OnlinePana

आज : २०८२ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ३, २०८२
१३ पटक

३ भदौ २०८२, मंगलबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ ।

भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग बाणिज्य संघद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत सरसफाइ कार्यक्रम’मा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले वातावरणीय सरसफाईले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यसमा सबै सरोकारवालाहरुले आफ्नो अधिकारका मात्र कुरा नगरी कर्तव्य एवं दायित्व पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“आफ्नो घर अगाडिको घर आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनाहरुलाई समेत यसले खुशी बनाउँछ,” उहाँले भन्नुभयो, “सरसफाईले स्वस्थ जीवन त हुन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचानसमेत दिन्छ र बाह्य पाहुनाहरुलाई पनि आकर्षण गर्छ ।” सकेसम्म फोहरलाई मोहरमा बदल्ने गरी सिर्जनशील कार्य गर्न उद्योगी एवं व्यापार व्यवसायीहरुलाई अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले प्रकृतिमैत्री क्रियाकलापबाट मानव स्वास्थ्य स्वस्थ र स्वच्छ राख्न न्याय मिल्ने बताउनुभयो ।

भदौ ४ गतेको दिनलाई आजदेखि सरसफाई, सचेतना तथा व्यवस्था ल्याउन योगदान पुर्याउने सपुतहरुको सम्मान र उनीहरुले देखेको सपना पुरा गर्ने कार्यक्रम तीन दिनसम्म उत्सवका रुपमा मनाउन उहाँले प्रदेशवासीलाई अपिल गर्नुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्कालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्