OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहबैशाख १०, २०७८सुर्खेत
९३४ पटक

१० बैशाख २०७८ शुक्रबार

कर्णाली प्रदेशको मुख्यालय सुर्खेत वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ । मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै छ ।

सतही तवरले हेर्दा सामान्य लागेपनि वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका नागरिकहरुको सामाजिक, साँस्कृतिक, आर्थिक अवस्था निकै फरक छ । उक्त गाउँपालिकाको वडा न. ६ इखेनी गाउँको कथा अँझ बढी कारुणिक छ । त्यसमा बालबालिकाको जीवन कथा झनै पीडादायक छ । इखेनीको दृश्य र समस्याले मनकारीहरुलाई आकर्षण गरेपनि त्यसले राज्यको ध्यान अँझै खिच्न सकेको छैन ।

वीरेन्द्रनगरमा चिल्ला सडक, कंक्रिट र सिमेन्टले बनेका पक्की घर, शैक्षिक तथा आर्थिकरुपले सम्पन्न नागरिक जीवनशैली छ । तर त्यसैसँग जोडिएको बराहतालमा रहेको इखेनी गाउँ आज पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । खरकै छाना भएका माटाका घरहरु छन् । त्यहाँका नागरिकहरुले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमिमा अपमानित भएर मजदुरी गर्नुपर्ने विवशताबाट मुक्ति पाउन सकेका छैनन् ।

तत्कालीन् नेकपा विद्रोही माओवादीले सशस्त्र युद्धका बेला विसं.२०६० सालमा इखेनीमा दलित बस्ती बसालेका थिए । हाल ९३ घरधुरी रहेको उक्त बस्तीमा ४६५ जनसंख्या छ । उक्त गाउँमा सुनार, परियार, वादी लगायतका दलित जाति बस्छन् तर उनीहरुको हातमा जग्गाधनी पूर्जा छैन । गाउँमा प्रायः अभिभावकहरु बस्दैनन् । उनीहरु एकसरो कपडा फेर्न र केही कमाउन बर्सेनि कालापहाड धाउने गर्दछन् । कालापहाड जानु उनीहरुको दिनचर्या जस्तै छ ।

अँझ चाखलाग्दो कुरो के छ भने बाबाहरु त कालापहाड जान्थे नै । त्यसमा आमाहरु समेत कामका लागि कालपहाड नै जाने गरेको इखेनी जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पा रानाले जानकारी दिनुभयो । “उनीहरु नियमित घर बस्दैनन् । बाबा आमा नै घरमा नबस्ने स्थितिले बालबालिकाहरुको जीवन बढी सकसपूर्ण छ,” प्रधानाध्यापक रानाले भन्नुभयो ।

“अभिभावकविहिन बालबालिकाहरुलाई पढ्न र पढाउन कठिन छ । पोशाकका कुरै छोडौं, कापी कलम नै नभएपछि उनीहरु स्कुल जाउन् पनि कसरी ? यसले हामी शिक्षण गर्नेलाई पनि गाह्रो भएको छ,” प्रधानाध्यापक रानाले भन्नुभयो, “कति अभिभावकहरुले बालबालिकाहरु नै लिएर कालापहाड जान्छन् । नियमित पढ्न नपाउँदा मावि तहमा पुग्न नपाउँदै उनीहरुले पढाई छोड्छन् ।”

उहाँका अनुसार धेरै बालबालिका अभिभावकविहिन् छन् । मजदुरीका लागि कालापहाड जानैपर्ने बाध्यताले धेरैले लामो समय उतै बिताउँछन् भने कतिले त्यहीँ अकालमै ज्यान गुमाउँछन् । यो समस्या आजका दिनसम्म ज्यूँका त्यूँ छ र उनीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा कुनै फेरबदल नआएको प्रधानाध्यापक रानाको भनाई छ ।

‘भोको पेट भर्न बालबिबाह’

