OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मनोज बुढाथोकी मगरभाद्र १२, २०७८काठमाडौं
२३०१ पटक

विषय प्रवेशः

विज्ञानको विकास नभएको युगमा असल कर्म गर्ने मानिसहरुलाई उसको मृत्यु उपरान्त देवत्वकरण गरी देवताको रुपमा स्थापित गरिदिने साथै त्यसैगरी कु–कर्म गर्ने र अकाल मृत्युवरण गरेकाहरूलाई भूत, पित्त र दैंत्य भनेर स्थापित गर्ने धार्मिक व्यवस्था भेटिन्छ । धार्मिक आस्थाको आधारमा समाजलाई सञ्चालन गरिने त्यो युग वा समयमा समाजको नेतृत्व गर्नेहरुले, आफु अनुकूल निश्चित स्वार्थ पूर्तिका लागि देवता र भूतको विकास गरिएको यथार्थलाई सर्मथन गर्दछु । त्यसैले नेपाली समाजमा ३३ कोटी देवता अर्थात् ३३ करोड देवता मान्ने (मनाउने) प्रथा प्रचलनमा रहेको पाइन्छ ।

यो लेखको उद्देश्य कसैको धार्मिक आस्थालाई ठेस पर्याउन वा आलोचना गर्नु नभई धार्मिक आस्थासँग जोडिएर रहेको समाज प्रतिको विश्लेषण हो । धर्मको वास्तविक महत्व, धर्मको दुरुपयोगद्वारा सामाजिक सोच, संस्कार र चिन्तनमा परेको नकारात्मक प्रभाव, धर्मको मूल अर्थलाई उजागर गर्ने प्रयत्न, मानव समाजको कल्याणकारी सोच र चेतनाको विकासमा धार्मिक परम्पराको भुमिका साथै बहुदेवताबादी परम्परा र संस्कृतिबाट कसरी वर्तमान समाज प्रभावित छ भन्ने विषयवस्तुमा रहेर यो लेख तयार गरिएको छ ।

धार्मिक आस्थाको बन्दीमा परेको मानसिकताः

सबै धर्मले ईश्वर एक मात्र छ भन्ने तर्क गर्दछन् ? त्यसो भए कुन र कसलाई ईश्वर मान्ने ? यस्तै प्रश्नको उत्तर खोज्दै जाँदा कर्णालीमा ३३ करोड ईश्वर भेटिन्छन् । ३३ करोड ईश्वर वा देवताप्रतिको चिन्तन र आस्था भेटिन्छ, यहाँ । त्यसैले, कर्णाली करोडौ आस्था र चिन्तनमा विभाजित छ । अझै रोचक कुरा त के छ भने, बहुसंख्यक मानिसहरु आफ्नो जीवनको प्रगति, सुरक्षा र रोग निवारणको प्रमुख विधि मूर्ति पूजा र धामी झाँक्री प्रथामा विश्वास राख्दछन् । त्यसप्रति विश्वास गर्ने प्रचलन कायमै छ वर्तमानमा । झन् त पढे लेखेका, सम्भ्रान्त र आफुलाई आधुनिक सम्झनेहरु बाटै अझै बढी मूर्ति पुजा र धामी झाँक्रीप्रति विश्वास राख्ने गरेको पाईन्छ ।

एउटा प्रश्नले सधै घच्घच्याई रहन्छ, नेपालकै पछौटेपन, अभाव र गरिबीको उपनामले परिचित कर्णाली, बहुदेवतावादी चिन्तनबाट परापूर्वकालदेखि नै बढी प्रभावित रहेको कुरामा दुईमत छैन । बहुदेवताहरु भएको यो भूगोलमा, सबै भन्दा उच्चतम मानसिक विकास, भौतिक विकास, आर्थिक विकास, र सामाजिक विकास भएको हुनुपथ्र्यो साथै यहाँको मानव जनशक्ति सर्वाेत्तम सोच र क्षमता बोकेको हुनुपथ्र्यो तर ठिक विपरित परनिर्भर र परजीवि, संकीर्ण र दास मानसिकता, जालझेल र छलकपट साथै हेर्दा चाउरो परेको, फाटो र दयाको पात्रका रुपमा यो भूगोल स्थापित छ, यो नै सत्य हो ।

