

५ मंसिर २०७८, आईतबार
नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनका लागि विभिन्न जिल्लामा निर्वाचन भइरहेका छन् । त्यसैअन्तरगत कांग्रेस जुम्लाको निवार्चनका लागि सभापतिमा दिपबहादुर शाही र कर्णबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ ।
नेपाली कांग्रेस जुम्लाको सातौ जिल्ला अधिवेशनबाट सहमति जुट्न नसकेपछि पौडेल र संस्थापन पक्षबाट शाहीबन्धुले मंसिर ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनुभएको हो । हिमा गाउँपालिका ५ जुम्ला बुअगाउँ निवासी दिपबहादुर शाहीले पौडेल पक्ष र तातोपानी गाउँपालिका ८ जुम्ला डुँग्रीगाउँ निवासी कर्णबहादुर शाहीले संस्थापन (देउवा) पक्षबाट सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै पक्षले आ–आफ्ना प्यानल सार्वजनिक गरेर प्रचारप्रसार कार्यलाई तीव्र बनाएका छन् ।
पौडेल पक्षीय शाहीको नेतृत्वमा कार्मा बुढा र दिपक शाही उपाध्यक्ष, सचिवमा लक्ष्मणबहादुर शाही र अर्जुनसिंह कठायत, सहसचिवमा नन्दप्रसाद चौलागाई र धनेन्द्र बोहोराले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, देउवा पक्षीय शाहीको नेतृत्वमा उपाध्यक्षमा नन्दबहादुर बुढा र मक्कर हमाल, सचिववमा दानबहादुर बुढा र घनश्याम थापा, सहसचिवमा नवराज देवकोटा र धनबहादुर रावतले उम्मेदवारी सार्वजनिक गर्नुभएको छ ।
दुवै पक्षले मंसिर ६ गते सम्पन्न हुने निर्वाचनमा विजयी हुने दावी गर्नुभएको छ । पौडेल पक्षीय शाहीले जुम्ली काँग्रेसी ईतिहासमा आफू पूर्णकालीन भएर काम गरेको, नेता तथा कार्यकर्ताको विश्वास जितेको र तत्कालिन् जिल्ला सभापति मानव सेजुवालको देहवासनपछि कार्यवाहक सभापति हुँदै यसअघिको सभापतिको कार्यकाल सफल भएको आधारमा अबको सभापति सुनिश्चित विजय हुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “मुलुकको संघीय संरचनासँगै जुम्ला काँग्रेसलाई पहिलो पार्टी बनाउन, आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको ६० वडामध्ये ४० वडामा काँग्रेसलाई जिताउन, जुम्ला विकास गर्ने योग्य पात्रका रुपमा जुम्ली काँग्रेसीजनले मलाई मतदान गरेर सभापतिमा जिताउने छन् ।” शाहीले जुम्लाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी न्यायिक भएको प्रतिक्रिया दिनुभयो ।
देउवा पक्षीय शाहीले आफू हजारौं काँग्रेसीको भावनाको प्रतिनिधि, पालिका र प्रदेश क्षेत्रको चुनावको रणनीतिक प्रभाव, पार्टीभित्रको उर्जाशील जनशक्ति र पार्टी जीवनमा नविनता ल्याउने नेतृत्वप्रतिको विश्वास आफ्ना जित्ने आधार भएको प्रतिक्रिया दिँदै यही मंसिर ६ गते हुने निर्वाचनमा आफू सभापतिमा विजयी हुने जानकारी दिनुभयो ।
“जुम्ला काँग्रेसलाई मेरो पार्टी हो भन्ने वातावरण सृजना गर्न, पार्टीमा दुःख, त्याग गरेका सदस्यहरुलाई स्थानीय तहको नेतृत्वमा छनोट गर्न, भोलिको काँग्रेसलाई विधिवत सञ्चालन गर्ने नेतृत्व प्रदान, स्थानीय, प्रदेश र संघको चुनावलाई काँग्रेसमय बनाउन, एक नम्बर पार्टी निर्माणमा जोड दिन, पार्टी देखिएका छरपष्ट विचारलाई गोलबन्द र बहुमतको टिकट वितरण प्रणालीलाई विस्थापन गर्न, सर्वसम्मतको उम्मेदवारीमा जोड दिन जुम्ली काँग्रेस कार्यकर्ता तथा नेताले मलाई मतदान गर्नेछन् । यसमा विश्वस्त छु,” शाहीले भन्नुभयो ।
यसअघि पौडेल पक्षका शाहीले काँग्रेस जिल्ला कार्य समिति जुम्लाको सभापति र देउवा पक्षका शाही सचिव हुनुहुन्थ्यो । काँग्रेस जुम्लाका तत्कालीन् सभापति मानव सेजुवालले विसं.२०७० फागुन ४ गते अर्घाखाँचीको मसिने लेकमा भएको नेपाल वायु सेवा निगमको जहाँज दुर्घटनामा ज्यान गुमाएपछि पौडेल पक्षीय शाहीले केही समय कार्यवाहक सभापति र तत्कालीन् सचिव दयादत्त हमाल एमालेमा प्रवेश गरेपछि सहसचिवमा रहेका देउवा पक्षीय शाहीले कार्यवाहक सचिवका रुपमा काम गर्नुभएको थियो ।
मतदाताहरुलाई रिजाएर निर्वाचनको मतपरिणाम आफ्नो हातमा पार्न संस्थापन र पौडेल पक्षीय दुवैबीच रस्साकस्सी चलेको छ । जुम्ला काँग्रेसको यस पटकको निर्वाचनमा एक हजार १८ जना मतदाता रहेका छन् । उक्त निर्वाचनबाट ३६ पद जिल्ला कार्य समिति र २६ पद महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति जुम्लाले जनाएको छ ।