OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७८जुम्ला
११२५ पटक

१ पुस २०७८ बिहीबार

सरस्वती प्राविधिक माध्यमिक विद्यालय तिला गाउँपालिका ३ कुडारी जुम्लाले शिक्षक आवेदन शुल्क रु.पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ ।

उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित छ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ । विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि रु.चार÷चार हजार र मावि शिक्षकका लागि रु.पाँच÷पाँच हजार आवेदन दस्तुर तोकेको छ जहाँ की बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर रु.एक हजार उल्लेख गरेको छ ।

उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरित तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेख्नुभएको “शिक्षक सेवा आयोगले प्रावि तहको रु.५००, निमाविका लागि रु.८०० र माविका लागि रु.एक हजार मात्र लिन्छ । स्थानीय सरकार कता छ ? यो हद भन्दा बढी भएन र भन्या ?”

त्यस्तै, भानुभक्त माध्यमिक विद्यालय बारबर्दिया नगरपालिका ७ बर्दियाका प्रधानाध्यापक करबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत ऐन, नियमावली विपरित शुल्क तोक्न नहुने मत पोष्ट गर्नुभएको छ । उहाँले कुनैपनि विद्यालयले मनोमानी तरिकाले शुल्क नपाईने कानूनी प्रावधान रहेको प्रतिक्रिया दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत नै त्यस्ता विद्यालय प्रशासकलाई कारवाही हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले उक्त विद्यालयले तोकेको शुल्क मापदण्ड विपरित भएको बताउनुभयो । “डेढदेखि दुई वर्ष शिक्षक पद रिक्त हुँदा पनि त्यो विद्यालय समनवय एकाईमा अनुमति लिन आएन,” प्रमुख भण्डारीले भन्नुभयो, “उक्त विद्यालयले यस अघि अनुमति नलिएर नियुक्ति गरेका विएस्सी.एजी र तल्लो तहका शिक्षकको जागीर धरापमा छ ।”

शिक्षक सरस्वती प्राविधिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल गिरीले प्रधानाध्यापकको सल्लाह अनुसार आवेदन दस्तुर पाँच र चार हजार राख्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले त्यस विषयमा प्रधानाध्यापकसँग बसेर पुनःविचार गर्ने प्रतिक्रिया दिनुभयो ।

प्रधानाध्यापक रामविलास यादवले आफूले नभई विद्यालय व्यवस्थापन समिति बसेर नै निर्णय गरिएको जिकिर गर्नुभयो । “विज्ञापन भईसक्यो, अब के गर्ने ?” प्रधानाध्यापक यादवले भन्नुभयो, “सामाजिक सञ्जालमा गइसकेकोले त्यसै अनुसार परीक्षा लिने त होला ।” विद्यालयले १५ दिनको अवधि राखेर आवेदन दर्ता समय पुस ९ गतेसम्म राखेको छ ।

तिला गाउँपालिका ३ कुडारी जुम्लाका स्थानीय मानबहादुर बुढाक्षेत्रीले २०७६ मंसिर १८ गते त्यहाँको विद्यालय व्यवस्थापन समितिले लेखापालले खाईपाई आएको रु.११ हजार ५०० तलबमा रु.१३ हजार ५०० तलब बढाएर रु.२५ हजार पुर्याउने जस्ता मनोमानी काम गर्दै आएको सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ । बुढाक्षेत्रीका अनुसार गलत निर्णय गरेर सार्वजनिक सम्पतिको दुरुपयोग गर्ने त्यस्तो नेतृत्व र वि.व्य.स.का कार्यको अनुगमन गरी सम्बन्धित निकायले तत्काल अनुगमन तथा कारवाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।

तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले यस विषयमा आफूलाई कुनै थाहा नभएको बताउनुभयो । स्थानीय निराजन गौतमले उक्त विद्यालयमा थुप्रै अनियमितता र बेथिति मात्र भएको तर त्यस्ता विकृतिका विषय बाहिर आउँदा पनि सरोकारवाला निकायले अहिलेसम्म अनुगमन नगरेको दुखेसो पोख्नुभयो ।

सामाजिक सञ्जालमार्फत टेकेन्द्र न्यौपानेले सो विद्यालयले दुई वर्ष अघि आईएस्सी.एजी शिक्षक भर्नाका लागि यसैगरी रु.पाँच हजार लुटेको प्रतिक्रिया दिनुभएको छ । उक्त शुल्कबारे टिप्पणी गर्दै सरोकारवालाहरुले नियम विपरित मात्र नभई आवेदकहरुलाई आकर्षित भन्दा विकर्षित हुन बाध्य बनाएको उल्लेख गरेका छन् भने सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ ।

प्रतिकृया दिनुहोस्