OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २४, २०७८सुर्खेत
७५९ पटक

२४ कार्तिक २०७८, बुधबार

प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले असोज ३१ देखि परेको अबिरल वर्षाका कारण कार्तिक २ गते जुम्लामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

पूर्वमन्त्री भण्डारीले कार्तिक २ गते भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा, हाँकु गाउँ, ७ र ८ नं.वडाको सर्मी, सुर्की, ताम्ती, बारागाउँ, बंतडी र टोप्लाको धानबाली, खेतीयोग्य जमीन, सडक, पुल, स्याउ बँगैचा, विद्युत गृह, खानेपानी, स्थानीय घट्टलगायतमा पुर्याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

जाजरकोट जोड्ने सडकको सीमा क्षेत्रसम्म स्थलगत अनुगमन गर्नुभएका मन्त्री भण्डारीले टोप्ला गाउँ अन्धकार भएकोले तत्काल जेनेरेटरको व्यवस्था गर्ने र अन्य गाउँहरुका लागि राष्ट्रिय प्रसारण लाईन जोड्न नेपाल विद्युत प्राधिकरणसँग पहल गर्ने जानकारी दिनुभयो । बाढीले पुगेको क्षतिको अवलोकन गर्नुका साथै विपद् प्रभावित नागरिकको अवस्था बुझिएको उहाँले बताउनुभयो ।

अवलोकनका क्रममा पूर्वमन्त्री भण्डारीले बाढी पीडितलाइ राहत उपलब्ध गराउनुको साथै दीर्घकालीन समस्या समाधानका लागि यसअघि नै कर्णाली प्रदेश सरकारलाई मागपत्रसहित ध्यानाकर्षण गरिएको जनाउनुभयो । सडक, विद्युत, घर, खेतीयोग्य जमीनको कटान, बालीनाली, विद्युत नष्ट भएकाले राहत तथा पुनःस्थापना र पुनः निर्माणको विशेष प्याकेज कार्यक्रम आवश्यक रहेको उहाँको भनाई थियो ।

विपद् पीडित तातोपानी गाउँपालिका ८ जुम्लाका धनबहादुर शाहीले आफ्नो दुःखमा अभिभावक बन्दिन जनप्रतिनिधि तथा सरकारलाई आग्रह गर्नुभएको थियो । यसअघि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर आधारभुत आवश्यकता पुरा गर्न मन्त्रालय मातहतका जिल्ला कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

थारमारे बेलोरी सडकको अनुगमन

त्यसैगरी, पूर्वमन्त्री भण्डारीले आजै तातोपानी गाउँपालिकाको रु.एक करोड, प्रदेश सरकारअन्तरगत आफ्नै सांसद विकास कोषको रु.४५ लाखमा निर्माणाधिन तातोपानी सिंजा गाउँपालिका जोड्ने थारमारे बिलौरी कृषि ग्रामीण सडकको समेत अनुगमन गर्नुभयो । उक्त सडक अनुगमनको क्रममा उहाँले तातोपानी र सिंजा जोड्ने थारमारे बेलौरी सडकले ऐतिहासिक, साँस्कृतिक, धार्मिकरुपले सम्पन्न दुवै गाउँपालिकाको दूरीमा कमी आउने बताउनुभयो ।

 

तातोपानी गाउँपालिका ५ लाम्रा श्रीनगर, बयालकाटिय गाउँ हुँदै मध्य सिंजाको जोडु भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण कार्य ४०० मिटर मात्र बाँकी रहेको उक्त गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेका अनुसार उक्त सडक निर्माण भएमा सिंजालीवासीलाई करिब २० किलोमिटर दूरी कम हुनेछ ।

प्रतिकृया दिनुहोस्