OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १०, २०७७काठमाडौं
१०७२ पटक

 

    वि.सं २०७७ मङ्सिर १० बुधबार

आर्यघाटमा सपनाको संसार

विश्वका प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री साना मारिन र कोभिड–१९ विरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको भ्याक्सिनको रिसर्च टोलीकी अगुवा सराह गिल्बर्टसँगै नेपालकी सपना रोकामगर पनि परेकी छिन् । बेवारिसे शवलाई दागबत्ती दिने र जलाउने कर्ममा सक्रिय यी १८ वर्षीया किशोरीको सपना पनि सरल छ ।

……

नेपालकी सपना रोकामगर २०२० को विश्वकै प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूचीमा परेकी छिन् । बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ ।

बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडए पनि छिन् । बिबिसीले प्रत्येक वर्ष विश्वको विभिन्न स्थानमा रहेको आफ्नो प्रसारण र तिनमा कार्यरत रिपोर्टरहरूको सहयोगको माध्यमले विश्वको प्रेरणादायी र प्रभावशाली एक सयजना महिलाको सूची तयार पार्ने गरेको छ । त्यही सूचीमा म्याग्दीकी १८ वर्षीया सपना पनि समेटिएकी हुन् । सपनाले आफू सय उत्कृष्ट महिलाभित्र पर्दा खुसी तथा गौरन्वावित भएको बिबिसीलाई बताएकी छिन् । उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् ।

कुनै समय आफैँलाई सहयोग गर्ने कोही नभेट्दा सडकमा पुगेकी सपना त्यही अनुभवले समाज सेवामा लाग्न प्रेरित गरेको सुनाउँछिन् । ‘विश्वभरि नै घरबारविहीन र त्यागिएका मान्छेहरू छन् । सडकमै मृत्युवरण गर्ने व्यक्तिहरू पनि अन्तिम संस्कारका लागि लायक त हुन्छन् नै,’ बिबिसीले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘म यो काम सामाजिक सेवाका लागि गरिरहेको छैन, मेरो मनको शान्तिका लागि गरिरहेकी छु ।’

केही समय लागुऔषध दुव्र्यसनीमा परेकी सपना त्यसको लतबाट छुटकारा पाउन पुनस्र्थापन केन्द्रसमेत गइन् । त्यहाँबाट फर्केपछि उनी तीन महिना घरविहीन भइन् । घरविहीन अवस्थामै उनी काठमाडौं आइन् । जीवनमा केही गर्नुपर्छ भावनाका साथ बेवारिस भएको शव व्यवस्थापनमा लागिन् । ‘एक सामान्य महिलाका लागि यो प्रेरणा हो,’ सपनाले बिबिसीलाई भनेकी छिन् ।

कोभिड–१९ को महामारी समयमा पनि सपना पशुपति क्षेत्रमा निकै व्यस्त भइन् । कोभिडबाट मृत्यु भएको शव व्यवस्थापन गर्न र दाहसंस्कारमा उनको सक्रियता थियो । ३५ दिनसम्म कुनै पनि शवको जिम्मेवारी कसैले लिन नआएको अवस्थामा सपनाले अग्रसरता लिई त्यो शवको व्यवस्थापन गर्ने गरेकी छिन् । उनलाई विनयजंग बस्नेतले सहयोग गर्दै आएका छन् । दाहसंस्कार मात्र होइन, उनी किरिया पनि बस्छिन् । बेवारिसे लासमा दागबत्ती दिँदा धेरैपटक गाली खाएको उनी बताउँछिन् ।

……

यति धेरै जिउँदा मान्छे भएको सहरको कुनै कुनामा वर्षौँदेखि कुहिएर बसेका शव छन् : सपना रोकामगर

बिबिसीजस्तो संसारको प्रतिष्ठित मिडियाले जारी गरेको ‘विश्वका एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूची’मा पर्नुभएको छ । फिनल्यान्डकी प्रधानमन्त्रीदेखि कोभिडको भ्याक्सिन पत्ता लागउने वैज्ञानिकको सूचीमा तपाईं १८ वर्षकी किशोरी पनि पर्नुभएको छ, यो उपलब्धि कसरी सम्भव भयो ? 