इखेनी गाउँ वीरेन्द्रनगरबाट करिब ५५ किलोमिटर दूरीमा अवस्थित छ । समथर भूमि भएकाले जमीन रामै्र छ तर सिंचाई र खानेपानीको चरम अभाव छ । सिंचाई नभएका कारण त्यहाँ बसोबास गर्ने स्थानीयले अपेक्षित उत्पादन गर्न सकेका छैनन् । आयआर्जनका त्यस्ता प्रभावकारी कार्यक्रमहरु पनि त्यहाँ सञ्चालन भएको पाईदैन ।

इखेनीको दलित बस्तीमा न कोही रोजगार छ नत खान पुग्ने उत्पादन हुन्छ । उत्पादनको कमीले त्यस समुदाय नागरिकहरु कालापहाड धाउन बाध्य हुन्छन् । पुरुषसहित अधिकांश महिलाहरु कालापहाड जान्छन् । तर घरमा बालबालिकाहरु मात्र रहन्छन् । अभिभावकविहिन उनीहरु राम्रोसँग खाना खान पाउँदैनन् । प्रायः बालिकाहरुले ‘भोको पेट भर्न बालबिबाह’ गरेको प्रधानाध्यापक रानाको भनाई छ ।

सुर्खेत पश्चिमका युवा नेता तथा समाजसेवी खड्ग बाँसपानीले गरिबीकै कारण बालबिबाह बढ्ने र ईखेनीमा बालबिबाहको बिकराल समस्या रहेको बताउनुभयो । “साविक कर्णालीमा घोडा, खच्चर, हवाईजहाज त चल्छन् तर सुर्खेत पश्चिममा यस्ता विकल्पहरु पनि छैनन्,” उहाँले भन्नुभयो, “यहाँका नागरिकहरुले घण्टौं हिड्नुपर्छ । सुर्खेतको पश्चिम क्षेत्र हुम्ला, डोल्पा भन्दा पनि अति दुर्गम छ ।”

उहाँले अगाडि भन्नुभयो, “नजिकमा भेरी नदी बगिरहेको छ । बिडम्बना ! यसको किनारमा रहेका बस्तीहरुमा खडेरी परिरहेको छ । नदीमा पानी बगिरहेको छ, बस्ती काकाकुल छ । भेरी नदीबाट लिफ्टिङ गरेर बाँझो भूमिमा सिंचाई गर्न असहज छैन । खानेपानीको व्यवस्था गर्न निकै गाह्रो छ जस्तो पनि लाग्दैन । तथापि नेतृत्वको कमजोरीका कारण जमीन बाँझो र रुखो हुँदै गएको छ । त्यहाँका नागरिकहरु कालापहाडको आर्जनले पालिन्छन् ।”

नेपालको संविधानले व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायतका मौलिक हकको ठाडो उलङ्घन भईरहँदा हिजोदेखिको कुनैपनि नेतृत्व, समाजसेवी अधिकारीवादीले इखेनीवासीहरुको अधिकारको निम्ति ठोस पहल नगरेको उहाँको टिप्पणी छ । मुलुक संघीयतामा गईसकेपछि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तीनै तहका सरकारहरुको पनि खासै चासो नदेखिएको उहाँको आरोप छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले इखेनी बस्तीका सबै परिवार भूमिहिन् अवस्थामा रहेको जनाउनुभयो । उहाँले सो बस्ती विकासको ठूलो चुनौति भनेकै सिंचाई भएको बताउनुभयो । “इखेनी गाउँका लागि अहिले रु.७० लाखमा हामी भेरी नदीको पानी लिफ्टिङ गर्दैछौ,” उहाँले भन्नुभयो, “अब एक डेढ महिनामा खानेपानी गाउँमा पुग्छ ।”

सिंचाई आयोजना पनि भेरी नदीबाटै सञ्चालन गर्ने तर त्यसका समय लाग्ने अध्यक्ष बस्नेतले जनाउनुभयो । उत्पादनको कमी भएका कारण कालपहाड धाउने नागरिकहरुको उक्त बस्तीमा सिंचाई पुर्याउन सके त्यहाँको जीवनस्तर नै बदलिने उहाँको भनाई छ । अध्यक्ष बस्नेतले भन्नुभयो, “सिंचाई पुग्ने बित्तिकै अहिलेको सम्पूर्ण बाँझो जमिन उपयोगमा आउँछ । उत्पादन वृद्धि भएर बस्ती आत्मनिर्भर बन्छ ।” यसका लागि सहयोग हातहरु आवश्यक रहेको उहाँले जनाउनुभयो ।