मूलतः धेरै देवता भएको भूगोलमा सबै थोक देवताले पु¥याई दिनुपथ्र्यो । बिडम्वना ! यो समाज अभावै अभावमा बाच्न विवश छ । बहुदेवतावादी आस्थाका कारण समुदाय विविध समुह र विकृत सोचहरुमा विभाजन भएको पाइन्छ । गरिखाने जीवनलाई अनावश्यक भ्रमित पार्दै सत्यको नजिक कहिल्यै नपुग्ने मनोविज्ञानको प्रभाव यो प्रथाले पैदा गरेको छ । त्यसैले, बहुदेवतावादी सोच र चिन्तन नै मानसिक र भौतिक विकासका मूल बाधक बनेको साथै धार्मिक आस्थाको जेलले सम्भावना बोकेको मानसिक क्षमतालाई बन्धनमा पारेको मेरो निष्कर्ष छ ।

धर्मलाई आध्यात्मसँग जोडौः

विचार–दर्शन, विज्ञान र प्रविधिको विकास परापूर्वकालदेखि नै आफ्नै लय र आवश्यकता अनुसार प्रतिपादन हुँदै आएको छ । मानव सभ्यताको विकासक्रमलाई हेर्दा आजको युग विगतको योगदानको प्रतिफल हो भन्ने कुरालाई भुल्नु हुदैन । धर्मको विकास हुनुको मूल उद्देश्य आध्यात्मलाई जागृत गर्नु र मानव समाजलाई अनुशासनमा बाँध्नु थियो । बिडम्बना ! धर्मको अर्थलाई मन्दिरमा बनाईएको ढुङ्गाको मूर्ति ढोग्नु, ईश्वरको नाममा केही मागेर मगन्ते बन्नु, अझै भन्नु पर्दा आस्थाका नाममा धार्मिक संगठन निर्माण गरी अनैतिक गतिविधि बढाउनु, धर्म र जातिका नाममा साम्प्रदायिक युद्ध छेड्नु जस्ता अमानवीय गतिविधिहरु नेपाली समाजमा फैलिरहेको देख्न सकिन्छ ।

यसैगरी, नेपाली समाजले कमै बुझ्यो, धर्मको अर्थ ? धर्मको अर्थ भनेको असल कर्म गर्न मानिसहरुको एकता निर्माण गर्नु, मानवताबीच सद्भावका साथै सहयोगी भूमिका निर्वाह गर्नु ईत्यादि । सर्वप्रथम धर्मका माध्यमबाट आफुलाई बुझ्न सक्नु, सत्यको अन्वेषण गर्न सक्ने क्षमता राख्नु, प्रकृतिलाई माया गर्नु र संरक्षण गर्नका लागि, प्रतिपादन गरिएको यिनै सोचहरु धार्मिक दर्शन भित्र पर्दछ नकि मूर्ति पूजा गर्नु र आस्थाका नाममा मन्दिर धाउनु वा निर्माण गर्नु ? यस्तो अनुउत्पादक सोचकोे सट्टामा पुण्य कर्म गर्नु, दया, करुणा र प्रेमको भाव बुझ्नु साथै मानव समाजका लागि योगदान गर्नु जस्ता, भाव बुझ्न सके आफै भित्र देवता भेटिने छ भन्नु नै आध्यात्म हो ।

