
१ असार २०८३, आईतबार
डोल्पाः जगदुल्ला गाउँपालिका ४ डोल्पाको मौरेलेखमा आज बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जगदुल्ला ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप दिउसो करिब २ः०० बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा त्रिपुरासुन्दरी नगरपालिका ८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिनुभयो । चालकसहित १२ रहेको उक्त दुर्घटनामा ११ जना घाइते भएका छन् ।
उहाँका अनुसार घाईते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं.३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका ६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धिरेन्द्र बुढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका ३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।
त्यस्तै, उक्त दुर्घटनामा परी जुम्ला सिंजा गाउँपालिका ३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका ४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका ८ का अन्दाजी ३५ वर्षीय बिन्दास रावल घाईते भएको उहाँले बताउनुभयो ।
घाईतेहरुको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा अर्को गाडीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको सूचना अधिकारी रावलले बताउनुभयो । उहाँका अनुसार दुर्घटना कसरी भएको हो भन्ने बारे अनुसन्धान भईरहको छ ।





