७ मंसिर २०७८, मंगलबार
गत कार्तिक महिनामा दशैं र तिहारको रमाइलो गर्दै जुम्ला जिल्लाको सिँजा क्षेत्र र आसपासका युवाहरुले जात्रा र तिहारलाई लक्षित गरी भलिबल र फुटबलका खेलहरु आयोजना गरे । कनकासुन्दरी गाउँपालिकाको रानीसैनमा भलिबल प्रतियोगिता आयोजना भयो । सिँजा गाउँपालिकामा फुटबल खेल आयोजना भयो । जुम्ला बजारको टँुडिखेलमा घोडादौड र फुटबल आयोजना गरिए । गुठीचौर गाउपालिकामा फुटबल आयोजना भयो । वर्षाका कारण हिमा गाउँपालिकाको मोफ्लाको राहदेव र ओदीको लामाविष्णुको जात्रालाई लक्षित गरि आयोजना गरिएका भलिबल खेलहरु रद्ध गरिए । युवाहरुको यो प्रयासले खेलमा निकै उत्साह जगायो ।
गरिबीको पर्यायका रुपमा परिभाषित कर्णालीका लागि पहिले खेल रुचिको विषय थिएन । यो भन्दै गर्दा कर्णालीबाटै इतिहास बनाएका कर्णालीका खेलप्रेमी खेलाडीहरुलाई अन्याय हुनेछ । सन्दर्भः हाम्रा पुराना खेलहरुको अवस्थाको उठान हो । हाम्रा पूर्खाले आफूसँग भएका सीप, कला, संस्कार, संस्कृति र मनोरञ्जनलाई जगेर्ना गर्नका लागि संयन्त्र बनाउन सकेनन् वा हामीले त्यसको अनादर गरेर बस्यौं । त्यो समीक्षाको विषय हुनसक्छ । यस्तै, एउटा उदाहरण कर्णालीको परम्परागत गिर्या खेल बनेको छ । हामीले पूर्खौदेखि टुप्पो घुमेका लठ्ठीले यो खेल खेल्दै आयौं । रमाइलो गर्दै आयौं । तर खेल मैदान बनाएनौं । पोष्ट तयार गरेनौं । यो खेलको इतिहास बारे कहिल्यै खोजेनौं । समय अनुुसार यसको नियम बनाएनौं । प्रचारप्रसार त टाढाको कुरा भयो । केवल चम्लाहा र रैंसका लठ्ठी काट्यौं । आगोमा सेकेर टुप्पो घुमायांै ।
काठको बियो बनाएर खाली खेतमा खेल्यौं । रमाइलो ग¥यांै । हामीलाई न इतिहास चाहियो । न त प्रतिस्पर्धा । हामीले फरक नाम पनि दिएनौं । न कुनै कप आयोजना गरिए नत क्लब गठन भए । जसको परिणाम आज त्यो खेल फेरी खोजी गर्नुपर्ने भयो । यो खेलको चर्चा गर्नु पूर्व गिर्या (गिरी) खेलसँग मिल्ने तर विश्व परिचित गल्फ, पोलो र हकी खेलका पृष्ठभूमिलाई केलाउने प्रयास गरिएको छ ।
गल्फ खेल
विश्वमा महङ्गो खेलका रुपामा परिचित गल्फ खेल हो । नेपालमा त्रिभुवन अन्तराष्टिय विमानस्थलको उत्तरीभागसँग जोडिएको सुन्दर रुखहरुसहितको जमिन छ । उक्त जमिन उचो, निचो छ । हरियो दुबो उमारिएको, पातला रुखहरु भएको, खोंचमा पानी जमेको, पारिपट्टी थुम्को परेको सानो झण्डा गाडेको समग्रमा एक पहाडी दृश्यलाई कलाकारले चित्र कोरेजस्तै सुन्दर दृश्य देखिन्छ । त्यो घाँसे भागलाई गल्फकोर्स भन्दा रहेछन् । अलिपर मसिनो गरी घाँस काटेको खुला ठाउँ पनि छ । बल हिर्काउने ठाँउ टि–बक्स हो । हिर्काउने लठ्ठी गल्फ क्लब हो । मसिनोगरी घाँस काटेको ठाँउ रफ हो ।