यतिमात्र होइन, हरेक मानिस भित्रै अमृत हुन्छ र अन्तिम सत्य भनेकै मृत्यु हो भन्ने मुल ज्ञानलाई आध्यात्मिक ज्ञान भनिन्छ । यसर्थः हरेक मानिस मर्नु निश्चित छ । मृत्युलाई टारेर टारिने विषय होइन ? त्यसैले आध्यात्मिक दर्शनले बाँचुञ्जेल मानिसलाई असल कर्म गर्न प्रेरित गर्दछ । आध्यात्म ज्ञानले मानिसहरुलाई कर्मयोगी बन्न सिकाउदछ । जसले यिनै सत्यलाई पछ्याउछ र कर्मयोगी बन्छ, तिनले न बिगतप्रति पश्चताप गर्दछन, न भविष्यप्रति चिन्ता गर्दछन् । यसको अर्थ कर्मयोगीहरु आफुलाई असल र सफल बनाउछन् नै । त्यसको साथै तिनले समाजलाई पनि असल र सफल बनाउने जिम्मेवारी बहन गर्दै समाजलाई प्रेरणा प्रदान गर्दछन् ।

वैदिक सनातन हिन्दु धर्म र खस सभ्यताको चर्चाः

नेपालको पुरानो सभ्यताहरु मध्य हिन्दु आर्य तथा खस सभ्यता र परम्परालाई मानिदै आएको छ । नेपालमा यिनै सभ्यताबाट जन्मिएका धर्मालम्बीहरुको बाहुल्यता रहेको छ । नेपाली समाजमा ८२ प्रतिशत मानव समाज हिन्दु धर्ममा आस्था राख्दछन् । वैदिक सनातन आर्य हिन्दु सभ्यता र खस सभ्यताबाट उत्पन्न भएको मष्टो परम्पराले सामाजिक र मानसिक विकासमा कस्तो प्रभाव पा¥यो ? यिनै सभ्यताबाट उत्पत्ति भएको धर्म कसरी दुरुपयोग भयो ? यसरी दुरुपयोग भएको धर्मले समाजमा कस्तो प्रभाव पार्यो ? धार्मिक परम्परा तथा संस्कृतिबाट समाजले के सिक्यो र वर्तमान मानव समाज कता जादैछ ? यस्ता धर्मको सवल र दुर्वल पक्षमा बहस गर्न आवश्यक देखिन्छ । धर्मको अपव्याख्या भएको छ । धर्मले समाजलाई पारेको नकारात्मक असरका बारेमा प्रकाश पारिने कोशिस गर्दै सनातन हिन्दु सभ्यता र खस सभ्यतालाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

खस सभ्यतामा मष्टो प्रथा (धर्म) र वर्तमान अवस्थाः

मिश्र सभ्यतालाई विश्वको प्राचीन र जेठो सभ्यता मानिन्छ । यो सभ्यताले आजको विश्वलाई धेरै ठूलो गुण लगाएको छ । समाज, राज्य, साम्राज्य र जातिहरु जस्ता अवधारणा यसै सभ्यताबाट विकास भएको भन्ने भेटिन्छ । यही सभ्यताले जातिहरुको बिकास गर्ने क्रममा प्राचीन बेविलोनियाको कक्साइट साम्राज्यको विकास भएको साथै कस वा कक्साइट प्राचीन खस जातिहरुको पुर्खा हो भन्ने तथ्यमा इतिहासकारहरुको मत भेटिन्छ ।

खस जातिहरु धेरै बलिया, लडाकु, बुद्धिमान, चतुर र विजयी स्वभावका रुपमा विख्यात हुनुका साथै यो घुमन्ते जाति भएको र घुम्दै नयॉ राज्यहरु विस्तार गर्दै, धेरै भू–भाग ओगटेको कथन छ । ईसापूर्वको प्रथम शताब्दीतिर भारत वर्षमा प्रवेश गरेका र पॉचौ शताब्दीमा कुमाउ गडवाल हुदै नेपालमा प्रवेश गरेको अनुमान छ । बाह्रौ‘ शताब्दीदेखि कर्णालीको खस सभ्यता र साम्राज्य निकै शक्तिशाली बनेको र यो सभ्यताले पछि लामो समय शासन गरेको भन्ने इतिहासले बोल्दछ ।

