OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ११, २०७८सुर्खेत
४७६ पटक

११ माघ २०७८, सोमबार

कर्णाली प्रदेशमा ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनबाट रु.एक करोड ७१ लाख राजश्व संकलन गरिएको छ ।

प्रहरीको कारवाहीमार्फत चालु आव.२०७८÷०७९ को छ महिनामा रु.एक करोड ७१ लाख, ९७ हजार ५०० राजश्व संकलन गरिएको हो । कर्णाली प्रदेशभर ट्राफिक नियम उलङ्घन गर्ने २० हजार ५०१ सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।

त्यस्तै, यो छ महिनामा भन्सार छली गरी ल्याएको रु.एक करोड ३४ हजार ५६४ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद र ११ व्यक्तिलाई पक्राउ अनुसन्धानका लागि राजश्व कार्यालय बाँकेमा पठाईएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार यो अवधिमा २०३ सवारी दुर्घटना हुँदा कर्णालीमा ११८ जनाको ज्यान गएको छ भने ५१५ घाइते भएका थिए ।

१४१ फरार प्रतिवादी पक्राउ, ७४ वर्ष कैद सजाय

कर्णाली प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४१ जना प्रतिवादीलाई साउनदेखि पुससम्मको अवधिमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका १४१ जना प्रतिवादीहरुले ७३ वर्ष ९ महिना २८ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी बरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो । उनीहरुबाट रु.१६ लाख १० हजार ८९० जरिवाना संकलन गरिएको उहाँले बताउनुभयो । त्यसैगरी, २२ हजार १९८ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको, ११ स्थानबाट अवैध जुवातास खेल्ने ८४ व्यक्तिलाई पक्राउ गरी कारवाही गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै, छ महिनामा २४ नाल अवैध हातहतियारसहित १५ जना, लागु औषध दुव्र्यसनी तथा अवैध कारोवार गर्ने ९० जना पक्राउ गरी उनीहरुबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, एक किलो २१३ ग्राम चरेश बरामद गरिएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैर कानूनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई उनीहरुबाट कारवाही स्वरुप रु.दुई लाख ४० हजार ५७० राजश्व संकलन गरिएको छ ।

अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासीका क्रममा बरामद भएका २७३.६९ क्यूफिट ओखेटोपहार, पाँच किलो ३०० ग्राम यार्सागुम्बा, चार÷चार थान रेडपाण्डाको छाला र कस्तुरीको बिना, एक थान सालकको खप्पर र १८ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कार्यसम्पादनका आधारमा ३४८ लाई पुरस्कृत र १५८ जनालाई सजाय गरेको छ । त्यस्तै, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न जिल्लामा लागु औषध, घरेलु हिंसा न्यूनिकरणका लागि गरिएका तीन हजार ५७९ वटा जनचेतनामूलक कार्यक्रमबाट तीन लाख ४९ हजार ३७९ नागरिक लाभान्वित भएको र २४५ थान सिसी टिभी जडान गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारी परिवार, पूर्व प्रहरी कर्मचारी, सर्वसाधारण र मुगुका अग्निपीडितलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा रु.दुई लाख मूल्य बराबरको स्वास्थ्य सामग्रीसहित जिल्ला कालिकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत तपाईंको मास्क खोई ? कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्