

१२ फागुन २०८१, सोमबार
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको शिलान्यास गरिएको छ ।
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा निर्माण हुन थालेको उक्त भवन आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भवनको शिलन्यास गर्नुभएको हो । रु.चार करोड ८५ लाखमा निर्माण सुरु गरिएको भवन पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य गर्ने उद्देश्य राखेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त भवन बनाउन लागेको हो ।
उक्त भवनको शिलन्यास गर्दै मुख्यमन्त्री कँडेलले उन्नत जातका पशुपंक्षी उत्पादनका लागि प्लान्टको भवन निर्माण कार्यले सहज हुने र कर्णालीले परनिर्भर नहुनुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो । उहाँका अनुसार तरल नाइट्रोजन प्लान्ट स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन लगायत उन्नत जातका पाडा÷बाच्छा उत्पादनमा टेवा पुग्नेछ ।
प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुने लक्ष्य राखिएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा रु.४० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो । कर्णालीमै तरल नाइट्रोजनको भवन स्थापनापछि यस अघि प्रदेश बाहिरबाट आयत गर्दै आएको पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान नश्ल सुधारका लागि सहज हुने भएको छ ।
मन्त्रालयका मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताउनभयो । अनुसार दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी हुनेछ ।