OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २, २०७८जुम्ला
१०४९ पटक

२ कार्तिक २०७८, मंगलबार

दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौंको क्षति भएको छ । बाढीले यहाँ आठ स्थानीय तहहरु मध्य तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

तिला गाउँपालिका ४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका वडा नं.४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा सबैभन्दा ठूलो क्षति भएको छ । क्षतिग्रस्त स्थल तिला गाउँपालिकाको ४ मा जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, प्रहरी नायब उपरीक्षक दानबहादुर थापासहित प्रहरी टोली पुगेर फर्केको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले कृषिको प्राविधिक टोली गरेको प्रारम्भिक सर्भे अनुसार क्षतिग्रस्त स्थानमा १८ हेक्टर (३६० रोपनी) धान बाली, १२ वटा स्याउ बगैंचामा पनि क्षेति पुगेको बताउनुभयो । धानबालीसहित विद्यालय, काठ चिर्ने, धान कुट्ने मिल, सडक, पूर्वाधारलगायतमा क्षति पुगेको उहाँले बताउनुभयो ।

“भारी वर्षाका कारण आएको बाढीले हिमा गाउँपालिका ६ बागबजारकी ३२ रत्ना शाहीलाई बेपत्ता बनाएको छ,” प्रजिअ प्रसाईले भन्नुभयो, “उहाँको खोजी कार्य जारी रहेको छ ।” उहाँका अनुसार बाढीले जिल्लाभरि के–कति क्षति भएको छ भन्ने पूर्ण विवरण ल्याउन क्षतिग्रस्त स्थलमा प्राविधिक टोली पठाईएको र यही ५ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले त्यसको सार्वजनिक गर्नेछ ।

यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले तिला ४ जुम्लामा बाढीले सबैभन्दा बढी १३ हेक्टर कालीमार्सी, पाँच हेक्टर उन्नत जातको धानमा क्षति पुगेको जानकारी दिनुभयो । “दुई घर बगेको छ भने तीन घर जोखिम छन्,” प्रमुख देवकोटाले भन्नुभयो, “तीनवटा सामुदायिक विद्यालय र तीन साना जल विद्युत आयोजना, कूलो, पावर हाउसमा क्षति पुगेको छ ।”

तिला गाउँपालिका ४ नुवाकोट गाउँका स्थानीय नयनबहादुर हमालले आफ्नो घरसहित चिरानी तथा कुटानी पिसानी मिल बगाएको बताउनुभयो । त्यस्तै, नुवोकोट लघुजलविद्युत आयोजनाका ६० थान विद्युतको पोल, भर्याङ, तारको क्वायललगायत आवश्यक सामग्रीसमेत बाढीले बगाएर लगेको हमालले जनाउनुभयो ।

तातोपानी गाउँपालिका ४ हाँकुमा छ काठेपुल, एउटा विद्यालय र एउटा त्रिवेणी मन्दिर बगाएको स्थानीय लोकेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार गिडी खोला किनारका रहेका धानका खेतीहरु बाढीले चिरेर लगेको छ । तिला गाउँपालिका ३ जुम्ला पहाडा लुम्सेराका स्थानीय विष्णुऋषि भट्टराईले करिब ५० हजार वर्गमिटर धानखेती बाढीले पुरिएको दुखेसो पोख्नुभयो ।

धान भण्डारण गर्ने तयारीमा रहेका यहाँका किसानहरु बाढीले सबै खेती विनास गर्दिए पछि अहिले पुर्पुरोमा हात लगाउनु परेको छ । बाढीले धान खेती नष्ट मात्र गरेको छैन उर्वर खेतहरु बगरमा परिणत गरिदिएको छ । तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले क्षतिग्रस्त क्षेत्रका प्रभावित नागरिकहरुलाई हाल खानेपानी व्यवस्थापन गर्ने तयारी थालिएको बताउनुभयो ।

के–कति क्षति भएको छ भनेर आजै स्थलगत अवलोकन गरिएको जनाउँदै अध्यक्ष योगीले गाउँ सरकारले बाढीबाट भएको क्षतिको एकिन विवरण संकलन गर्ने र तत्काल राहतका लागि काम अगाडि बढाउने जनाउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्