OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बजेट अध्यादेशबाट ल्याउँदै कर्णाली सरकार

कोरपाटी संवाददाताआषाढ ३१, २०७८सुर्खेत
७१५ पटक

 ३० असार २०७८, बिहीबार

कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयले बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

मुख्यमन्त्री शाहीको सचिवालयबाट प्रदेशसभाको आठौं अधिवेशन अन्त्यको सिफारिस भई आएसँगै प्रदेश प्रमुख कलौनीले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम असार ३० गते राती १२ः०० बजेबाट लागु हुने गरी कर्णाली प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

मुख्यमन्त्री शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गत जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको थियो ।

बजेट अध्यादेशबाट ल्याउँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्यो तर त्यस यता बसेका कुनै पनि बैठकमा बजेटमाथि छलफल हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्न नदिएर अवरोध गर्दै आयो ।

एमालेको माग थियो जेठ २७ गते सर्वोच्चको आदेशबाट पुनर्बहाली भएका नेकपा एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही नेकपा एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम हुनुपर्ने र संसदीय मर्यादा अनुसार सदन चल्नुपर्ने । त्यस अनुसार नेकपा एमाले प्रदेशसभा दलले मुख्यमन्त्री शाही नेतृत्वको सरकारका रहेका मन्त्रीहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई सरकारबाट फिर्ता हुन निर्देशन दियो ।

प्रदेशसभा सदस्य प्रकाश ज्वाला एमाले प्रदेशसभा दलको बैठकमा उपस्थित भएपनि सरकार रहेका तीनै जना मन्त्रीहरु निर्देशन बमोजिम बुधबारसम्म फिर्ता भएनन् । उनीहरु फिर्ता नभएपछि असार ३० गते बसेको प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नपाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सदन चल्न सकेन ।

प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमाथि एक महिनामा एक दिनपनि छलफल हुन नसकेपछि अन्ततः मुख्यमन्त्रीको सिफारिसमा कर्णाली प्रदेश प्रमुखले आठौं अधिवेशन अन्त्य गर्नुभएको छ । सदनबाट बजेट आउन नसकेपछि अब अध्यादेशबाट बजेट ल्याईने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले राससलाई जानकारी दिनुभयो ।

“प्रदेश सरकारले अध्यादेशमार्फत आजै बजेट ल्याउँछ,” योजनामन्त्री शर्माले भन्नुभयो, “सदन अवरोधले बजेट यसरी ल्याउनुपर्ने भो । सरकारका लागि यो रहर नभई बाध्यता हो ।” सभामुख राजबहादुर शाहीले निर्णयार्थ पेश गरेको भए सदनबाटै बजेट पारित हुने अवस्था रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्