो । हाल बजारमा व्यापक आर्थिक मन्दी रहेको भन्दै उहाँले तत्काल करको दायरा बढाउने विषयमा निजी क्षेत्र सहमत नरहेको प्रतिक्रिया दिनुभयो ।

निजी क्षेत्रले ल्याएको अवधारणा अनुरुप वातावरण सृजना भएको खण्डमा विपन्न नागरिक समेत व्यावसायमा जोडिने महासचिव कँडेलको सुझाव थियो ।

 

प्रतिकृया दिनुहोस्