त्यस्तै, एक हजार आठ ताराग्रह मण्डलका अधिपति महादेवद्वारा स्वर्गको राजा इन्द्रको उत्पत्ति गरिएको र तिनै स्वर्गको राजा इन्द्रद्वारा धर्तीको शासन गर्न मष्टोदेवको उत्पत्ति भएको साथै यिनै मष्टोद्वारा सम्पुर्ण धर्तीमा राज्य सञ्चालन गरेको भन्ने अर्को थरिको धार्मिक मत छ । मष्टोलाई सृष्टिकर्ता, भूमिको आमा, पृथ्वी र जमिन मान्नेहरु पनि भेटिन्छ । खसहरुले मष्टोलाई इष्टदेवताको रुपमा पुज्दै आएका छन भने खसहरु प्रकृति पूजकका रुपमा चिनिन्छन् ।

खस सभ्यताको गहिरो अनुसन्धानको आवश्यकता छ । यस सभ्यताका धेरै तथ्यहरु भेटिदैनन् । कतिपय अवस्थामा मानिसद्वारा मानिसमा सम्प्रेषण गरिएका पुराना सूचनाका आधारमा बनेका कथाहरु, मौलिक गीतहरु र पुराना जीवनशैलीबाट केही भाव विश्लेषण गर्न सकिने अवस्थासम्म रहन्छ । तरपनि यसले गौरवशाली इतिहास बोकेको कुरामा दुईमत छैन । वैदिक धर्मले मान्यता दिएको धर्तीको प्रथम संविधान मनुस्मृतिका प्रतिपादक मनु यसै धर्तीमा जन्मिएका, बाह्रौ‘ शताव्दीबाट खस साम्राज्यले विश्वलाई नेतृत्व प्रदान गरेको इतिहास, अधिनस्थ साम्राज्यका रुपमा स्थापित भएको र लछाल कृति पैकलो जस्ता सृजनशील र साहसिक लडाकु सेना निर्माण गरेको ऐतिहासिक गौरव यस खस साम्राज्यमै भेटिन्छ ।

खस सभ्यतामा प्रकृति र मष्टोको अन्योन्याश्रित सम्बन्ध रहेको बुझिन्छ । जब प्रकृतिलाई आत्मासाथ गरिन्छ, तब प्रकृतिको रक्षा र विकासका लागि मष्टोको जन्म वा मष्टोद्वारा प्रकृति प्रति मानव समाजलाई प्रदान गरिएको ज्ञान र चेतनासँग खसहरुको अन्योन्याश्रित सम्बन्ध रहेकोमा तर्क गर्ने ठॉउहरु छन् । मष्टोद्वारा मानव समाजलाई प्रकृतिप्रतिको मूल चेतना र ज्ञानको सन्देशवाहक वा मूल गुरुको रुपमा बुझ्न सकिन्छ ।

मानव समाज प्रकृतिको उपज हो भन्नेमा सन्देह छैन ? जे–जति मानिसहरुले गतिविधि गर्दछन्, ती सबै राम्रा वा नराम्रा कर्महरु प्रकृतिकै गर्भमा गर्ने हुन् भन्ने मूलभाव खस सभ्यतामा देखिन्छ । खस सभ्यतामा केही राम्रा प्रकृति पक्षीय व्यवस्थाहरु भेटिएका छन । जस्तै आध्यात्मलाई जागृत गर्न प्रकृतिसंगत संगीतको विकास गरिएको पाइन्छ । मानव जीवनलाई सहज र सरल तुल्याउन सामुहिक कर्म विधिलाई अवलम्वन गरिएको भेटिन्छ । त्यस्तै, आयुर्वेदको महत्वलाई समाजमा स्थापित गरेको, सामाजिक एकता र सहकार्य जस्ता गतिला अभ्यासहरु यो सभ्यतामा विशेषताका रुपमा पाईन्छन् ।