उपलब्धिको आफ्नै पृष्ठभूमि हुन्छ । पृष्ठभूमि गौरवपूर्ण हुन्छ भन्ने पनि छैन, पीडादायी पनि हुन्छ । तर, सुख वा दुःखलाई कसरी स्विकार्ने भन्ने विषय प्रमुख हो । करोडौँ निर्जीव ग्रहमा पृथ्वी एउटा उदाहरण हो । यत्रो ठूलो पृथ्वीको एउटा देशको एउटा सहरको एउटा टोलको एउटा घरभित्र बसेको मान्छेले संसारको सबै म हुँ भन्नु पनि हुँदैन । अनि आफैँले पाएको दुःख सबैभन्दा ठूलो हो भन्ने पनि ठान्नुहुँदैन । मान्छे सबैजना आ–आफ्नो संघर्षमा हुन्छन् र सबैलाई आफ्नो संघर्ष सबैभन्दा भयानक लाग्छ । तर, मान्छेको आत्मविश्वास सबैभन्दा महत्वपूर्ण हो । त्यो आत्मविश्वास आफ्ना लागि मात्र होइन, अरूका लागि पनि होस् । आफूले काम गर्दै गर्दा समाजप्रति कति उत्तरदायी छु भनेर सोच्नुपर्छ भन्ने लाग्छ । अहिलेको उपलब्धिले मेरो सोच झन् बलियो बनाइदिएको छ ।

तपाईंको उमेर त धेरै होइन, १८ वर्षको उमेरमा धेरै पाठ, अनुभव र उपलब्धि प्राप्त गर्नुभयो, यसको पृष्ठभूमि कसरी बन्यो ? 

हाम्रो परिवार खेती–किसानीमै आधारित छ । धान, कोदो मकैको खेती गर्ने र त्यसैका आधारमा जीवन चलाउने परिवार हो । सामान्य परिवार नै भए पनि म घरको कान्छी छोरी भएकीले मलाई अभाव भन्ने महसुस कहिल्यै भएन । म राम्रो पढ्ने विद्यार्थी थिएँ । यस्तो अवस्थामा सबैले राम्रो पढी भनेर प्रशंसा गर्दै गए, त्यसलाई मैले नियन्त्रण गर्न सकिनँ । कतिपय विषयलाई इगोको रूपमा लिएँ, कतिपय विषयमा उत्ताउली पनि भएँ । म आफैँले आफैँलाई भन्दा म बिग्रेकी थिएँ । अझ, एसएलसी दिएपछि पारिवारिक हिसाबमा दूरी निर्माण भयो । खासमा कलेज पढ्नका लागि म बेनी आएपछि मेरो जीवन कुबाटोमै लागेको थियो । भिडमा रमाउँदारमाउँदै एक्लिएको पत्तै पाइनँ । त्यो समयमा राम्रो सोच्दासोच्दै पनि, अरूका लागि राम्रो गर्दागर्दै पनि म दलदलमा फसेँ छु । म त सडककै जीवन बिताउने भइसकेकी रहेछु । मेरा कमी–कमजोरी नभएको भए त प्रश्नै हुने थिएन । तर, मेरो आत्माले भन्थ्यो– मैले अरूको कुभलो के गरेकी छु र ? आफ्नो जीवनलाई मात्र त दुःख दिएकी हुँ । तर, त्यसले आमा, बुबा र परिवारलाई कति दुःखी बनाएको छ, समाजलाई कति हानि गरेको छ भन्ने सोच्न सकिनँ । त्यो वेलामा समाजले कस्तो व्यवहार गर्छ ? त्यो महत्वपूर्ण हुने रहेछ । घृणा गर्दा घृणा मनमा पलाउने रहेछ, त्यसले झन् गलत बाटोमा लग्ने रहेछ । मैले आमा, बुबा र आफन्तलाई धेरै दुःख दिएँ । समाजलाई पनि दुःख दिएँ । तर, त्यस्तो वेला पनि आमाबुबाले माया मार्नुभएन । मैले यति सताउँदा पनि बाबुआमाले साथ दिन सक्छन्, म फर्केर आउने प्रेरणा यही हो । मान्छेले मान्छेलाई प्रेम र विश्वास गर्छ भने त्योभन्दा ठूलो शक्ति र प्रभाव केही हुँदैन, म एक उदाहरण हुँ ।

सडकमा पुगे पनि तपाईं छिट्टै उठ्नुभयो र आज दुनियाँका लागि प्रेरणाको स्रोत बन्नुभयो, उतारचढाव यति छिटो–छिटो कसरी विकास भयो ? 

