OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १८, २०७८काठमाडौं
४४५ पटक

१८ बैशाख २०७८, शनिबार

आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समिकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाईएको संसद बैठकको नतिजा के होला ? भन्ने चासो बढेको छ । आँफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुलाई रोक्ने रस्साकस्सी छ ।

प्रदेशसभाको अहिलेको सांसद संख्याले पोखरेललाई विश्वासको मत लिन आँफू भित्रकै सांसदहरु चुनौती बन्न सक्ने देखिएको छ । पोखरेल आँफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरु भने फ्लोर क्रसको माहोल निर्माण गर्न माधव/झलनाथ समूहका सांसदहरुलाई फकाउन सकृय छन् ।

प्रदेशसभाको अंंकगणितलाई हेर्ने हो भने यो प्रदेशको सत्ता परिवर्तनको एक मात्रै बिकल्प भनेकै फ्लोर क्रस हो । एमाले भित्र फुलोर क्रस नभए वर्तमान सरकारले निरन्तरता पाउने छ । जसपाका चार सांसद निलम्बनमा परेपछि सत्ता समिकरणका लागि माधव/झलनाथ पक्षका सांसद निर्णायक मानिएका छन् । माओबादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सके पोखरेलले आँफूभित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चितनै छ । तर माधव/झलनाथ पक्षका सांसदहरुले कर्णालीमा फ्लोर क्रस गरेजस्तै यहाँ पनि गरेको खण्डमा मुख्यमन्त्री अल्पमतमा पर्ने छन् । एमाले स्रोतका अनुसार यो प्रदेशमा दुईजना सांसद माधव/झलनाथ पक्षका भनेर खुलिसकेका छन् । यो दुई मत क्रस भए मात्रै मुख्यमन्त्री पोखरेलको पद जोखिममा पर्ने छ ।

तर अहिले सम्म फ्लोर क्रस गर्ने वा नगर्ने भन्ने बारेमा माधव/झलनाथ समुहले कुनै तयारी गरिनसकेको माधव/झलनाथ समुहका एक केन्द्रीय सदस्यले जनाए । ‘फ्लोर क्रस गर्ने कि नगर्ने भनेर अहिले सम्म माननीय ज्यूहरुलाई केहि भनिएको छैन,’ ति केन्द्रीय सदस्यले भने ‘अब मतदानमा के हुन्छ ? भन्ने कुराले अर्थ राख्छ ।’ उनले सांसदहरु आँफैले स्वतन्त्रता पूर्वक आफ्नो मताधिकार प्रयोग गर्ने पनि जनाए ।

यता माधब/झलनाथ समूहका दुई सांसदको मत फ्लोर क्रस भए मात्रै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पास हुने छ । अविश्वास प्रस्तावका पक्षमा अहिले ३९ जना सांसद छन् । एमालेका दुई सांसदले अविश्वास प्रस्तावका पक्षमा मतदान गरे मुख्यमन्त्रीविरुद्धको मत ४१ अर्थात बहुमत पुग्ने छ । बिपक्षी दलहरु अहिले फ्लोर क्रसकै लबिङमा लागिरहेका छन् । ‘आआफ्नै तरिकाबाट फुलोर क्रसका लागि लबिङ भैरहेको छ,’माओबादी केन्द्रका एक सांसदले भने ‘फ्लोर क्रस मात्रै निर्विकल्प भएपछि हाम्रो पहलकदमी त्यता तर्फ भएको हो ।’

आईतबार देखि सुरु हुने संसदको अधिवेशनमा पहिलो दिन अविश्वास प्रस्ताव उपर छलफल हुने छ । सोमबार मुख्यमन्त्रीले सांसदहरुको जिज्ञासाको जवाफ दिएपछि अविश्वास प्रस्ताव उपरत मतदानको प्रकृया सुरु हुने छ । नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्