सो गाउँपालिकाका ६ नम्बर वडाध्यक्ष खगेन्द्रदेव गिरीले सिंचाईका साथै अशिक्षा, गरिबी र भोकको समस्याले हुने बालबिबाह मानवीय विकासका लागि सबै भन्दा ठूलो चुनौतिको सवाल भएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “बालबिबाह रोक्न जनचेतनाका कार्यक्रम अगाडि बढाईएको छ । यद्यपि बालबालिकाका अभिभावक नै मजदुरीका लागि भारत जान रोक्न नसकिनुले सञ्चालित योजना र कार्यक्रमले अपेक्षित लक्ष्य हाँसिल गर्न सकेको छैन ।”

उक्त गाउँमा एकल महिलालाई ऋण लिन र उधारो खाद्यान्न पाउन गाह्रो छ । उनीहरुलाई सहजै कसैले पत्याउँदैन । पौष्टिक खानाका कुरै छोडौं, सामान्य खाना पनि पर्याप्त नहुँदा आमा तथा बालबालिकाहरु कुपोषित रहेको वडाध्यक्ष गिरीको भनाई छ । उहाँका अनुसार इखेनीमा ‘एक घर एक धारा’को परियोजना निकट केही महिनामै सम्पन्न हुने गरी काम भईरहेको छ ।

चिया पकौडा बेचेर स्कुले नानीलाई सहयोग

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षक विद्यार्थीहरुले यो एक हप्तामा बराहताल गाउँपालिका ६ सुर्खेत इखेनीका स्कुले बालबालिकालाई चिया पकौडा बेचेर स्टेशनरी सामग्री सहयोग गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सामाजिक कार्य विभाग स्नातक तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले इखेनीस्थित जनजागरण आधारभूत विद्यालयमा अध्ययनरत १५० बालबालिकालाई स्टेशनरी सामग्री सहयोग गरेका छन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले फिल्ड कार्यका क्रममा चिया पकौडा बेचेर रु.२० हजार आम्दानी गरी ती स्कुले बालबालिकालाई सहयोग गरेका हुन् ।

शिक्षक विद्यार्थीहरुको पहलमा उनीहरुलाई रु.एक लाख बराबरको पोशाक, कपी र पेन्सिल सहयोग गरिएको विश्वविद्यालय सामाजिक कार्य विभागका प्रमुख खगेन्द्र अधिकारीले बताउनुभयो । “बालबालिकाहरुलाई पोशाक र स्टेशनरी सहयोग मात्र होइन,” उहाँले भन्नुभयो, “५२ बालबालिकालाई विश्वविद्यालयका विद्यार्थीहरुसँग सुर्खेत जिल्लाका विभिन्न प्राकृतिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पनि अवलोकन गराईएको छ ।”

विभागीय प्रमुख अधिकारीले अगाडि भन्नुभयो, “सामाजिक कार्य विभागले रु.एक लाख बराबरको स्टेशनरी र पोशाक त दिएको छ नै । उक्त बस्तीमा चरम समस्याका रुपमा देखिएको बालबिबाह रोक्न बाल क्लब पनि गठन गरेको छ । कुरीति र कुप्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न सामाजिक संघ÷संस्थाहरुको सहकार्य एवं समन्वयमा समुदायमा प्रयोग हुँदै गरेको घरेलु मदिरा पूर्णरुपमा बन्द गर्ने अभियानका साथै ‘नमूना बस्ती’ निर्माण गर्ने योजनामा सहयोग पुर्याएको छ ।”