यिनै सवल र महत्वपूर्ण सवालहरुलाई संस्कार र परम्पराको रुपमा विकास गर्दै लानुु पर्थ्यो तर यो सभ्यताको दुरुपयोग भएछ । पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट यो सभ्यता क्रमशः नष्ट हुदै गयो । यसरी सभ्यता मात्र होइन, परम्परा, संस्कार र ज्ञानको अन्त्य हुने क्रम निरन्तर लामो कालखण्डसम्म चलिरहयो । परिमाणतः समाज विकासको मूल लयबाट टाढा हुदै जाँदा पछिल्ला समयका कथित ठालुहरुले समाजमा धार्मिक शक्तिको दुरुपयोग गरी केवल राजनीतिक स्वार्थ पूर्ति गर्न देवता र भूतको निर्माण, धामी र झाँक्रीको नयॉ अवतारबाट अन्धविश्वास र अज्ञानतालाई बिजारोपण गरी सँधैभरिको लागि समाजको सृजनशील सोचलार्ई मृत्यु शैयामा सुतादिइएको पाइयो ।

यदि, मष्टो शिवका दैविक शक्तिको अंश र देवराज इन्दका पुत्र हुन भने, कालान्तरमा छुद्र, ढोङ्गी र हीन मानिसहरु आत्मिक कसरी बन्न पुगे ? त्यसैले यो धामी झाँक्री प्रथा नै विरोधाभासपूर्ण छ । परम्परा, आस्था र संस्कृतिका नाममा विज्ञानको महत्व नबुझेका कमजोर चेतनास्तर भएका र परनिर्भर मानिसहरुबाट नै बढी धामी झाँक्रीमा विश्वास राख्ने युगको विकास भयो । अन्ततः विशाल सभ्यताकै साम्राज्यको आकार ग्रहण गरेको यो सभ्यता केवल आयातित शैली र धामी झाँक्री जस्ता तुच्छ र सानो आकारमा सिमित हुन पुग्यो । विज्ञानको विकाससँगै धामी र झाँक्रीमा विश्वास गर्नेहरुको संख्यामा केही कमी त आएको छ । तरपनि अझै धामी र झाँक्रीको प्रयोगबाट राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाई, झनै नयॉ स्वरुपमा स्थापित भइरहेको देख्दा चिन्तित तुल्याउदछ । जुन कारण खस सभ्यता र मष्टो परम्पराको मूल ज्ञानबाट समाज ओझेलमा पर्दै गयो । यसरी स्थापित गरिएको धामी झाँक्रीप्रतिको आस्थाका नामबाट समाज भ्रमित भइरह्यो साथमा असल र जीवन उपयोगी परम्पराहरु र पद्धतिहरुको नष्ट भई सभ्यताका केही अवषेशहरु मात्र बाँकी रहने अवस्थासम्म यो भूगोल र समाज पुग्यो ।

वैदिक सनातन हिन्दु सभ्यतासँगै जन्मिएको बाहुनवादः

वैदिक सनातन आर्य सभ्यतालाई धर्तीको प्राचीनतम सम्पन्न सभ्यता र संस्कृतिका रुपमा मानिन्छ । यस सभ्यताले मानव समाजको विकासका लागि निकै महत्वपूर्ण योगदान गरेको छ । यसै सभ्यताबाट सनातन हिन्दु धर्मको प्रादुर्भाव भएको हो । वैदिक शास्त्रहरुको मत अनुसार शास्त्रलाई दुई भागमा विभाजन गरिएको छः श्रुति र स्मृति । श्रुति अन्तरगत वेद पर्दछ भने स्मृति अन्तरगत इतिहास, पुराणहरु, महाभारत, रामायण तथा विभिन्त स्मृतिहरु रहेका छन । ब्रम्हाको मानस पुत्र र धर्तीको प्रथम पुरुष मनुलाई ब्रहमाले प्रतिपादन गरेको वेद (जसलाई वैदिक ज्ञानको भण्डार भनिन्छ) द्वारा मानव समाजको ज्ञान र चेतना विस्तार गर्न प्रयोग गरिएको प्राचीनतम् मान्यता भेटिन्छ । वेदलाई प्राचीन लिखित दस्तावेजको रुपमा मान्यता दिइएको छ । वेद हिन्दुहरुको दर्शन र संविधानको रुपमा पुजिन्छ ।

