
१४ साउन २०८३, बिहीबार
सुर्खेतः संविधानको मर्मविपरीत ंसंघले गरेका गतिविधिका कारण संघीयता कार्यान्वयनका विषयमाथि प्रश्न उठ्न थालेको प्रदेशसभा सदस्यहरुले बताएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको २३औं बैठकको प्रारम्भिक समयमा बोल्दै नेपाली काँग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीले केन्द्रले प्रदेशका हरेक कुरामा हस्तक्षेप गर्दै जाँदा संघीयता कार्यान्वयको अवस्थमा कमजोर हुँदै गएको उल्लेख गर्नुभयो । कर्णाली प्रदेश सरकारको गठन प्रक्रिया र यसले प्रवाह गरेको सन्देशका विषयमा बताउँदै नेता शाहीले काठमाडौंमा पानी आउँदा सुर्खेतमा छाता ओढ्नुपर्ने संस्कारको निरन्तरता कहिलेसम्म ? भनेर प्रश्न गर्नुभयो ।
पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्माले सबै शक्ति मुठिभित्र राखेर संघीयताको प्रभावकारी कार्यान्वयन खोज्ने प्रवृतिले मुलुकमा सामाजिक न्यायसहितको समतामूलक विकास हुन नसक्ने तर्क गर्नुभयो । कर्णालीसहित मुलुकको समृद्धि र रुपान्तरणका लागि सहमति र सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।
बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सहमति र सहकार्यबाट कर्णाली प्रदेश अगाडि बढेको भन्दै अविच्छिन्न उत्तराधिकारवाला सरकारले अब बजेट कार्यान्वयनलाई विशेष प्राथमिकता राखेर काम गर्ने बताउनुभयो । कर्णाली प्रदेश सरकारले गरेका राम्रा कामको निरन्तरतामा जोड दिनुपर्नेमा उहाँको जोड थियो ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्मको करामत र भाग्यको खेल एकसाथ भएर पाएको सफलतालाई जिम्मेवारीपूर्वक बहन गर्न नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीलाई सुझाउनुभयो । उहाँले सुशासन विपरीत काम गरे ठूलो विपत्ति आउने सक्ने चेतावनी दिँदै अघिल्लो सरकारले गर्न नसकेका काम वर्तमान सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रदेशसभा सदस्यहरु सन्तोषी शाही, ईन्दिरा शाही, उर्मिला विश्वकर्मा, दक्षिणा शाही र पूर्णबहादुर खत्रीले सरकार बदलिएपनि जनताका समस्या र दुःख उस्तै रहेकोले ती समस्या समाधानतर्फ सरकार तदारुकताका साथ लाग्नुपर्ने धारणा राख्नुभयो । बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले सरकारलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको थिए । सभाको अर्को बैठक साउन १५ गते दिउसो ३ः०० बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो ।





