OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ७, २०७८काठमाडौं
४९३ पटक

७ मंसिर २०७८, मंगलबार

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले सोमबार ‘लेकबेसी घोषणापत्र’ सार्वजनिक गरेको छ । सुर्खेत लेकबेसी नगरपालिकाको गमखोलामा मंसिर ४ गते सम्पन्न महासंघको तेस्रो पूर्ण बैठकबाट पारित आठ बुँदे घोषणापत्र जारी गरिएको हो ।

जारी घोषणा पत्रको पहिलो बुँदामा प्रदेशसभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी विधेयकलाई संविधानको परिकल्पना अनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी आवश्यक संशोधनसहित विधेयक पारित गर्न आह्वान गर्नुका साथै तत्काल आमसञ्चार प्रतिष्ठान स्थापना गर्न बैठकले प्रदेश सरकारसँग माग गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका जिल्लाका सञ्चार माध्यमहरुको दिगो सञ्चालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय संचार माध्यममा अनिवार्य प्रकाशन तथा प्रसारण गर्नेगरी आवश्यक कानून र नीति निर्माण गर्न बैठकमार्फत आह्वान गरिएको महासंघका अध्यक्ष ललित बसेलले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेश सरकारले संचालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन, श्रमजिवी पत्रकारका लागि संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग तथा पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराउन र छात्रवृत्ति स्थापना गर्न बैठकले स्थानीय तहहरुलाई आग्रह गरेको अध्यक्ष बसेलले बताउनुभयो । पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र आवद्ध भएका यस शाखाका सदस्यहरुलाई सदस्यता शुद्धीकरण (खारेज) गर्नुअघि नै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग्न बैठकले आह्वान गरेको महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले जानकारी दिनुभयो ।

कोरोना महामारीले सञ्चारगृह र पत्रकारमाथि पारेको प्रभाव तथा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे जिल्लास्थित सञ्चार माध्यमको अनुगमन गर्ने बैठकले निर्णय गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेशी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रवर्दनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई आग्रह गर्दै हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट–भेडाबारी सडकलाई तत्काल स्तरोन्नति गर्न यो बैठक सम्वद्ध सबैसँग आग्रह गरेको सचिव बुढाले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको तेस्रो पूर्ण बैठक पर्यटकीयस्थल लेकबेशी नगरपालिकाको गमखोलामा आयोजना गर्न संयोजन गर्ने लेकबेशी नगरपालिका र जनक मावि गमखोलालाई यो बैठक हार्दिक धन्यवादसमेत ज्ञापन गरेको छ । सुर्खेत शाखाका अध्यक्ष ललित बसेलको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्