OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७७ सुर्खेत
४९७ पटक

सुर्खेत, १२ जेठ २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले कर्णाली प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि ‘कोभिड–१९’ नियन्त्रण र खाद्य संकट समाधानमा केन्द्रित बजेट ल्याउन सुझाव दिएका छन् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले आगामी आव.२०७७÷०७८ को बजेट तथा कार्यक्रममा कोरोना रोग र संभावित भोक समाधान गर्ने बजेट प्रदेश सरकारले निर्माण गर्नुपर्नेमा जोड दिएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिनुभयो । बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महिनाको तलब जम्मा गर्ने निर्णय भएको सचेतक नेपालीले बताउनुभयो ।

उहाँका अनुसार संसदीय दलको बैठकका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ः०० बजेदेखि शुरु हुने प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मूलभूतपक्षहरु प्रस्तुत हुनेबारेमा जानकारी दिनुभएको थियो । त्यस्तै, बैठकले कर्णाली प्रदेशसभा सदस्य करबीर शाहीको ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धान्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

संसदीय दलको उक्त बैठकले नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारले प्रभावकारी कदम चालिरहेकोमा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायतलाई धन्यवाद दिने निर्णय गरिएको सचेतक नेपालीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्