खासमा सडकमै पुगेपछि मैले आफ्नो जिन्दगीसँग संघर्ष गरिरहेकी थिएँ । फर्कन पटकपटक कोसिस गरेकी थिएँ । तर, फेरि जिन्दगी सकियो, बाँचेर पनि कुनै सार छैन भन्ने टुंगोमा पनि पुगेँ । डोरी लिएर धेरैपटक आत्महत्याको कोसिस पनि गरेकी थिएँ । तर, आफैँले रोजेर स्विकार्ने मृत्यु त हार हो, जित्नु नै जीवन हो भन्ने भावना पनि मनमा आइरहन्थ्यो । मैले जिन्दगीलाई जिन्दगीको अर्थमा बाँच्न जानिनँ, जिन्दगीलाई जिन्दगीको तरिकाले जिउन जानिनँ, तर के भयो ? कोसिस गरिहेरुँ न, आफूलाई नै मौका दिऊँ भन्ने ठहर पनि भयो । त्यसका लागि परिवारबाट पाइने अलिकति माया र विश्वासको ठूलो अर्थ रहेछ । परिवारको साथ पाएपछि जिन्दगीलाई नयाँ तरिकाबाट जिउने कोसिस गर्छु भनेर अठोट लिएँ । म आफू त बाँच्छु, तर बाँच्ने आफ्ना लागि मात्र हो र ? यो प्रश्न पनि थियो । आफ्ना लागि त सबैजना बाँचिरहेका हुन्छन् । सानै उमेरमा पनि म आफ्ना लागि पर्याप्त बाँचेँ । अब समाजका लागि बाँच्छु भन्ने भावनाले अघि बढेकी छु, सबैको साथ र हौसला पाएकी छु । यो नै मेरो जीवनको सबैभन्दा ठूलो आधार हो ।

सामाजिक काम त गर्ने हो, तर बेवारिसे शव जलाउने, यो काममा त धेरैले ध्यानै दिएका थिएनन्, तपाईं कसरी जोडिनुभयो ? 

जिउँदो मान्छेको सेवा गर्ने धेरै हुनुहुन्छ । र, समाजसेवी पनि धेरै हुनुहुन्छ । तर, यत्तिका जिउँदा मान्छे भएको सहरको कुनै कुनामा वर्षौँदेखि कुहिएर बसेका शव छन् । यो सुन्दा र सोच्दा पनि अनौठो होइन र ? त्यसैले हामीले तिनको व्यवस्थापन गर्नुपर्छ । यसमा संस्था पनि छ हाम्रो एक्सन फर सोसियल चेन्ज र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र । यसरी यो कर्मलाई हामीले व्यवस्थित रूपमा गरिरहेका छौँ । अर्को कुरा, मैले सडकमै पनि धेरै समय बिताएँ । तर, जब मैले जिन्दगीलाई नयाँ तरिकाबाट बाँच्छु भन्ने अठोट गरेँ । म पनि विदेश जान्छु भनेर तयारी गरेकी थिएँ । सलिना दिदी पनि त्यही तयारीमा हुनुहुँदोरहेछ । अनि मेरो ‘एप्लिकेसन रिजेक्टेड’ भयो । तर, सलिना दिदीको ‘एसेप्ट’ भयो । अनि आफ्नो बुबा विनयजंग बस्नेतलाई चिनाइदिनुभयो । सलिना दिदी अहिले अस्ट्रेलियामा हुनुहुन्छ । मैले विनयजंग बुबालाई कर्मबुबा मानेकी छु । उहाँकै प्रेरणा र सहयोगले म यो नयाँ बाटोमा लागेकी हुँ । उहाँकै बाटोमा लागेर मैले पनि बेवारिसे लास जलाउने, दागबत्ती दिने गर्न थालेँ ।

तपाईंले गर्नुभएको सामाजिक काम अतुलनीय छ, तर अध्ययनलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच्नुभएको छ ? 

बीचमा ग्याप त भयो, तर धेरैले भनिरहनुभएको छ पढ्नुपर्छ भनेर । अब कामसँगै पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने लागेको छ । घरको आर्थिक अवस्था ठीकै मात्र छ । तर, विभिन्न प्रतिकूलताबीच पनि पढाइलाई अघि बढाउँछु । जतिले हौसला दिनुभएको छ र विश्वास गर्नुभएको छ, त्यसलाई गुम्न दिनेछैन ।

घाटसँगको यो सम्बन्धले तपाईंलाई कस्तो महसुस हुन्छ ? 

