OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ६, २०७८काठमाडौं
६९३ पटक

६ पुस २०७८, मंगलबार

सर्केगाड गाउँपालिका १ जैरगाउँ हुम्लाका १९ वर्षीय युवक एक सातादेखि बेपत्ता भएका छन् । उनलाई माइती पक्षका घरमा आई निर्घात कुटपिट बेपत्ता पारेका हुन् । कथित उपल्लो मल्ल जातकी सोरु गाउँपालिका ५लिप्रु गाउँ मुगुकी सुन्तली मल्लसँग भागी बिबाह गरेका उनलाई गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्र एक हप्ता बितिसक्दा पनि घर फर्केका छैनन् ।

स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड– २ को रिप गाउँमा बस्दै आएका थिए । तर, पछि घरमै आएर बस्न थालेको थाहा पाएपछि बुधबार राति केटी पक्ष आक्रमण गर्ने योजनासहित त्यहाँ पुगेको थियो ।

चन्द्रको गाउँमा योजनासहित पुगेको केटी पक्षको समुहले सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तोडफोड गरेको र छोरालाई निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताउनुभयो । उहाँले भन्नुभयो, बुधबार राति २० जनाजतिको समूह आएको थियो । जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमाथि आक्रमण गरे । ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे । हामीलाई नबोल्न धम्की दिँदै उनीहरुले छोरालाई मरणासन्न हुने गरी कुटे । छोरा–बुहारीलाई नै घरबाट लिएर गए । घरबाट कुट्दै लगेको छोरा कहाँ, कुन अवस्थामा छ पत्तो छैन ।’ छोरालाई बेपत्ता पारेपछि घटनाको भोलिपल्टै बिहीबार पुस १ गते प्रहरीमा जानकारी गराएको उहाँले जनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएको बताउनुभयो । केटी भेटिएपनि चन्द्रको अवस्था अज्ञात रहेको प्रहरी नायब उपरीक्षक शर्माले जनाउनुभयो । ‘युवक हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तर, केटीको बुबालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । एक–दुई दिनमै केटाको अवस्था पत्ता लाग्ला,’उहाँले भन्नुभयो ।

उहाँका अनुसार युवतीका बुबालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । तुम्च, गल्फागाड, श्रीनगर र सर्केगाड चौकीबाट सम्भावित ठाउँहरूमा खोजी गर्न प्रहरी परिचालन गरिएको छ । भागीविवाह गरेका चन्द्र र सुन्तली दुवै १९ वर्षका रहेको प्रारम्भिक सोधखोजमा खुलेको प्रहरीले जनाएको छ ।

उहाँकै नेतृत्वमा पाँचजना प्रहरी चन्द्रको खोजीमा खटिएको छ । त्यस्तै, धनञ्जयले भने प्रहरीलाई खबर गरेको पाँच दिन बितिसक्दा पनि छोराबारे कुनै खबर प्राप्त नहुँदा चिन्ता बढ्दै गएको बताउनुभयो । उहाँले दोषीलाई पक्राउ गरेर कारबाही गरी छोरा–बुहारीलाई न्याय दिलाउन प्रहरीसँग आग्रह गर्नुभएको छ ।

कानूनले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भन्दै कानुनले रोक लगाएको छ । तर, बालविवाहको हकमा प्रहरीले अनुसन्धान गरी कानुनले फैसला गर्ने न्यायिक प्रक्रिया हुँदाहुँदै जातको नाममा केटी पक्षले उनीहरूको प्रेममाथि तगारो मात्रै लगाएको छैन, दलित केटा चन्द्रलाई निर्घात कुटेर बेपत्तासमेत पारेको छ ।

प्रतिकृया दिनुहोस्