
२६ पुस २०८१, शुक्रबार
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कुरा नभई काम गरेर जवाफ दिनु उपयुक्त हुने बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश रंगशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले आसन्न चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम थालिएको बताउनुभयो । कुराले काम नहुने भन्दै काम गरेर नै परिणाम देखाउने गरी गत मंसिर २१ गते बसेको परिषद्को ११८औं बैठकले महत्वपूर्ण निर्णय गरेको उहाँले जनाउनुभयो ।
“पूर्वाधार निर्माणमा देशमै कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो,” उहाँले भन्नुभयो, “ नेपाली खेलकुदको ठूलो महोत्सव दशौं राष्ट्रिय खेलुकद प्रतियोगिता अब तोकिएको समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था नै छैन ।” सदस्य सचिव घिसिङले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रु.६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई समेत राहत हुने गरी काम गरिने उहाँको भनाई थियो ।
उहाँका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाईने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । कर्णाली प्रदेश सरकारले खेलकुद सञ्चालन गर्दा त्यसको व्यवस्थापन गर्नुपर्ने र हालसम्म सह्रानीय काम गरेको प्रति पनि उहाँले प्रशंसा गर्नुभयो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी अनुसार आफूहरु लागि परेको बताउनुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारीको अवधि सकिएको विषयमा मन्त्री घनश्याम भण्डारीले पुरानोलाई नै एकपटक म्याद थप्ने कानूनी व्यवस्था भएकोले पुरानै दोहोरिने वा फरक पात्र नियुक्ति के हुन्छ, जे भएपनि नयाँ भएर आउने अवस्था रहेको जनाउनुभयो । प्रदेश खेलकुद विकास परिषद्को पदाधिकारीहरुको पदावधि भने यही पुस ६ गते सकिएको छ ।