विश्वविद्यालयको सहयोगले भने बालबालिकाहरुलाई विद्यालय जान उत्साह मिलेको छ । विभागले इखेनीका अति विपन्न बालबालिकाको पढाई लेखाई, ज्ञान आर्जन, समाज परिवर्तनका साथै सुर्खेत पश्चिमका लगाम, बेतान, बिजारौका महिलाहरुको पाठेघरमा रिङ राख्ने, सेनिटरी प्याड वितरणदेखि जटिल खालका बिरामीको उपचार शल्यक्रिया गर्न प्रदेश अस्पताल पुर्याउने कामसमेत गरिएको उहाँको भनाई छ ।

सामाजिक कार्य अध्ययनरत विद्यार्थी सुरेश खड्काले इखेनीका स्कुल बालबालिकाको दयनीय अवस्था बुझेर प्रभावित क्षेत्रमा पुगेको र एक साताको फिल्ड कार्यमा उनीहरुको कापी पेन्सिलका लागि सहयोग संकलन गरिएको बताउनुभयो । त्यस्तै, अर्का विद्यार्थी सृजना शाहीले भन्नुभयो, “फिल्ड कार्यले एकातिर सामाजिक सेवा गर्ने मौका मिलेको छ भने अर्कोतिर व्यवहारिक र प्रयोगात्मक ज्ञान प्राप्तिको सफल अभ्यास भयो ।”

जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक रानाले विश्वविद्यालय यहाँका अति विपन्न बालबालिकालाई कापी, पेन्सिल, पोशाकका साथै प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको अवलोकन भ्रमणमा विश्वविद्यालयले महत्वपूर्ण सहयोग पुर्याएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “धेरै बालबालिकाहरु वीरेन्द्रनगर नै देखेका थिएनन् । धार्मिक सम्पदा भनेर काक्रेबिहार देउती बज्यैको कुरा किताबमा पढाउँदा बालबालिकाले बुझ्दैनथे । यो भ्रमणले उनीहरुलाई धेरै सिकाएको छ ।”

उहाँले बालबालिका, अभिभावक, विद्यालय परिवारसमेतलाई सामाजिक कार्य विभागको टोलीले गुण लगाएको बताउनुभयो । पाँच कक्षासम्म सञ्चालित विद्यालयमा स्थायी शिक्षकको दरबन्दी नभएको जनाउँदै उहाँले भन्नुभयो, “म राहत दरबन्दीको शिक्षक हुँ । एकजना करार हुनुहुन्छ । ९६ बालबालिका छन् । शुरुमा वातावरण राम्रो नहुँदा यो स्कुलमा फसें भन्ने लाग्यो । कतिखेर बाहिर निस्कौं जस्तो भयो । अहिले सहयोगी हातहरुले निरन्तर अघि बढ्न उत्साह मिलेको छ ।”

कालापहाडमा दिन गुजारा गर्ने त्यस समुदायका महिलाहरु आयआर्जन गरेर आत्मनिर्भर बनोस् र बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले कर्णाली प्रदेश अस्पतालका बालरोग स्वास्थ्य विभागका प्रमुख डा.नवराज केसीले व्यक्तिगत प्रति परिवार ५० चल्ला पुग्ने त्यहाँका आमाहरुलाई कुखुरा वितरण गर्नुभएको छ । पछिल्लो समयमा आमाहरुलाई कुखुरा पालनसम्बन्धी डा.केसीले तालिम उपलब्ध गराउनुभएको उहाँले बताउनुभयो ।

मूलतः मुलुकको संघीयता इखेनीबासी जस्तैका लागि हो तरपनि इखेनी गाउँलाई संघीयताले छुन सकेको छैन । उनीहरुलाई राज्यको मूलप्रवाह ल्याउनु संघीय संरचनाको मूल उद्देश्य नै हो तथापि इखेनी जस्तै थुप्रै बस्तीहरु आजपनि विकासको छायाँमा छन् । ती बस्तीसम्म नजिकको सरकार पुग्नुपर्दछ । जनताले नजिकबाट सरकारको अभिभावकीय भूमिका पाउन र सेवा लिएको अनुभूति गर्न सक्ने वातावरण बन्नुपर्छ । अन्यथा नागरिकका लागि संघीयता ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !’ झै हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्