OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७८सुर्खेत
५५१ पटक

१ पुस २०७८ बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरुको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ ।

नेपाल खीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा आज वीरेन्द्रनगर सुर्खेत ख्रीष्टियन मण्डली ईत्राममा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियतसहित सबै धर्म समान रहेको बताउनुभयो । “मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो,” उहाँले भन्नुभयो, “नेपालको संविधानको मर्म बमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।”]

प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै ईसाई धर्मावलम्बीहरुलाई आसन्न २५ डिसेम्बर मनाईने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो । नेकपा माओवादी कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकोले यसले सबै वर्गको अधिकार सुनिश्चितका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

मुलुकका अल्पसंख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व नेकपा माओवादीले गर्दै आएको जनाउँदै उहाँले इसाई धर्मावलम्बीहरुको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताउनुभयो । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा.बि.पी खनाल फौजादारी संहिताको परिच्छेद ९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गर्नुभयो । अध्यक्ष डा.खनालका अनुसार सत्ताको पेरीफेरी बसेकालाई परिवर्तन भएजस्तो लागेपनि नागरिक तहमा त्यसो हुन सकेको छैन ।

नेपाली ख्रीष्टिय समाजका केन्द्रीय महासचिव डिल्लीराम पौडेलले मुलुकको विकासमा इसाईहरुको अग्रणी भूमिका रहेको जनाउनुभयो । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालले राज्यको आफ्नो धर्म नहुने भन्दै व्यवस्थाका विरोधीहरुले सरकार तथा सत्ताको नेतृत्व गर्दा क्रिश्चियनहरुका अधिकार संविधानतः सुनिश्चित हुन नसकेको बताउनुभयो ।

जनता समाजवादी पार्टी सुर्खेतका अध्यक्ष फत्ते सोती मगरले सामान्य सार्वजनिक विदा दिने काममा पनि सरकारले कञ्जुस्याई गरेको बताउनुभयो । अखिल नेपाल क्रान्तिकारी महिला संघका प्रदेश संयोजक हरिमाया शर्माले यो व्यवस्था टिकाई राख्ने माओवादी नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम गैरेले संविधानको प्रस्तावनामै धर्मनिरपेक्ष राष्ट्र उल्लेख गरेपनि त्यो अभ्यास र व्यवहारमा लागु नभएको र प्रदेश तथा स्थानीय सरकारहरुले क्रिश्चियनहरुलाई वेवास्ता गरेको गुनासो गर्नुभयो । नेकपा एमाले वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि निलकण्ठ खनालले वीरेन्द्रनगर नगरपालिकाले क्रिश्चियनहरुमा माथि आजसम्म कुनै विभेद नगरेको र आवश्यकतामा सहयोग पुर्याउँदै आएको दावी गर्नुभयो ।

आले ल फर्म काठमाडौंका अधिवक्ता चेतबहादुर आलेले इसाईहरुका गतिविधिलाई फौजदारीसहितामा राखेर ल्याईएको कानूनले उनीहरुमाथि ठूलो अन्याय भएको र त्यो देवानीसंहिताको खण्डमा राखिनुपर्नेमा जोड दिनुभयो । नेकपा माओवादी कर्णाली प्रदेश सदस्य उदिराम डाँगीले भने हरेक धर्म, संस्कार र संस्कृति बचाउनु राज्यको कर्तव्य भएको विचार व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका केन्द्रीय महासचिव डिल्लीराम पौडेल र समाजका कर्णाली प्रदेश अध्यक्ष नविन दर्लामीद्वारा संयुक्त हस्ताक्षरित ८ बुँदे शुभकामना तथा ध्यानाकर्षण पत्र कर्णाली प्रदेश प्रमुख परियार, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट, नेकपा (एकीकृत समाजवादी) पार्टीका सुर्खेत अध्यक्ष मोहनसिंह बडुवाल र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का कर्णाली प्रदेश संयोजक हरिमाया शर्मालाई बुझाईएको छ ।

प्रतिकृया दिनुहोस्