वेदको अर्थ ज्ञान हो । यसरी आर्य सभ्यताले मानिस, समाज, प्रकृति र सम्पूर्ण ब्रहमाण्डलाई बुझ्न वेद नामको ज्ञान भण्डारलाई अनुसरण गर्दै विकास गरेको पाइन्छ । वेदले प्रकृतिका बारेमा व्याख्या गरेको छ । प्रकृति र मानव समाजबीचको अनन्त सम्बन्धका बारेमा वेदले महत्वपूर्ण ज्ञान व्यक्त गरेको पाइन्छ । जहॉ अग्नि, वायु, पानी, माटो, जीवजन्तु, विज्ञान, प्रविधि, आयुर्वेद, शुद्ध कृषि, यौगिक विज्ञान आदिसँगै शुद्ध मानव धर्मका बारेमा स्पष्ट जीवनोपयोगी भौतिक र आत्ध्यात्मिक ज्ञानका विषयमा स्पष्ट सन्देश दिएको छ ।

वर्तमान हिन्दु धर्मसँग आस्था राख्ने नेपाली समाज र समुदायहरुले सनातन वैदिक सभ्यताको सामान्य पनि ज्ञान राख्न नसकेको देखिन्छ । विश्वमा जे–जति सभ्यता र धर्महरु छन् तिनको अस्तित्व भनेकै मानव जीवनको उन्तति र प्रगतिसँग सम्बन्ध राख्दछ । यो वैदिक सभ्यतामा विकास भएको धर्ममा धेरै जीवनोपयोगी र संसारिक ज्ञानको सुन्दर पक्षसँगै आध्यात्मलाई जागृत गर्ने मुख्य मार्गहरुलाई महत्व दिएको छ ।

इतिहासको त्यो लामो कालखण्डदेखि सनातन हिन्दु धर्ममा बाहुनवादी चिन्तन हावी भएको तथ्यले पुष्टि गर्दछ । बाहुनवादको अर्थ व्यक्तिवाद र उच्चवर्गीय अहंकार तथा उच्च वर्णद्वारा तल्लो वर्णमाथिको शोषण र दमनका साथै भाग्यवादमा विश्वास गर्ने भन्ने बुझिन्छ । जसरी केही व्यक्तिवादी ब्राम्हण नेतृत्वहरुको कारण यो सनातन हिन्दु सभ्यतालाई तोडमोड गरी अपव्याख्या गरिएको छ । जसले समुल मानव समाज लामो समयदेखि भ्रमपूर्ण आस्थाका नाममा मानवीय अपराधको प्रत्यक्ष वा अप्रत्यक्ष हिस्सेदारी बन्न पुग्दछ ।

श्रुति र स्मृति दुवै शास्त्रहरुमा कहि कतै व्यक्तिवाद र उच्चवर्गीय अहंकार तथा उच्चवर्णले तल्लो वर्णमाथिको शोषण र दमनका साथै भाग्यवादमा विश्वास गर्नु भन्ने कतै लेखिएको छैन । यति मात्र होइन, बली प्रथा, मूर्ति पूजा, पितृभोक प्रथा, पुरोहित प्रथा, भाकल प्रथा र अकाल मृत्युवरण गरेकोहरुको आत्मा मुक्ति प्रचलन जस्ता ढोङ्गी संस्कारको विकासले आध्यात्मिक ज्ञान र अन्तिम सत्यबाट मानव जीवनलाई धेरै पर धकेल्दिएको छ ।

