OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २८, २०७८
८४६ पटक

 

२८ असार २०७८ सोमबार

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जिल्लाका ४३ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । कार्यालयले पशुपालनमा गरेको प्रगतिका आधारमा ४३ किसानलाई रु १४ लाख २७ हजार ४०० पुरस्कार वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकारले उत्कृष्ट पशुपालन किसानलाई छनौट गरी पुरस्कार वितरण गर्ने नीति बमोजिम पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जिल्लाभरका उत्कृष्ट कृषकको अध्ययन अनुसन्धान गरी उत्कृष्ट कृषक घोषणा गरिएको छ ।

व्यावसायिक रुपमा पाँच भैँसी पालेका किसानलाई रु ५० हजार, न्यूनतम ५० बाख्रा पालेका, कुखुरापालन तर्फ स्थानीय जातका १५० कुखुरा पालेका किसानलाई प्रोत्साहन दिने भन्दै कार्यालयले सूचना प्रकाशन गरेको थियो । सूचना बमोजिम ७६ वटा निवेदन प्राप्त भएकामा पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत कुनै पनि कार्यक्रम नलगेका किसानलाई समितिले छनौट गरेर पुरस्कार वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भिमबहादुर विष्टले जानकारी दिनुभयो ।

निवेदन दिएका सबै किसानहरुको कार्यालयका कर्मचारीले समेत स्थलगत प्रतिवेदन तयार गरेपश्चात् निष्पक्ष रुपमा पुरस्कार वितरण गरिएको हो । व्यवासयिक बाख्रपालन २७ किसानलाई रु १० लाख ५० हजार, भैँसी पालक सात किसानलाई रु.दुई लाख १० हजार, कुखुरापालन आठ किसानालाई रु एकलाख ४६ हजार र टर्की पालेका एक जनालाई २१ हजार नगद पुरस्कार वितरण गरिएको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले झोलामा किसानको विवरण राख्ने र सरकारी अनुदान खाँदै आएका टाठाबाँठाको दिन सकिएको र वास्तविकरुपमा व्यावसायिक बन्न खोज्ने किसान पुरस्कृत भएको धारणा राख्दै पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखलाई धन्यवाद दिनुभयो । जिल्लाका स्थानीय सरकार र सबै सरकारी कार्यालयले यस्तै पारदर्शी काम गर्न सकेमा किसानको व्यवसायिकतामा वृद्धि हुने र जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने प्रमुख थापाको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्