OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०७८सुर्खेत
६५५ पटक

८ पुस २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रत्येक व्यक्तिले आस्था अनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रताको हक भएको बताउनुभएको छ ।

आउँदै गरेको नव वर्ष सन् २०२२ र ‘येशुख्रीष्टको जन्मदिन अर्थात् ख्रीष्टमस बडादिन’को पूर्व सन्ध्यामा इसाई समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले धार्मिक स्वतन्त्रताको हक नेपालको संविधान २०७२ मा नै व्यवस्था भएको बताउनुभएको हो ।

“व्यक्तिको धर्म हुन्छ । सबै व्यक्तिलाई आ–आफ्नो आस्था बमोजिक धर्म मान्ने हक अधिकार छ,” उहाँले भन्नुभयो, “कसैले धर्म मानेकै कारण फौंजदारी अभियोग लगाइनु हँदैन । मेरो र कर्णाली प्रदेश सरकारको पनि त्यही मान्यता हो । हामी एउटै बगैंचामा भएका विभिन्न जातका फुलबारी हौं । हामी सबैको धर्म समान छ ।” त्यो धर्मलाई प्रोत्साहन दिन धर्मगुरुहरुले अगुवाले गरेको कुरालाई सरकारले आत्मसाथ गर्ने र त्यसमा ख्रीष्टियनहरुले चिन्तित हुनु नपर्ने मुख्यमन्त्री शाहीको भनाई थियो ।

कार्यक्रमस्थलमै विभिन्न मागसहित ५ बुँदे ज्ञापनपत्र बुझ्नुभएका उहाँले प्राप्त मागहरुको सम्बोधन एवं समाधानका लागि तीनै तहका सरकारको बीचको तालमेलबाट संघीय सरकारसँग समन्वय एवं पहल गर्ने र स्थानीय सरकारलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकार सबै जातजाति धर्मावलम्बीहरुको साथ रहेको बताउनुभएका मुख्यमन्त्री शाहीले ख्रीष्टमसलगायत सबै चाडपर्वहरुलाई समान मान्यता दिने जनाउँदै यही पौष १० गते मनाईने ख्रीष्टमस तथा नयाँ वर्षको अवसरमा शुभकामना प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले आजको संविधान हामी सबैको साझा आन्दोलन, त्याग र संघर्षबाट जन्मेको र यसले हामी सबैलाई सुरक्षित बनाएको जिकिर गर्नुभयो । त्यसको पालना हामी सबैबाट हुनुपर्नेमा जोड दिँदै उहाँले इसाई धर्मावलम्बीहरुको जीवनमा राज्यबाट भएका विभेद वा अन्य समस्याका विषयमा उठेका माग र लिखित ज्ञापन पत्रले आफ्नो ध्यानाकर्षण भएको जनाउनुभयो ।

दलका नेता कँडेलले भन्नुभयो, “हाम्रो समाज धार्मिक, जातीय, भाषिक र साँस्कृतिकरुपले विविधतायुक्त छ । हामीले एक अर्काको धर्ममा प्रश्न नआउने गरी सबै धर्म संस्कृतिको सम्मान र संरक्षण गरौं ।” धर्मनिरपेक्षताका विषयमा केहीले प्रश्न उठाएपनि जनताको रगत पसिनाले संविधानमा व्यवस्था गरिएको अधिकारमा कसैलाई त्यसबाट विचलित नहुन उहाँले सुझाउनुभयो ।

सोही क्रममा संविधान लेखिएका कुरामा भईरहेको गलत प्रचारबाजीमा भने होसियार र सचेत हुनुपर्ने अवस्था रहेको नेता कँडेलले जनाउनुभयो । उहाँले जनताको समग्र अधिकार सुनिश्चितता हुने गरी समतामूलक संविधानले व्यवस्था गरेको बताउँदै नववर्ष २०२२ र ख्रीष्टमसको अवसरमा इसाईलगायत सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मण्डली संगती नेपालका केन्द्रीय अध्यक्ष रेभरेण्ट पास्टर हनुक तामाङ्ले धार्मिकताले देशलाई उचाल्नुका साथै मुक्तिको सन्देश प्रवाह गर्ने बताउनुभयो । एउटा धर्ममा आस्था राखेर कसैप्रति देखाउने माया, दया, करुणा र सहयोगी भाव स्वदेशी विदेशी नहुने भन्दै रेभरेण्ट पास्टर तामाङले नेपालमा हाल ३० इसाई रहेको दावी गर्नुभयो ।

उक्त ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल कर्णाली प्रदेश तथा इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ट पास्टर पदम गैरेले इसाईहरुको कर्णालीमा ७० र नेपालमा ४०० वर्ष लामो इतिहास रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कर्णालीमा हाल ५० हजार इसाई धर्मावलम्बीहरु रहेका छन् । विभिन्न साँस्कृति कार्यक्रम देखाईएको उक्त कार्यक्रममा पास्टरहरु नविन दर्लामी, गोमानसिंह बस्याल, प्रेम बयलकोटीलगायतले धर्म संस्कृतिले व्यक्ति सभ्य र अनुशासित जीवन निर्माण हुने विचार व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, इसाई अगुवाहरु पूर्ण वर्देवा, शिव परियार, बीरबहादुर घर्तीसहित सुर्खेत जिल्लामा रहेका विभिन्न मण्डलीका अगुवा तथा विश्वासीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न चर्चहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने ख्रीष्टमस तथा नयाँ वर्षको अवसरका बिहान १०ः३० बजे सुर्खेत धुलियाबिटदेखि प्रदेश अस्पताल र बजारका विभिन्न क्षेत्रमा मोटरसाइकलद्वारा बृहत शान्ति ¥याली गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्