OnlinePana

आज : २०८२ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १३, २०८२
७ पटक

१२ मंसिर २०८२, शुक्रबार

सुर्खेतः पूर्वानुमानमा आधारित एकीकृत सूचना प्रणाली लागि साझा सतर्कता प्रोटोकल कार्यान्वयन हुनुपर्ने बताइएको छ ।

नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग, विश्व मौसम संगठन र त्रिभुवन विश्वविद्यालय सेन्टर फर एप्लाईड रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनामा सुर्खेत वीरेन्द्रनगरमा आज सञ्चालित ‘साझा सतर्कता प्रोटोकलका लागि मापदण्ड सञ्चालन प्रक्रिया’ कार्यशालामा सबै सरोकारवालाहरुसँग उक्त प्रोटोकल कार्यान्वयनका बारेमा परामर्श भएको हो ।

उक्त कार्यशालामा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले पूर्वानुमान सूचना प्रणालीको भरपर्दो वितरणको माध्यम मिडिया नै भएको बताउनुभयो । “विपदबाट बच्न र जनधनको क्षति कम गर्नका लागि पूर्वतयारी र प्रतिकार्यमा सघाउने विश्वसनीय क्षेत्र सञ्चार माध्यम नै हो । यसमा सञ्चार माध्यमसहित सरोकारवाला निकायहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ,” प्रमुख सचिव यादवले भन्नुभयो ।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक बिक्रम श्रेष्ठले भूगोल र भाषा अनुसारको सूचना प्रवाह गर्दा बढी प्रभावकारी हुने बताउनुभयो । विभिन्न सञ्चारका कुरालई समग्रमा एकै ठाउँमा ल्याएर एउटै खालको एकीकृत सूचना जाओस् र प्रभावकारी होस् भन्ने हिसाबले विश्व मौसम संगठनले साझा सतर्कता प्रोटोकल (क्याप)को परिकल्पना गरेको बताउँदै उपमहानिर्देशक श्रेष्ठले यही क्षेत्रको व्यवस्थापनको पक्षमा निर्देशिका र कार्यविधि प्रयोगमा ल्याउने कार्यको विकास गर्न थालिएको जनाउनुभयो ।

कर्णाली प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव मोहनकुमार शाक्यले साझा सतर्कता प्रोटोकल मार्फत पूर्वसूचना र सावधानी अपनाउन सहयोग पुग्ने बताउनुभयो । लक्षित तथा प्रभावितसम्म सूचना पुर्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै सचिव शाक्यले नेपालको पूर्व चेतावनी प्रणाली अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मौसमजन्य विपद् विगत भन्दा यस वर्ष कम देखिनुमा पूर्वतयारी र समयमै सूचना प्रवाह भएको दावी गर्नुभयो । उहाँले हरेक विपद्का घटनामा सुरक्षा निकायको सक्रिय सहभागिता रहेको जनाउँदै विपद्जन्य घटनाको प्रतिकार्यका लागि पूर्वतयारी गर्न प्रदेश, जिल्ला र स्थानीय तहका आपत्कालीन कार्य सञ्चालन केन्द्रहरुको समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।

उक्त कार्यशालामा बरिष्ठ जलविद् बिनोद पराजुली र रोजन लामिछानेले ‘साझा सतर्कता प्रोटोकलका लागि मापदण्ड सञ्चालन प्रक्रिया’ कार्यान्वयन, प्राडा विष्णु पाण्डे र ईन्साफ अर्यालले नेपालमा दैनिक तथा घण्टामा हुने वर्षा, खतरा क्याटालगिङ, थ्रेसहोल्डका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा.ईन्दिरा कँडेलले सुर्खेत र दैलेखको सीमा क्षेत्र रातानाङलामा रहेको राडार अवस्था र यसले दिने सूचनाको कभरेजका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका सचिव, स्थानीय तह, नेपाल टेलिकम, एनसेल, रेडक्रस, सुरक्षा निकाय, सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिसहित सबै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्