भनिन्छ, पुर्खाले विषवृक्ष रोप्दा आउने सन्ततिले पाउने भनेको कालकुट विष हो अमृत होईन । त्यसैले गायत्री मन्त्रलगायत अन्य मन्त्रहरु कानमा फुक्ने होइन, जीवनमा फुक्ने हो ? बाहुनवादलाई सुधार गरौ । यसको शुरुआत बाहुन जातिहरुबाटै गरौ र अन्य जातिहरुले सहयोग गरौ । मुख्य प्रश्न सबै धर्म र जातिहरुले मानव धर्ममा विकास गरौ ।

निष्कर्षः ‘कृष्ण कर्म हो, भगवान होइन’

महाभारत हिन्दु धर्मको पवित्र र महान् ग्रन्थभित्र पर्दछ । उदाहरणका लागि यसै ग्रन्थका मुख्य पात्र श्री कृष्णको परिभाषा र भूमिकालाइ निष्कर्षसँग जोड्दै छु । महाभारत कथाको ईतिहास पाँच हजार वर्ष पुरानो भन्ने छ । रचनाकार महाऋषि वेदव्यासद्वारा महाभारतको रचना गरिएको रहेछ । यस महाकाव्यमा धेरै पात्रहरूको परिकल्पना व्यासले गरेका छन् । जसमध्ये श्रीकृष्णलाई केन्द्रबिन्दुमा राखेर प्रस्तुत गर्न उपयुक्त हुनेछ ।

यस कथामा मानव समाजका विविध क्षेत्रहरू जस्तै सभ्यता, राजनीति, कुटनिति, र द्वन्द्व आदिसँगै दुराचार, व्यभिचार, अपराध र अराजकता जस्ता समाजमा विद्यमान राम्रा र नराम्रा सबै थोकको परिकल्पना गरिएको रहेछ । विशेषगरी ती विषय वस्तुतिरको विश्लेषण गरी, केवल श्रीकृष्णको परिभाषा र सन्देशका बारेमा मात्र संश्लेषण गर्न खोजेको छु । किनभने कृष्णलाई ईश्वरको रुपमा समाजले स्वीकार गरेको छ ।

पाँच हजार वर्ष पहिला वेदव्यासको यस रचनामा कृष्णलाइ जसरी प्रस्तुत गरियो । यो महाऋषि व्यासको सोच थियो । जुन कालान्तरमा समाज विकासका लागि यो परिकल्पना नै दृष्टिकोणको रुपमा मान्यता पायोे । महाभारतलाई बुझ्दा र अध्ययन गर्दा वेदव्यासको सोच र परिकल्पनामा जसरी कृष्णका बारेमा व्याख्या गरिएको छ । वास्तवमा समाजले कृष्णलाई मुख्य भावार्थबाट नबुझेको भान हुन्छ । श्रीकृष्णको परिभाषामाथि पुस्तान्तरित समाजले भ्रमित गरेको र सोही भ्रमका कारण प्रायः मानव समाजले मूल अर्थ बुझ्न नसकेको महसुस भयो । अर्थात् श्रीकृष्ण कुनै ईश्वर थिएनन् । अझै भन्नु पर्दा त्यो वेदव्यासको पाँच हजार वर्ष पहिलेको युगलाई वर्तमानले पढेको र सुनेको मात्र हो । देखेको होइन ? त्यसैले ईतिहास जित्नेहरुको लेखिन्छ ?

