OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १०, २०७८सुर्खेत
५२८ पटक

१० पुस २०७८, शनिबार

नेपाल सरकारले इसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ लाई राष्ट्रिय मान्यता दिएर पुस १० गते अर्थात डिसेम्बर २५ तारिखलाई सार्वजनिक विदा घोषणा गरेपछि देशैभरका झैं कर्णाली प्रदेशका इसाईहरुले पनि हर्षोल्लासका साथ ‘क्रिसमस डे’ मनाएका छन् ।

संसारका मानव जातिको मुक्तिका खाँतिर मानिसको रुप लिएर आज भन्दा सन् २०२१ वर्ष अघि यशुख्रीष्ट यस धर्तीमा जन्म लिएको दिनलाई सम्झना गर्दौ इसाई धर्मावलम्भीहरुको ख्रीष्टमस बडा दिनको रुपमा मनाउने गर्दछन् । त्यही मान्यता अनुरुप सुर्खेतलगायत कर्णाली प्रदेशभरिका क्रिश्चियनहरुले सरकारले राष्ट्रिय पर्वका रुपमा सार्वजनिक विदा दिँदा उनीहरुले खुशीका साथ उक्त पर्व सम्पन्न गरेका छन् ।

क्रिसमसको पूर्व सन्ध्यामा उनीहरुले क्यारल गीत गाए भने अर्कोतर्फ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरे । आजको दिन प्रवचन सुन्ने, भजन, कोरस, क्रिसमस विशेष गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मिठा मिठा परिकारल खाएर क्रिसमस सम्पन्न गरिएको बिलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले जानकारी दिनुभयो । ‘क्रिसमस डे’ इसाईहरुको विशेष मत्वको दिन हो, अगुवा वर्देवाले भन्नुभयो, यो दिन सुख दुःख, खुशी, भावना साटासाट गर्नुका साथै नवीन जीवनको पनि कामना गरिन्छ ।

सबैले आ.आफ्नै चर्चमा विभिन्न सांगितिक मनोरञ्जनात्मक कार्यक्रम गरेर ‘क्रिसमस डे’ भव्यता साथ मनाएका छन् । उक्त पर्वको सन्दर्भमा विभिन्न चर्चमा नेतृत्व गर्दै आउनुभएका अगुवाहरु सलोमान गुरुङ, पदम गैरे, पूर्ण वर्देवा, नविन दर्लामी, गोमानसिंह बस्याल, शिव परियार, प्रेम बयलकोटी, अमर थापा, मोहन पुलामी,धनबीर नेपाली, बीरबहादुर घर्ती, जगत नेपालीलगायतले एक आपसमा क्रिसमस शुभकामना आदानप्रदान गरिएको बताउनुभएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधतायुक्त विशेषताले भरिएको देश नेपालमा ‘क्रिसमस डे’ जस्ता पर्वहरुले सबै नेपालीबीच आपसी, प्रेम, विश्वास, सद्भाव र बन्धुत्वको भावना प्रगाढ हुनुका साथै यसबाट साँस्कृतिक पहिचानमा बल पुग्ने र राष्ट्रिय एकतामा अभिवृद्धि हुने विश्वास लिएको मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

नेपाल सरकारले इसाई धर्मावलम्वीहरुलाई सम्मान गर्दै ‘क्रिसमस डे’ लाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर सार्वजनिक विदा घोषणा गरेकोमा इसाई समाज सुर्खेत तथा राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष पदम गैरेले सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । त्यसैगरी, कर्णाली प्रदेश सरकारले कर्णालीका इसाईप्रति देखाएको सद्भावले आफूहरुमा हौसला मिलेको भन्दै अध्यक्ष गैरेले मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति अभारसहित कृतज्ञता प्रकट गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्