OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०८१जुम्ला
२१८ पटक

 ८ भदौ २०८१, शनिबार

जुम्लामा पनि डाक्टरी पढाई ? अहिले पनि यो प्रश्न धेरैले गरिरहन्छन् । प्रश्नकर्ता कतिलाई जुम्लामा डाक्टर पढाई हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाई हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरुले त्यहाँ डाक्टरको कस्तो पढाई हुन्छ होला ? भनेर खिसी गरेको पाईन्छ ।

ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसीट्यूरी गर्नेहरुले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको डाक्टर उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगति र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको ईटा थप्न सक्दो रहेछ भन्ने गतिलो उदाहरणस्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञ जनशक्ति पठाउँदैछ जुम्लाले ।

मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न संकायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ डाक्टर र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ ।

यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको समुपस्थिति कार्यक्रम रहेको उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।

स्थापनाकालको १३ वर्षपछि पहिलो पटक हुन थालेको दीक्षान्त समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आईसकेकोले त्यसको तयारीमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र संकायका स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ उत्तीर्ण विद्यार्थीहरु दीक्षित हुनका लागि योग्य छन् ।

उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपति समक्ष पत्र पठाएका थियौं । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार विहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौं ।”

कर्णालीको इतिहासमा पहिलो पटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कुल ५६ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

विसं २०६८ सालदेखि सञ्चालनमा आएको जुम्ला प्रतिष्ठानमा एमबीबीएस तथा नर्सिङका कार्यक्रम समेत सुरु भएका छन् । प्रतिष्ठानमा यो अवधिमा तीन भारतीयसहित एक सय २० जना चौथो ब्याचका विद्यार्थी एमबिबिएस अध्ययन गरिरहेका छन् ।

दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा ईलोक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।

उक्त अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा.अञ्जनी झा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, बरिष्ठ आँखा विशेषज्ञ डा.सन्दुक रुईत, विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्