बल छिर्नेगरी बनाइएको प्वाल हाजार्ड हो । प्वालमा बल छिराएपछि स्कोर वा नम्बर मिल्छ । प्वालको वरिपरिको भागलाई पुटिङ भनिन्छ । नेपालमा यस्तो गल्फ कोर्स एकमात्र रहेको छ । गाउँघरमा सँधै यस्तै स्थानीय खेल खेल्नेहरुका लागि यो खेल सामान्य लागे पनि गल्फ खेल हेर्न सकिने त होला । सबैले खेल्न नसकिने र महङ्गो रहेछ । यस खेलको उत्पत्तिको इतिहास विवादित छ । सत्रौ शताब्दीको नजिक युरोपमा यस खेलको आविस्कार भएको मानिन्छ । कसैले यो खेल चीनबाट शुरु भएको मान्ने रहेछन् ।
हकी खेल
गल्फ जस्तै गरी टुप्पो घुमेको लठ्ठीले सानो बललाई हिर्काएर प्रतिस्पर्धिको पोस्टमा पास गर्ने खेल हकी हो । यसको इतिहास पनि विवादित छ । धेरैले दुईहजार वर्ष पहिले फारसमा यो खेल खेल्न थालियो र पछि यो खेल विश्वभरी फैलियो भन्ने भनाइ छ । ग्रीसमा यो खेल लोकप्रिय भएपछि ओलम्पिकमा समावेश भयो । भारतमा यसको प्रारम्भ १५० वर्ष अघि देखि भयो । यो खेललाई ब्रिटिश सेनाले युरोपबाट भारत भित्र्याए भन्ने इतिहासकारले उल्लेख गरेका छन् । आधुनिक युगमा हकीको पहिलो ओलम्पिक खेल वि.सं. १९६५ मा लण्डनमा खेलियो ।
फुटबल जस्तै मैदानमा खेलिने यो खेललाई दुई समूहका बीचमा खेलिन्छ । मैदानका दुई छेउमा हकी बल छिराउने पोस्ट बनाइएको हुन्छ । एसियामा पहिलोपटक भारतमा यो खेल खेल्न थालियो । विश्व ओलम्पिकको हकी खेलमा भारतले प्रसिद्ध हकी खेलाडी ध्यानचन्दको कप्तानीमा दुईओटा स्वर्ण जितेको इतिहास छ । मैदानमा खेलिने हकीबाहेक हिउँ र पानीमा पनि हकी खेल खेलिन्छ । मैदानमा खेलिने हकी खेल कर्णालीमा खेलिने पुरानो गिर्या (गिरी) खेलसँग मिल्ने खेल हो । नियमहरु बनाएर, मैदानको राम्रो व्यवस्था गरी एउटा प्रणाली विकास गरेर हकी खेल खेलिएको देखिन्छ ।
पोलो खेल
पोलो खेल पनि टुप्पो घुमेको लठ्ठीले बललाई हिर्काउने खेल हो । घोडाबाट जमीनमा खेलिने र हातीबाट जमीनमा खेलिने पोलो खेलहरु विश्वभरी चलन चल्तीमा छन् । पोलो खेलको इतिहास पुरानो छ । करिब दुईहजार वर्ष पहिले पर्सियन वा तुर्किसहरुले यसको सुरुआत गरेको मानिन्छ । तिब्बतबाट यो खेलको प्रारम्भ भएको मान्नेहरु पनि धेरै छन् । यो खेलले सन् १९४० मा विश्व ओलम्पिक खेलका रुपमा मान्यता पाएको हो । युद्धमा सैनिकहरुले खेल्ने खेलका रुपमा यो खेल चिनिए पनि पछि यो खेल सर्वसाधारणले पनि खेल्न थालेका हुन् । यो खेलका लागि फुटबल भन्दा सात गुना ठूलो खेल मैदान चाहिने भएकाले यो सबैको पहुँचमा नहुने खेल पनि हो । नेपालको चितवनमा बर्सेनि हातीपोलो खेल सञ्चालन गरिदै आएको देखिन्छ ।
