
१५ साउन २०८३, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले भ्रामक सूचना र उत्तेजक सामग्रीहरु सामाजिक सञ्जाललगायतका कुनैपनि माध्यममा पोष्ट नगर्न आग्रह गर्नुभएको छ ।
आज उहाँले एक सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “हाल देशका केही ठाउँमा देखिएका तनाव र विवादका घटनालाई लिएर विभिन्न किसिमका अफवाह, भ्रामक सूचना तथा उत्तेजक सामग्रीहरु सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिन सक्छन् । यस्ता सामग्री सचेत रहन र त्यसबाट संयमता अपनाउन तपाई सबैमा हार्दिक अनुरोध गर्दछु । कहिकतैबाट प्राप्त हुने भ्रामक सूचना र अफवाह फैलाउने सामग्रीको लाईक, सब्सक्राइब, शेयर र पोष्ट नगर्न पनि आग्रह गर्दछु ।”
कर्णाली शान्ति, सहिष्णुता र भाइचारा सम्बन्धको पवित्र भूमि भएको बताउँदै प्रहरी नायब महानिरीक्षक सापकोटाले कुनैपनि क्षेत्रबाट आएका मानिसले व्यक्तिगत वा सामुहिक रुपमा उत्तेजित पार्ने धार्मिक र साम्प्रदायिक द्वन्द्व फैलाउन, कानून हातमा लिन, उक्साउन वा अशान्ति सिर्जना गर्ने प्रयास गर्न सक्ने भएकोले त्यसमा नलाग्न र सावधानी अपनाउन कर्णालीबासीलाई उहाँले अपिल गर्नुभएको छ ।
नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिएको देश जहाँँ हिन्दु, मुस्लिम, बौद्ध, किराँत र इसाई जो भएपनि सबै नेपाली नागरिक भएकोले एकले अर्कोप्रति सहिष्णुता, सद्भाव र भाईचारा सम्बन्ध कायम गर्न सुझाउँदै उहाँले कुनैपनि सामाजिक सञ्जालका अपुष्ट खबरमा भ्रमित नहुन, सत्य तथ्य खोज गर्न तथा संयमता र जिम्मेवारीका साथ आफ्नो भूमिका पुरा गर्न आग्रह गर्नुभएको छ ।




