OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७८सुर्खेत
८२८ पटक

१४ पुस २०७८, बुधबार

चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकाहरुलाई मोर्डना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे विदाका कारण विद्यालय बन्द हुने भएकोले स्वास्थ्यकर्मीका लागि बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मीहरु विद्यालयमा सञ्चालित ट्युसन कक्षामा पुगेर उनीहरुलाई मोर्डना खोप दिने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिनुभयो । “जुम्लामा १८ वर्ष मुनिका बालबालिकाहरुका लागि १३ हजार मोर्डना खोप आएको छ,” प्रमुख जिल्ला अधिकारी प्रसाईले भन्नुभयो, “आजका दिनसम्म सात हजार बालबालिकाहरुलाई लगाइसकिएको छ ।”

मंगलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उहाँले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकोले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताउनुभयो । प्रजिअ प्रसाईंका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकोले स्थानीयलाई यहाँका विभिन्न चोक चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ ।

चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले नगरपालिकाभित्र सञ्चालन भएका ट्युसन सेन्टरमा पुगेर १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकाहरुलाई मोर्डना खोप लगाईएको बताउनुभयो । नगरपालिकामा दुई हजार २८६ बालबालिकालाई खोप लगाइसकिएको बताउँदै जनस्वास्थ्य निरीक्षक महतले आज हिमपात भइरहेकोले घाम लाग्ने बित्तिकै बाँकी बालबालिकालाई खोप दिने र २५ गतेभित्र सम्पन्न गरिसक्ने जनाउनुभयो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बुढापाकाको भनाईलाई उद्रित गर्दै पुसको १२ देखि १७ सम्म हिउँ पर्नुले सुविकाल फर्कने मान्यता रहेको बताउनुभयो । यसबाट किसानहरु धेरै खुशी रहेको जनाउँदै अध्यक्ष न्यौपानेले बेलकुण्ड माईत गएको अवस्था र पोइल आउँदा हिउ ल्याएको भन्ने विश्वास राखिन्छ ।

हिमपातका कारण सरकारी सार्वजनिक कामकाज प्रभावित भएको यद्यपि स्थानीय कृषकहरु खुशी भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्णालीका उच्च हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्लाका सबै र कालीकोट, जाजरकोट, दैलेखको माथिल्लो बस्तीको जनजीवन प्रभावित भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।

यता हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख मिना खत्रीले हिजोदेखिको हिमपातले तापक्रम घट्दो अवस्थामा पुगेको बताउनुभयो । प्रमुख खत्रीका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस छ भने २.८ मिलिमिटर हिउ परेको छ । मौसमी आद्रता ९६.९९ पुगेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्