घाटसँगको सम्बन्ध हिजोको मेरो समयले जोडेको हो । हिजो मैले बेवारिसेसँग धेरै समय बिताएकी छु । कति समय उनीहरूसँगै भोकभोकै रात कटाएकी छु । अब यसो सम्झना हुन्छ, म पनि हिजो त्यो बाटोलाई नछोडेको भए या त्यो संगतमै रमाएको भए के थाहा, म पनि बेवोरिसे लासकै रूपमा घाटमा पुग्न के अनौठो थियो र ? बाटो बिराएका कारण होस् वा अन्य विपत्तिले एक्लिएकाहरूको पनि अन्त्येष्टिको अधिकार त छ नि ! त्यसैले मलाई यो कर्ममा धेरै आस्था पनि छ । मान्छेलाई मान्छेको अधिकार दिन हामी किन चुक्ने भन्ने लाग्छ । त्यही अनुभूतिले दागबत्ती दिने र घाटसँगको सम्बन्ध स्थापित भएको हो । त्यसैले यो कर्म गर्न पाएकोमा आफैँलाई एकदमै भाग्यमानी महसुस हुन्छ । तर, म यति भाग्यमानी छु कि हरेक समय बेवारिसे शवलाई दागबत्ती दिन पाइरहेकी छु ।

बेवारिसे शव जलाउने कामले यति ठूलो सामाजिक प्रभाव पार्छजस्तो लागेको थियो कि थिएन ? 

भविष्यमा पनि राम्रो नाम होला भनेर यो काममा पाइला राखेको होइन । मैले त हिजो आफैँले भोगेको, महसुस गरेको जीवनलाई अब रचनात्मक बनाउनुपर्छ भनेर लागेकी हुँ । आफूले जे गर्दा खुसी हुने हो, त्यही नै गर्ने हो । लोभ र लालचले काम गर्ने होइन । जिन्दगीसँग हारेका मान्छेलाई हौसला दिने कुरा कति ठूलो रहेछ भन्ने ज्ञान यो सम्मानले दिएको छ ।

तपाईंले गर्नुभएको काम असाधारण हो, तर यसका लागि सबैले स्वाबासी दिन्छन् भन्ने पनि होइन । अप्ठ्यारो प्रतिक्रियालाई कसरी सामना गर्दै आउनुभएको छ ? 

कसैेकसैले होच्याउँछन् नि । धेरैले निरुत्साहित गर्न पनि खोजे । तर, उनीहरूलाई म धन्यवाद दिन चाहन्छु । किनभने मान्छेको स्वभाव फरक हुन्छ भन्ने सिक्न पनि पाएँ नि मैले । हिजो सडकमा बस्दा पनि मलाई नराम्रो भन्ने, आज सडकमा भएका मान्छेलाई उसको अन्तिम अधिकार दिने काम गर्दा पनि हेय भावनाले हेर्ने । त्यसैले भिडले के भन्छ भन्ने विषयमा धेरै सोच्नुहुन्न भन्ने लाग्छ मलाई । अर्को विषय, कतिपय मान्छेले पत्याउँदैनन् पनि । हिजो नराम्रो प्रतिक्रिया दिनेले अहिले भने बल दिन्छन् । कतिपय त म्यासेज गरेर भन्नुहुन्छ, ‘मैले आत्महत्या गर्न डोरी लिएर बसेको थिएँ, तपाईंको भिडियो हेरेसँगै मैले आफूलाई परिवर्तन गरेँ ।’ त्यसले चाहिँ अत्यधिक सन्तोष दिन्छ । हिजो तेरो जिन्दगी सकियो भन्ने मान्छेहरू पनि थिए । तर, ती सबै कुरालाई चिरेर अगाडि बढिसकेकी छु । अब कसैले रोक्न सक्दैन ।

……

बिबिसीको ‘प्रभावशाली र प्रेरणादायी महिलाको सूची’मा परेका महिलाहरू

 

साना मारिन, प्रधानमन्त्री (फिनल्यान्ड)
फिनल्यान्डकी प्रधानमन्त्री साना मारिनले महिला मात्रै मन्त्री रहेको संयुक्त सरकारको नेतृत्व गरिरहेकी छिन् ।

सराह गिल्बर्ट (बेलायत) 
कोभिड– १९ विरुद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको भ्याक्सिनको रिसर्च टोलीको नेतृत्व सराहले गरेकी छिन् । उनी पनि सूचीमा छिन् ।

माहिरा खान, अभिनेत्री (पाकिस्तान)
पाकिस्तानी टेलिभिजन र सिनेमाका माध्यमबाट महिलामाथि हुने हिंसा र जातीयताको विरोध गर्दै आएकी माहिरा संयुक्त राष्ट्रसंघको शरणार्थी सद्भाव दूत पनि हुन् ।

रिना अख्तर, पूर्वयौनकर्मी (बंगलादेश)
कोरोना महामारी सुरु भएदेखि ढाकाका चार सय यौनकर्मीलाई रिना र उनको समूहले दैनिक खाना खुवाउँदै आएको छ ।

