OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ६, २०७८काठमाडौं
९६३ पटक

 ६ पुस २०७८, मंगलबार

जिल्ला प्रहरी कार्यालय सुर्खेले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक पूजारीसहित दुईजना धामीलाई पक्राउ गरेको छ ।

प्रहरीले देवता चढेको नाममा महिलामाथि दुर्व्यहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसैलाई आधार बनाएर वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई पक्राउ गरेको हो । लेकवेशी नगरपालिका–४ दशरथपुर सुर्खेतमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

हामीले ती व्यक्तिहरुले महिलामाथि सामाजिक अपराध गरेको आरोपमा पक्राउ गरेका हौं, प्रहरी निरीक्षक शाहीले भन्नुभयो, पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकिएको छ तथापि पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन । उहाँका अनुसार ती महिला यही पुस ४ गते आफ्नो कुल देवताको पुजाका लागि माइती आएकी थिइन् ।

प्रहरी निरीक्षक शाहीले भन्नुभयो, भाइरल भिडियोमा महिलाले काँपेर मूल धामीको अगाडि म माथि बस्छु भनेको आवाज सुनिन्छ र मूल धामीले अनुमति नदिएपछि उनकै अगाडि राखेको धुलो र चामल उछिट्याउँछिन् । त्यही क्रममा धामी पुजारीहरुले उनीमाथि चरम दुर्व्यवहार गरेको देखेपछि हामीले अनुसन्धान थालेका हौं । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको छ । ।’

सोमबार फेसबुकमा सार्वजनिक भएको भाइरल भिडियोमा एक पूजारी र दुई धामी पुरुषहरुले महिला काँपीरहेको अवस्थामा उनीमाथि कुटपिट, हिंसा, अपमान, बेइज्जत र दुर्व्यवहार गरेका थिए । उक्त भिडियो पाँच मिनेट १८ सेकेन्डको छ । उनलाई ‘नराम्रो आत्माबाट’ बचाएको भन्दै दुई धामी पुरुषले ती महिलाको जिब्रोले आफ्ना खुट्टाका पैताला चटाउन बाध्य पारेको दृश्य निकै अमानवीय देखिन्छ ।

त्यस घटनाका विषयमा मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले निकै निन्दनीय र गम्भीर ज्यादती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो सरासर सामाजिक अपराध हो । हामीले पनि यो घटनालाई गम्भीर चासोको रुपमा हेरिरहेका छौं र सामाजिक अपराध कसुर अनुसार कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन पहल गर्छौं ।’

प्रतिकृया दिनुहोस्