OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०७८ सुर्खेत
६६६ पटक

६ माघ २०७८, बिहीबार

पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । कोरोना संक्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइदैन । सरकारी सार्वजनिक जताततै मान्छेको भिड लाग्न रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरेको छ । एक ठाउँमा २५ जना भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२बुँदै जारी आदेश पालना भएको छैन ।

कोरोना संक्रमणको दर भने दैनिक उकालो लाग्दै गएको छ । वीरेन्द्रनगरमा काेराेनाकाे संक्रमणकाे अवस्था अलि जटिल बन्दै गएकाे छ ।  धेरैले कोरोना परीक्षण गरेका छैनन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार बिहीबार कर्णालीमा ३२७ जनामा गरिएको कोरोना परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना बढ्दै जाँदा भने बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबार सुर्खेतका बजारमा औषधि सप्लायर्स पसलहरुको आकस्मिक अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसिन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन ग¥यो । प्रशासनको अनुगमनका क्रममा बजारमा सिटामोलको अभाव भएको पाइएको छ ।

“अनुगमन गर्दा राम मेडिसिन डिस्ट्रिब्युटर एण्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन,” प्रशासकीय अधिकृत चौलागाईले भन्नुभयो, “दुवै सप्लायर्सहरुमा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्य भन्दा रु.पाँच बढी पर्छ ।” सिनर्जी फार्मेसीमा भने २८३ स्टिम अर्थात दुई हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उहाँले बताउनुभयो ।

केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रति ट्याब्लेटको मूल्य रु.एक हुँदा कोडोपार रु.६÷७ मा बजारमा बिक्री हुने गरेको बताउनुभयो । मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकोले मूल्यकै कारण उत्पादक कम्पनीहरुले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले जनाउनुभयो ।

“कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ,” उहाँले भन्नुभयो, “सामान्यतः ज्वरो आउँदा, टाउको दुःख यही औषधि प्रयोय हुन्छ । ”प्रोपाइटर रोकायका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाट आउन छोडेको छ । सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरुसँग थौरै मात्रामा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समयमा कम्पनीहरुबाट आउन छोडेको बताउनुभयो ।

सिटामोल अभाव हुँदै गएपछि भने उपभोक्ता एवं बिरामीहरु छ गुणा बढी रुपैयाँ तिरेर औषधि किन्न बाध्य छन् । उक्त अनुगमनमा उपभोक्ता हकहित संरक्षण मञ्चका डा.हरि शर्मा, रासस कर्णाली प्रदेशका प्रमुख सुरजकुमार सिंह, देशदर्शनका पत्रकार मिलन श्रेष्ठ, सुर्खेत उद्योग बाणिज्य संघका प्रतिनिधि जनक थापा, प्रहरी निरक्षक लालबहादुर सुनार, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका उदय बिसी र राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा वयकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्