

२ साउन २०८१, बुधबार
जुम्ली एकता सेवा समाजले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्च सरसफाई गरेको छ । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा पनि धुमधामका साथ ‘साउने संक्रान्ति तथा देउडा पर्व’ मनाइएको थियाे ।
साउन १ गते भव्यताका साथ मनाउँदा ‘साउने संक्रान्ति तथा देउडा पर्व’ काे अवसरमा भएकाे खुलामञ्चको फोहर सेवा समाजले सफाई गरेको हो ।
जुम्ली एकता सेवा समाजका अध्यक्ष अमृत पाण्डे, सल्लाहकार शेरबहादुर रोकायलगायतको टोलीले खुला मैदानमा फालिएका प्लाष्टिकलगायतका सबै फोहर सफाई गरेको थियो । साउन १ गते कर्णालीबासीको महत्वपूर्ण पर्व मनाउँदा भएको फोहरले वातावरणीय असर पर्न नदिन तथा वीरेन्द्रनगरलाई दुर्गन्धित हुनबाट बचाई त्यसको सुन्दरता कायम राख्न समाजले तत्काल खुला मैदान सफाई गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
“कुनै पनि कार्यक्रम वा गतिविधि गर्दा हुने फोहर स्वयं पक्षले उठाउँदा त्यस किसिमकाे संस्कारले जाे काेहीकाे सभ्यताको पहिचान दिन्छ,” उहाँले भन्नुभयो, “हरेक नागरिकले अधिकारका मात्र कुरा गर्नुहुँदैन । त्यसको साथै आफ्नो कर्तव्य पनि पुरा गर्नुपर्दछ । तब मात्र समाज विकास र परिवर्तनले अपेक्षित गति लिन्छ ।” जुम्ली एकता सेवा समाजले पालिकाकाे सहजताका लागि फाेहर संकलन गरी उचित व्यवस्थापन गरेकाे छ ।
‘साउने संक्रान्ति तथा देउडा पर्व’ कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाई, उच्च अदालत सुर्खेतका बरिष्ठ न्यायधीश कृष्णलाल भट्टराईलगायत सुर्खेतमा बस्दै आएका जुम्लाबासीको सहभागितामा मनाइएको थियो ।