कर्णालीको गि¥या अर्थात नाडी खेल
कर्णालीको परम्परागत लठ्ठीखेल मध्येको एक खेल गिर्या हो । यसलाई कतै नाडी खेल पनि भनिन्छ । यो खेल विशेषगरी फुर्सदिला केटाकेटीहरुले खेलेपनि यूवाहरुले पनि उत्तिकै रुचिपूर्वक खेल्ने खेल हो । सायद व्यवस्थित खेल मैदानको अभावका कारण यो खेल कार्तिक, मंसिरमा धान काटिसकेको सम्म खेतलाई मैदान बनाएर खेल्ने गरिन्छ । जंगलमा गएर रैंस वा चम्लाहा जस्ता चाम्रा र बलिया झाडीका लठ्ठी काटेर ल्याउने चलन छ । ती लठ्ठीहरुलाई आगोमा तताएर टुप्पो निहुराई डोरीले बााँधेर राखिन्छ । दुईदिन पछि डोरी काटेर बसिलो (बासो)ले लठ्ठीको निहुरेको भागको बीचबाट टुप्पो काटी निहुरेको लठ्ठी तयार हुन्छ । गिर्यालाई कतै गिरी पनि भनिन्छ ।
कसै कसैले यसलाई कलात्मक पनि बनाएका हुन्छन् । ओखर वा अन्य कुनै बलियो काठको सानोे गोलाकार बल बनाइन्छ । यसलाई स्थानीय भाषामा कतै बियो त कतै ठिणोँ पनि भनिन्छ । लामो र चौडाई धेरै भएको खेतलाई खेल मैदान बनाइन्छ । खेतलाई दुई भाग लगाएर बीचमा दुबैपक्षका समूह नेता लड्ने ठाँउ बनाइन्छ । खास नियम र पुरस्कारमा आयोजित खेल नभएकाले खेलाडीहरु दुई समूहमा बराबर गरी बाँडिन्छन् । संख्या बिजोर भए बचेको एकजना खेलाडीलाई पालोपालो दुवैतिर खेल्नेगरी व्यवस्था गरिन्छ । जसलाई साँढपाले भनिन्छ । गाउँका खेल हेर्न आएका बुज्रुकहरुले खेलमा विवाद आएमा रेफ्रीको काम गर्दछन् ।
समूहबाट छानिएका एक एक समूह नेताले बीच केन्द्रमा बियो (ठिणोँ) राखी आम्नेसाम्ने गिर्या समातेर उभिन्छन् । दुवै पक्षका सबै खेलाडी दुवैतिर छरिएर आम्नेसाम्ने उभिएपछि समूह नेताले दाँया बाँयातिरबाट लठ्ठी दुईहातले समातेर टाउको माथिबाट घुमाउछन् । यसरी घुमाउदा दुवैका लठ्ठी आपसमा ठोक्किएपछि जसले सक्यो उसले छिटो भन्दा छिटो गिर्याले विपक्षीतिर बियोलाई जोरले हिर्काउछ । आ–आफ्ना समूहले विपरित तिरका पोस्ट वा खेतको अन्तिम छेउबाट बियो छिराउने प्रयास गर्दछन् । जसले छेउपार लगाउछ उसको जीत हुन्छ ।
