

२८ मंसिर २०७८, मंगलबार
नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरुबाट नै कर्णाली प्रदेश अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेशको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यहरुबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि अब प्रदेश समिति सदस्यहरुबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको हो । उक्त सम्मेलनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
“निर्वाचति प्रदेश समितिको आकार २११ सदस्यीय हुनेछ,” अध्यक्ष आचार्यले भन्नुभयो, प्रदेश “समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ ।” उहाँले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यहरुको प्यानल प्रस्ताव बन्द सत्रमा आज सार्वजनिक गर्नुभयो । अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् ।
उहाँले छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने जनाउनुभयो । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।