OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७६सुर्खेत
४९८ पटक

सुर्खेत, २८ साउन ः यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रा गाउँ जोड्ने पुल स्थानीयले आफ्नै श्रमदानमा निर्माण गरेका छन् ।
तातोपानी गाउँपालिका ४ र ५ वडाका स्थानीयले सयौं वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सृजना भएपछि हाँकु र लाम्रा गाउँका करिब पाँच हजार जनसंख्याको आवतजावत सुचारु गर्न तत्काल काठेपुल निर्माण गरिएको लाम्रा गाउँ निवासी स्थानीय हरिगोपाल चौलागाईले जानकारी दिनुभयो ।
बाढीले तीन दशक अघि निर्माण भएको काठेपुल बगाएको थियो । पुल बगाएपछि साविकको लाम्रा र हाँकु गाविसको सम्बन्ध टुटेको थियो । “पुल बग्यो, हाम्रो आवतजावतको दैनिकी बन्द भयो,” चौलागाईंले भन्नुभयो, “कसैसँगग माग्नु र भर पर्नु भन्दा हामी आफै गर्न सक्छौं भनेर दुवै गाउँबासी जुट्यौं ।” आखिर जोखिम मोलेर भएपनि दुवै गाउँबासीको सामुहिक प्रयासले पुल निर्माणगरी आवागमन सुचारु गरेरै छोडिएको उहाँले बताउनुभयो ।
तत्काल भू–संरक्षण तथा जलाधार कार्यालय जुम्लाले तटबन्धका लागि भनेर जाली सहयोग गरेको उहाँको भनाई थियो । यता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौंलागाईले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि काठको साँघु निर्माणका लागि भौतिक सहयोग गरेको बताउनुभयो ।
पैसाले मात्र विकास हुन्छ भन्ने कुरा भ्रम रहेछ भन्दै केन्द्रीय सदस्य चौलागाईले भन्नुभयो, “ईच्छाशक्ति र साझा प्रतिवद्धता अभ्यासमा उतार्दा जस्तो सुकै काम सजिलै हुन सक्दा रहेछन् भन्ने उदाहरण यो कामले देखाएको छ । यसले यहाँको समुदायको सान र स्वाभिमान दुवै उँचो बनाएको छ ।” उहाँका अनुसार स्थानीयले रु.छ लाख ४७ हजारको श्रमदान गरेका छन् ।
स्थानीय कमला कामीले पुल निर्माणले खुशी लागेको बताउनुभयो । कामीले भन्नुभयो, “पुल बगेपछि हामीलाई स्वास्थ्य उपचारलगायतका सरकारी सेवा र अन्य व्यक्तिगत काम लिन गाह्रो भएको थियो । आजबाट हाम्रो बन्द भएको सास खोलिएको छ ।”
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले यो सामुहिक कामले बिगतको ऐतिहासिक घटनाको याद दिलाएको बताउनुभयो । आफ्नो गाउँ समाज आफैले निर्माण गर्न सकिन्छ र गर्नेहरुले कसैबाट पाउने आशले मर्नुपर्दैन भन्ने देखिएको छ । अबको विकास पद्धति यही दिशाबाट अघि बढे विकास र समृद्धिको मन्त्र जप्न नपर्ने उहाको भनाई थियो ।

प्रतिकृया दिनुहोस्