OnlinePana

आज : २०८२ साउन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १३, २०८२
५९ पटक

१३ असार २०८२, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पुरातात्विक साँस्कृति तथा ऐतिहासिक महत्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सुर्खेतद्वारा आयोजित ’काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “काँक्रेविहारलाई लुम्बिनीसँग पर्यटकीय रुपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ ।”

काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यसलाई प्रभावकारी ढंगले प्रचारप्रसार गर्न सके समग्र कर्णाली प्रदेशको आर्थिक स्वरुप परिवर्तन गर्न सक्ने मुख्यमन्त्री कँडेललको भनाई थियो । काँक्रेविहारलाई खुला चिडियाखानाका रुपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावना खुल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना आवश्यक छ,” उहाँले भन्नुभयो, “प्रचुर सम्भावना बोकेको काँक्रेविहारको विषयमा ठोस पहल गर्न हामी सबै एक हुनुपर्छ । अब सबै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्र मिलेर काँक्रेविहारको पहिचान विस्तार गर्ने बेला आएको छ ।”

मुख्यमन्त्री कँडलले स्थानीय युवालाई काँक्रेविहारको सम्वद्र्धनमा सहभागी भइ आफ्नै क्षेत्रमा उद्यमशीलताको अवसर खोज्न पनि अपिल गर्नुभयो । पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हिन्दू र बौद्ध संस्कृतिको सङ्गम मानिने काक्रेविहारको संरक्षण र विकासले कर्णालीको आर्थिक वृद्धि र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो । भाषा, संस्कृति, कला, साहित्य, सभ्यता, पुरातत्व र इतिहासमा गर्विलो पहिचान राखेको कर्णाली आन्तरिक तथा बाह्य पर्यटकका लागि मुलुककै आकर्षक गन्तव्य बन्ने उहाँको भनाई थियो ।

काँक्रेविहारमा धार्मिक, साँस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वबारे ‘पर्यटन महोत्सव तथा विद्यार्थी सम्मेलन’ गरिएको थियो । उक्त महोत्वसमा डा.राजाराम सुवेदीले प्राचीन बौद्ध विहारका रुपमा परिचित काक्रेविहारको साँस्कृतिक, पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसमा प्राध्यापक पदमलाल देवकोटा, डाक्टरद्वय कृष्णचन्द्र शर्मा र महेन्द्र मल्लले टिप्पणी गर्नुभयो ।

विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान गर्नुभएका महत्वपूर्ण व्यक्तित्वहरुको सम्मानका साथै विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी र स्थानीय थारु, भोटेसहित अन्य आदिवासी समुदायहरुको समृद्ध साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्