१९ असार २०७८, शनिबार
नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण ईयूलाई पठाएर बास्मती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको थियो ।
तर ईयूले केही दिनअघि ती प्रमाणबारे थप स्पष्ट पार्न नेपाललाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा नेपालले पठाएका आफ्ना प्रमाणबारे थप स्पष्ट पार्दै अन्य थप चारवटा प्रमाण ईयूलाई पठाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बास्मती धानको भौगोलिक सङ्केत अधिकार हाम्रो हो भनी ८० वटा प्रमाण पठाएका थियौँ । त्यसपछि भारतले पनि दाबी पेस गरेपछि ईयूले नेपालका प्रमाणबारे थप केही बुझ्न चाहेको भन्दै हामीलाई पत्र पठाएको थियो । हामीले ती प्रमाणलाई स्पष्ट बुझ्ने भाषामा बनाएर अन्य थप प्रमाण पनि पठाएका छौँ । ”
अबको एक महिनापछि त्यसको परिणाम आउने उहाँले बताउनुभयो । बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ नेपालको हो भनी आफूहरूले यथेष्ट प्रमाण दिएका कारण त्यसको अधिकार नेपालले प्राप्त गर्ने कुरामा आफूहरू ढुक्क रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक एवं बास्मती धानबारे अध्ययन गर्न बनेको समितिका संयोजक डा. बालकृष्ण जोशीले आफूहरूले धेरै प्रमाण पठाएका कारण ईयू अलमलमा परेकोजस्तो देखिएको बताउनुभयो । उहाँले अहिले तिनै प्रमाणलाई छोटोछोटो पारी बुझ्ने गरी पठाएको बताउनुभयो । ती प्रमाणहरूलाई थप सहयोग पुग्नेगरी अझै चारवटा प्रमाण पठाएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा पाउने नेपाली ब्रान्डका बास्मती चामलको ब्रान्डको फोटा, राजपत्रमा बास्मती धानबारे प्रकाशित सूचनाको प्रतिलिपि, ब्रिटिस सरकारले नेपाल–भारतका लागि बनाएको नक्सा र बास्मती धानको ट्रेडमार्क पठाएको उहाँले जानकारी दिनुभयो । सुरुमा भारत र पाकिस्तानले बास्मती धान आफ्नो देशको आधिकारिक हो भनी दाबी गरेपछि नेपालले पनि आफ्नो हो भनी दाबी गर्दै पत्र पठाएको थियो । त्यसपछि बास्मती धानको आधिकारिताका लागि तीन देशको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । यसरी बास्मती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई आआफ्नो प्रमाण पेस गर्न निर्देशन दिएको थियो ।
सो निर्देशनअनुसार तीनवटै देशले आआफ्ना देशबाट प्रमाणहरू जुटाइरहेका छन् । राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीको नेतृत्वमा बास्मती धानबारे अध्ययन गर्न समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाणहरू जुटाएर गत मङ्सिरमा ईयूलाई पठाएको थियो ।
सन् १९६० देखि नेपालमा रहेका प्रमाणबारे अध्ययन गरी ईयूलाई प्रतिवेदन बुझाएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । रुपन्देही, कपिलवस्तुको लुुम्बिनीमा गएर त्यहाँका किसानसँग पनि कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग कुराकानी गरिएको प्रमाण भिडियोसहित पेस गरिएको छ । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बास्मती धानबारे अध्ययन गरेर ईयूलाई पठाएको उहाँले बताउनुभयो ।
यसको उत्पादन भौगोलिक रूपमा तराई क्षेत्रमा भएको छ । विभिन्न प्रमाणले पनि त्यस्तो देखाएको छ । यहाँसम्म कि भारतले पनि आफ्नो प्रतिवेदनमा बास्मती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको नार्कले दाबी गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने नार्कका वैज्ञानिकले जनाएका छन् ।
बास्मती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएको छ भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बास्मती धानका जात रहेका छन् जसलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बास्माती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले बताउनुुभयो ।
नेपालको लोकल बास्मती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ । यो धानको उत्पत्ति केन्द्र तराई मधेस क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन, भारतलगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ । बास्मती धान र यसको जातका बारेमा विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, बुकलेटमा उल्लेख गरिएको छ, जुन अन्तर्राष्ट्रिय रूपमा पाइन्छ । सामुदायिक बीउ बैङ्कले बास्मती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् । नेपालका विभिन्न कम्पनीले बास्मती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन् ।
गोरखापत्र दैनिकबाट