यसरी खेल्दैगर्दा गाउँमा जिउलो नै घन्किने गरी हान् हान् ! कटा कटा ! नछोड, यता हान्, उता हान् भन्ने हुटिङहरु निस्किन्छन् । समय हेरी तीन पटकसम्म यो खेल खेलिन्छ । जसले धेरैपटक सीमा कटाउछ उही विजयी समूह बन्छ । सुरक्षा सामग्री विना खेलिने भएकाले बियो र गिर्या लागेर कतिजना त घाइते हुन्छन् । तैपनि भोलिपल्ट फेरि खेल शुरु हुन्छ ।
जुम्ला जिल्लामा यो खेलका लागि धान काटेका ठूला खेत प्रयोग गरिन्छन् । यो परम्परादेखि खेलिदै आएको खेल हो । सिँजाका ९१ वर्षीय जेष्ठ सदस्य विर्खसिंह खत्री आफू ७÷८ वर्षको हुदा आफ्ना बुबाहरु यो खेल खेलेको सम्झिन्छन् । पछि आफूहरुले पनि यो खेल खेलेको बताउछन् । मनोरञ्जनका लागि खेलिने यो खेल सिँजा गाउँपालिकाको चुलेलगाउँ जिउलामा रहेको नराकोट गाउँका किसानको १८ भारी (करिब चारहजार वर्गमीटर )को डाब (समथर खेत) गिर्या खेलका लागि प्रख्यात थियो । टाढाबाट गाउँका युवाहरु गिर्या खेल्न त्यो डाबमा आउथे । पछि त्यो डाब भाइहरु बीच अंशवण्डामा आठ टुक्रामा विभाजन भएपछि यो खेल खेल्न छाडिएको छ । समयसँगै आएका फुटबल, भलिबल खेलहरु र यी खेलको क्षेत्र विस्तारका कारण गिर्या खेल विस्थापन भएको छ ।
अन्त्यमा
नेपालका स्थानीय खेलहरुमा डण्डीबियो र कपर्दी खेलहरु राष्टिय खेलमा समावेश छन् । हाती पोलो खेल बर्सेनि चितवनको सौराहामा आयोजना गरेर पर्यटकका बीच लोकप्रिय बन्दै गएको छ । स्वीस नागरिक डेविड लेभिनले नेपाल घुम्न आएका बेला बाघ चाल खेल देखेपछि सन् २००३ मा स्वीजरल्याण्डमा बाघचाल खेल आयोजना गरे । विश्व भरिका २०० जना खेलाडीले भाग लिएका यो खेलमा नेपालका रुपकेशरले यो खेल जिते र ब्रोन्ज टाइगर ट्र«फि हात पारेका थिए । नेपालका स्थानीय खेलहरुको अहिले पनि अध्ययन अनुसन्धान र समय अनुसार नियम र खेलमा आधुनिकीकरण गरी स्थानीय, प्रदेश र संघीयस्तरमा खेल खेलाएर प्रचारप्रसार गर्नु पर्ने देखिन्छ ।
कर्णालीमा पहिलेदेखि खेलिदै आएको र गल्फ र पोलोसँग केही मिल्ने तर हकी खेलसँग ठ्याक्कै मिल्ने कर्णालीको परम्परागत गिर्या खेलको अध्ययन, अनुसन्धान, व्यवस्थापन र प्रचार प्रसारको आवश्यक्ता अहिलेपनि उत्तिकै छ । समय अनुसार आयोजक, क्लब, खेलमैदान, व्यवस्थापन, पुरस्कार आदि कुनैपनि व्यवस्था नभएकाले कर्णालीका मौलिक र परम्परागत रमाइला खेलहरु लोप हुदै गएका छन् । विशेषगरी ती खेलमा पुनर्जागरण ल्याउन स्थानीय सरकार तथा अन्य सम्बन्धित सबै सरोकारवालाहरुले बेलैमा ध्यान दिनुपर्दछ । यी र यस्तै कर्णालीका परम्परागत लोकप्रिय खेलहरुको संरक्षण, सम्वद्र्धन र विकासका लागि सोच्न ढिलो भइसकेको छ ।