विल्किस वानो (भारत) 
भारत सरकारले नागरिकतासम्बन्धी कानुन जारी गर्दा ८२ वर्षकी विल्किस वानोले सडकमा चर्को स्वरमा विरोध जनाइन् । साहिन बाघमा उनको अनुहार कसैले पनि भुलेका छैनन् । भारतीय पत्रकारले विल्किसलाई सिमान्तकृत आवाजकी महिला भन्ने गरेका छन् ।

सामया फरुकी (अफगानिस्तान) 
अफगानिस्तानको हेरात प्रान्तमा पहिलो कोभिड– १९ को केस आउँदा सामया नेतृत्वको टोलीले थोरै खर्चमा उपचार गरेको थियो । उनीहरूले सस्तोमै भेन्टिलेटरबाट उपचार गर्न सकिने प्रस्ताव सरकारसमक्ष राखेका थिए ।

क्लाउडिया लोपेज (कोलम्बिया)
कोलम्बियाको बोगोटा सहरकै पहिलो महिला मेयर हुन् क्लाउडिया । ग्रिन पार्टीकी मेयर हुँदा उनले ११.६ मिलियन मत पाएकी थिइन् । यो कोलम्बियाको इतिहासमै एक उम्मेदवारले प्राप्त गरेको सबैभन्दा धेरै मत हो ।

इथेल्रेडा नाकिमुली म्पुन्गु (युगान्डा)
डा. एथेल्रेडा युगान्डाको माकेरेरे विश्वविद्यालयमा कार्यरत छिन् । उनी मेन्टल हेल्थसम्बन्धी एक्सपर्ट हुन् ।

सिन्डी बिसोप (थाइल्यान्ड) 
मोडल तथा टेलिभिजन होस्ट सिन्डी युएन महिलाअन्तर्गत एसिया प्यासिफिक क्षेत्रकी सद्भाव दूत पनि हुन् । महिलाविरुद्धको हिंसा अन्त्यको कार्यक्रममा उनी अगाडि छिन् ।

नाओमी डिक्सन (बेलायत)
बेलायतकी नाओमीले आफ्नो जीवन नै यहुदी महिला तथा उनीहरूका बालबच्चाविरुद्ध हुने अन्यायविरुद्ध खर्चिएकी छिन् । यहुदी महिला शिक्षित हुनुपर्ने भन्दै उनले अभियानमा चलाइरहेकी छिन् ।

अमेरिकी कलाकार तथा वातावरणसम्बन्धी अभियन्ता जोन फोन्डादेखि इथियोपियाकी महिला फुटबल खेलाडी लोजा अबेरा जिइनोर र मोरोक्कोकी ¥यापर होउदा अबोइज पनि सूचीमा समेटिएका छन् । अबोइजले आफ्नो क्षेत्रबाट महिला अधिकार र समानताको पक्षमा वकालत गरेकी छिन् ।

त्यस्तै, बेलायतकी नर्स एलिजाबेथ एनिवन्वु, जर्मनीकी इन्जिनियर इरिका बेकर, अर्जेन्टिनाकी फुटबल प्रशिक्षक इभेलिना क्याब्रेरा पनि सूचीमा छन् । २७ वर्षकै उमेरमा अर्जेन्टिनामा महिला फुटबल संघ स्थापना गरेकी इभेलिनाले दृष्टिविहीन र जेलमा रहेका महिलालाई समेत फुटबल सिकाएकी थिइन् । विश्वको सय महिलाको सूचीमा अमेरिकाकी वैज्ञानिक लउरेन गार्डनर, चिनियाँ लेखिका फाङ फाङ, तान्जानियाकी कानुन व्यवसायी रेबेक्का ग्युमी पनि समेटिएका छन् । त्यस्तै, अशक्तहरूको पक्षमा काम गर्दै आइरहेका अमेरिकी एलिस वोङ र बेलायतकी सानी धन्दा पनि सूचीमा छिन् ।

२०१० मा ओस्कार अवार्ड जितेको फिल्म ‘अवतार’की कलाकार मलेसियाकी मिचेली इयोन पनि सूचीमा छिन् । प्रेरणादायी महिलाको सूचीमा नौ वर्षीया भारतीय बालिका रिदिमा पाण्डे पनि परेकी छिन् । उनी वातावरण अभियन्ता हुन् । भावी पुस्ताका लागि वातावरण बचाउनुपर्ने भन्दै अभियान चलाउँदै आएकी रिदिमा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर विद्यार्थीको उत्प्रेरक पनि बनेकी छिन् ।

प्रतिकृया दिनुहोस्