९ मंसिर २०७८, बिहीबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखहरुको भएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रमुख आयुक्त राईले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखहरुले सुशासन र सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अख्तियारले भ्रष्टाचार र अनियमितताका विभिन्न कारण खुलाउँदै सरकारलाई कार्यान्वयन गर्न सुझाव दिएको छ । तर कार्यान्वयन हुन सकेको छैन ।”
मुलुकका एक हजार ७७० रुग्ण आयोजनाको अध्ययन, अनुसन्धान भई अहिले सम्पन्न हुने अवस्थामा पुग्दा त्यसको सकरात्मक प्रभाव परेको जिकिर गर्दैै प्रमुख आयुक्त राईले पछिल्लो समयमा स्थानीय तहका उजुरीहरु बढेको बताउनुभयो । शिक्षा, भूमि व्यवस्था, वन तथा वातावरणलगायतका क्षेत्रमा बढी उजुरी परेको उहाँको भनाई थियो ।
विभिन्न आयोजनामा ठेक्का लगाउने निकायले निरन्तर अनुगमन गर्न सुझाउँदै प्रमुख आयुक्त राईले फितलो अनुगमनका कारण बेलैमा कुनैपनि योजना सम्पन्न नहुने र त्यसले विकास प्रभावित हुँदै गएको जनाउनुभयो । सार्वजनिक तथा सरकारी सम्पतिको संरक्षणमा ध्यान पुर्याउन आग्रह गर्दै उहाँले अख्तियारले जवाफ माग्दा जवाफ नदिने कार्यालय प्रमुखहरुलाई कारवाही गर्ने चेतावनीसमेत दिनुभयो ।
उक्त समारोहमा आयोगका सचिव तोयम रायाले आयोगले सुशासन कायम गर्न भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००३ मा पक्ष राष्ट्र भएर नेपालले हस्ताक्षर गरेकोले नेपालको छवि गुमाउन नहुनेगरी काम गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सदाचारिता र ईमान्दारिता हरेक व्यक्तिको सम्पति भएकोले यसलाई शिरमा राखेर कर्मचारीले आफ्नो तहको जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मुलुकमा संघीयता आएपछि गणतन्त्र संस्थागत हुँदै गएको बताउनुभयो । कर्मचारीहरुलाई जनमुखी र उत्तरदायी भएर काम गरे सुशासन कायम हुने तर्क गर्दै प्रजिअ रिजालले अहिले सुर्खेतको मालपोत, यातायात व्यवस्था कार्यालयलगायमा सुशासन कायम हुँदै गएको बताउनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका कार्यालय प्रमुख अमरबहादुर थापाले अख्तियार सुर्खेतको कार्यालय दुई हजार ४०० वर्गमिटर क्षेत्रफलमा रु.नौ करोड ३१ लाख ८७ हजार ५७० लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
विसं.२०७५ जेठ २ गते भवन निर्माण कार्य सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने जिम्मा लिएको आशीष–हाम्रो जेभीले कोरोना महामारीका कारण विसं.२०७८ असार ३१ सम्पन्न गरेको कार्यालय प्रमुखले थापाले जनाउनुभयो ।