मूलतः श्रीकृष्णको परिभाषालाई सनातन हिन्दु धर्ममा आस्था राख्नेहरुले र आम मानव समाजले नितान्त अध्ययन र अनुसन्धान गर्न आवश्यक देखिन्छ । महाभारतको युद्धकालीन समयमा जब श्रीकृष्णले अर्जुनलाई भागवत गीता सुनाउदै गरेको कथन भेटिन्छ । त्यसैलाई विश्लेषण गर्दा कृष्ण शब्दको अर्थ नै कर्म भन्ने बुझिन्छ । किनकी भागवत गीतामा भनिएको कर्मयोग नै जीवनमा मोक्ष प्राप्तिको मूल सारतत्व भएको सत्य उजागर हुन्छ । अर्थात सत्य भनेकै कर्म हो नकि कुनै मानिस भगवान हुन्छ । भनिएको छः कृष्ण अनन्त छन, कहिल्यै मर्दैनन् । धर्तीको कण कणमा अस्तित्व छ । बिगतमा पनि अस्तित्व थियो, वर्तमानमा पनि अस्तित्व छ र भविष्यमा पनि अस्तित्व हुनेछ । जसले कृष्णलाई मान्दछ, पुज्दछ र भक्तिभावपूर्ण समर्पण गर्दछ । उ सधै प्रगतिको पथमा हुने छ भनि किटान गरिएको छ ।

के यो सत्य हो त ? सत्य भनेकै कर्म हो । कर्मको अस्तित्व हिजो पनि थियो । जहॉ हाम्रा पूर्वजहरुले कर्मकै माध्यमद्वारा आजको समाज निर्माणको आधार तयार गरे । आज हाम्रो पुस्ता पनि कर्म नै गरिरहेको छ, जुन भोलिको सन्ततिका निम्ति आधार बनाउदैछ र भविष्यमा आउने सन्ततिले पनि कर्म नै गर्नेछन् । यसको अर्थ धर्तीको कण–कणमा केवल कर्म मात्रको अस्तित्व छ भन्ने मूल सत्य भौतिक विज्ञानले पनि पुष्टि गरेको छ । भौतिक विज्ञानको सबैभन्दा ठूलो उपलब्धि भनेको क्वान्टम सिद्धान्तले भौतिक वस्तुको विकासको मूल कारण हरेक वस्तुहरुमा हुने सुक्ष्म तत्वहरुको गतिविधि र तिनले गर्ने प्राकृतिक कामबाट नै आजको यो युग हाम्रा अगाडि अस्तित्वमा रहेको भन्ने पुष्टि गर्दछ ।

त्यसैले, धार्मिक रुपमा विकास भएको महाभारतको मूल सन्देश कृष्ण पात्रका माध्यमबाट वेदव्यासले कर्म गर्नका लागि अध्यात्मलाई जागृत तुल्याउन गरिएको एक परिकल्पना नै मानव सभ्यता विकासको विचार र दृष्टिकोणको रुपमा पाँच हजार वर्षदेखि महाभारत नामको शास्त्र अस्तित्वमा छ । अर्थात् जसले असल कर्म गर्छ । ऊ मात्र सफल बनेको ईतिहास जताततै भेटिन्छ । धर्तीमा सबै वस्तु नाशवान छन् । केवल कर्म नै हो जो कहिल्यै नाश हुदैन । कृष्णको मूर्तिलाई पूजा गर्दैमा वा ढुङ्गाको मूर्तिमा भक्तिभाव राख्दैमा प्रगति हुने होइन, केवल कर्मयोगीहरुले आफ्नो असल कर्मद्वारा नै नयाँ र पृथक ईतिहास निर्माण गर्दछन् ।

अन्त्यमा, कृष्णको अर्थ कर्म हो भन्ने भावपूर्ण सन्देश यो समाजलाई दिन यो लेखलाई विशेष माध्यम बनाईएको हो । महाऋषि वेदव्यासको परिकल्पनालाई यही व्याख्याद्वारा समर्थन गर्दै सम्मान गर्दछु । यही अर्थमा कृष्णलाई मान्न आवस्यक देखिन्छ । सबै सम्प्रदायहरुले मूर्ति र ढुङ्गामा होईन असल कर्म र सृजनशील जीवनमा ईश्वर खोजौं । यही मर्मबाट ईश्वर भन्ने शब्दको परिभाषालाई समाजले कर्म भावबाट बुझ्न सके सुन्दर र प्रगतिशिल समाज निर्माणमा ठूलो टेवा पुग्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्